काठमाडौं । इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान)ले नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूबारे अनावश्यक टीकाटिप्पणी तथा भ्रम फैलाउने काम नगर्न आग्रह गरेको छ ।
आईप्यानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त शैक्षिक संस्थाबारे अपुष्ट सूचना प्रवाह हुँदा विद्यार्थी, अभिभावक तथा सरोकारवालामा भ्रम सिर्जना भएको जनाएको हो ।
आईप्यानका अध्यक्ष लक्ष्मण केसीले सार्वजनिक बहस तथ्य, प्रमाण र जिम्मेवारीमा आधारित हुनुपर्ने बताउनुभयो । उहाँले विदेशी विश्वविद्यालयको सम्बन्धन तथा शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालित शैक्षिक संस्थाको कानुनी हैसियतबारे प्रश्न उठे आधिकारिक निकाय शिक्षा मन्त्रालयबाट जानकारी लिन आग्रह गर्नुभयो ।
उहाँका अनुसार विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरू शिक्षा ऐन, २०२८ को दफा १९ अन्तर्गत जारी नियमावली तथा सम्बन्धित कानुनी व्यवस्थाका आधारमा सञ्चालन भइरहेका छन् । सरकारले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका तथा विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमनसम्बन्धी नियमावलीमार्फत यस क्षेत्रलाई नियमन गर्दै आएको उहाँले बताउनुभयो ।
केसीले नेपालमै विदेशी विश्वविद्यालयस्तरको शिक्षा उपलब्ध भइरहेको दाबी गर्दै सम्बन्धित देशमै गएर अध्ययन गर्दा लाग्ने खर्चको तुलनामा नेपालमा करिब १५ गुणा कम लागतमा शिक्षा प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सम्पूर्ण कार्यक्रम नेपालको संविधान, प्रचलित कानुन तथा सम्बन्धित ऐन–नियमको अधीनमा सञ्चालन भइरहेको स्पष्ट पार्नुभयो । साथै, विद्यार्थी तथा अभिभावकलाई भ्रममा नपर्न र शैक्षिक संस्थाको कानुनी हैसियतबारे आधिकारिक निकायबाट सत्यतथ्य बुझ्न आग्रह गर्नुभयो ।
केसीले कानुनी तथा नियामकीय विषयमा थप स्पष्टता आवश्यक भए शिक्षा मन्त्रालयबाट आधिकारिक जानकारी लिनुपर्ने बताउँदै कुनै पनि धारणा बनाउँदा कानुनी दस्तावेज, शिक्षा मन्त्रालयका आधिकारिक निर्णय तथा अदालतका फैसलालाई आधार बनाउन आग्रह गर्नुभयो।








