काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले सरकारले चमत्कार गर्ने दाबी गरे पनि नागरिकले आधारभूत सेवा लिनसमेत सास्ती भोग्नुपरेको बताउनुभयो । उहाँले सरकार गठन भएको कति समय भयो भन्नेभन्दा पनि त्यसले दिएको परिणामलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
दुलालले मन्त्रालयमा ठूलो संख्यामा सचिवालय र सल्लाहकार नियुक्त गरिएको भन्दै त्यसको औचित्यमाथि समेत प्रश्न उठाउनुभयो । विगतमा भएका विभिन्न काण्डको छानबिन गर्न दुई तिहाइको सरकारलाई कसले रोकेको हो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले नागरिकले सुशासनका लागि विश्वास गरेर मत दिए पनि अहिले ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
‘जनताले विश्वास गरेर सुशासनका लागि मत दिएका थिए, तर आज नागरिकहरू ग्यास, अस्पताल र पासपोर्टका लागि लाइन बस्न बाध्य छन्,’ उहाँले भन्नुभयो ।
कानुनी राज्यमा कसैलाई पक्राउ गर्दा कारणसहितको पुर्जी आवश्यक हुने उल्लेख गर्दै दुलालले मध्यरातमा गरिने गिरफ्तारीले गैरकानुनी बाटो समातेको पुष्टि हुने दाबी गर्नुभयो । उहाँले सरकारका मन्त्री र प्रधानमन्त्रीलाई ‘जोशको पछि लाग्दा होस गुमाउन नहुने’ सुझावसमेत दिनुभयो ।
आफ्नो दलमाथि लाग्ने आरोपको खण्डन गर्दै दुलालले आफूहरू सुशासनका लागि संघर्ष गरिरहेको बताउनुभयो ।







