९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

महापातकी विरुपाक्ष

महापातकी विरुपाक्ष
अ अ+ अ-

डा. माधव प्रसाद पोखरेल । धेरैजसो मानिस त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्छन् । मूर्ति पूरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरूले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् ।

काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनारमा ओर्लिँदा दाहिनेतिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा उदेकलाग्दो मूर्ति छ । त्यस मूर्तिले सबै तीर्थयात्रीको ध्यान आफूतिर तान्छ । धेरै जसो मानिसहरू त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्छन् । मूर्ति पुरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने भेउ पाइँदैन ।

मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरूले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् । नेपालमा भेटिएका सबभन्दा पूराना ढुङ्गाका मूर्तिमा यही कलिको मूर्ति र त्यसको परतिर सिंहासनमा बसेको पुरुष मूर्तिसमेत पर्छन् (सत्यमोहन जोशी, २०१९, ‘पूरातत्त्व एक रोचक कथा’) ।

कलियुग जति जति छिप्पिन्छ, त्यति त्यति त्यो मूर्ति माथि माथि आउँछ भन्ने लोक विश्वास पनि पाइन्छ । जान्ने मान्छेहरू त्यस मूर्तिलाई विरुपाक्षको मूर्ति पनि भन्छन् । संस्कृत कोशका आधारमा बिटुङ्गामा आँखो भएकाले यस मूर्तिलाई ‘विरुपाक्ष’ भनिएको रहेछ, किनभने शिवजीको जस्तै यस मूर्तिको पनि एउटा आँखो निधारमा छ, तर काठमाडौँ उपत्यकामा प्रचलित लोककथाले ‘विरुपाक्ष’ अथवा ‘कलि’ को जस्तो परिचय दिन्छ, त्यस्तो अन्यत्र कतै पनि पाइँदैन ।

काठमाडौँ उपत्यकामा प्रचलित लोककथा अनुसार ‘विरुपाक्ष’ एउटा किराँती केटाको नाउँ हो । त्यो केटो सानै हुँदा घरमा सम्पत्ति नभएर केटाको बाबु धन कमाउन परदेश गयो, तर छोरो सात वर्षको हुँदासम्म पनि बाबु चाहिँ घर नफर्केपछि हत्ते गरेर छोरो चाहिँ आमासित बिदा मागेर बाबु खोज्न निस्क्यो । जति ठाउँमा खोज्दा पनि आफू सत्र वर्षको भईसक्ता समेत बाबु कतै पनि नभेटिएपछि एक दिन छोरो चाहिँ जङ्गलमा भौँतारिइरहेका वेलामा रात पर्यो अनि उसले नजिकैको ओढारमा रात बिताउने निश्चय ग‍र्यो ।

बाबु-छोरै हराएको धेरै वर्ष बितेपछि आमा चाहिँ पनि बाबुछोरा खोज्न हिँडी । संयोगले आमाछोरा नै त्यसै ओढारमा वास बस्न पुगे । आमा तरुनी नै देखिन्थी । आमाछोराले एक अर्कालाई चिनेनन्, त्यसैले तिनीहरूको सहवास भयो । बिहान उठेर बाटो लाग्ने वेलामा चिनापर्ची गर्दा पो तिनीहरू त आफ्नै आमाछोरा भएको थाहा भयो । योगी नरहरिनाथ (२०१३, दोस्रो संस्करण २०७१) ले सम्पादन गरेको स्कन्द पुराणको ‘हिमवत् खण्ड’ (अध्याय ८९, ‘विरुपाक्ष नेपालतीर्थयात्रा दुर्गातीर्थमहात्म्य’, पृष्ठ ३७२९३७५) मा चाहिँ विरुपाक्षको जात बाहुन लेखिएको छ भने मातृगमनको उल्लेख बाहेक काठमाडौँमा प्रचलित यहाँ लेखिएको कुनै कुरो पनि मिल्दैन ।

विरुपाक्षको मातृगमनको त्यो महापातकपछि नै कलियुगको सुरुवात भएको अरे ! अहिले पनि विरुपाक्षका रूपमा कलि नेपालमै छ अरे ! आमा चाहिँको कथा लोककथाले के भन्छ, मलाई थाहा छैन, तर छोरो चाहिँ पश्चात्तापले हुरुक्क भयो । मातृगमनको पातकीले कस्तो प्रायश्चित्त गर्ने भनेर उसले भगवान् पशुपति नाथलाई सोधेछ । पशुपति नाथ विष, भाङ, धतुराले लठ्ठ भएका वेला परेछ, त्यसैले तिनले केटालाई १२ धार्नी तामा पगालेर खाएपछि मात्रै मातृगमनको पाप छुट्छ भनिदिएछन् । केटाले तामा पगाल्न भाँडामा पकाएछ । धेरै समयसम्म आगामा तताएपछि तामा पग्ल्यो कि भनेर हेर्दा तामा त पग्लेनछ, तर भाँडाभित्र डढेको तामाको धुवाँले केटाको रूपै कालो, मैलो र विरुप भएछ । त्यसपछि केटाको नाम ‘विरुपाक्ष’ भयो अरे (लोक कथाले ‘विरुपाक्ष’ नामको ‘विरुप’ भन्ने अर्थ मात्र बुझेछ, ‘अक्ष’ भनेको ‘आँखो’ भन्ने चाहिँ बुझेको देखिँदैन) ।

भगवान् पशुपतिले त आफूलाई ठगेछन् भन्ने लागेर त्यसपछि विरुपाक्ष शिवजीलाई मनपरी गाली गर्दै र उनका मूर्तिमा लात्ताले हान्दै पशुपति क्षेत्रमा भौँतारिन्छ अनि ऊ भगवान् बुद्धको शरणमा जान्छ । बुद्धले उसलाई बोधिचित्तको एउटा जपमाला दिन्छन् र त्यो माला नखुइलिउन्जेल घुमाउनू भन्ने उपदेश दिन्छन् । माला खुइलिएपछि तेरो पाप मोचन हुन्छ भन्ने बुद्धको उपदेश थियो । विरुपाक्षले अहिले उसको मूर्ति जहाँ छ, त्यहीँ बसेर माला धेरै घुमायो, तर माला खुइलिएन । हतास भएको विरुपाक्षले एउटा फलामको पातो मरुन्जेल ढुङ्गामा घोटिरहेको एउटा केटालाई देखेर के गरेको भनेर सोध्यो ।

केटाले भन्यो, ‘हेर्नुहोस् न, मेरो लुगा फाट्यो, त्यसैले फलाम घोटेर सियो बनाउन खोजेको १ त्यही सियाले यो लुगा तुन्छु भनेर यो फलाम घोटेको ।’ विरुपाक्षलाई कडा मिहिनेत गर्ने प्रेरणा दिन त्यो केटाको भेष लिएर आएका ती भगवान् बुद्ध नै रहेछन् । त्यस केटाबाट ज्ञान पाएपछि विरुपाक्षको माला पनि खुइलियो, तर पशुपतिका भक्तहरूले शिवजीलाई तथानाम गाली गरेर उनका मूर्तिमा लात्ताले हान्दै हिँड्ने विरुपाक्षलाई पक्डेर वाग्मती किनारमै भुइँमा गाडिदिए ।
आफूलाई धोका दिने भगवान् र आफूलाई भुइँमा गाड्ने भक्तहरूसँग बदला लिन विरुपाक्ष भुइँबाट उखेलिन बल गरिरहेको छ । कलियुगको अन्तमा विरुपाक्ष पुरै बाहिर निस्किन्छ भन्ने लोक विश्वास छ । पशुपतिमा विरुपाक्षको मूर्ति नजिकैकी एउटी महिलाको मूर्ति विरुपाक्षकी आमा (किराँतिनी हो कि यक्षिणी) को हो भन्ने विश्वास पाइन्छ ।

काठमाडौँको ‘विरुपाक्ष’ को यो लोककथा बौद्धहरूले बनाए जस्तो छ, किनभने (१) यस कथामा विरुपाक्षसँग डराएर महादेव भागेर बुद्धको शरणमा गएको वर्णन छ, (२) बुद्धले शरण दिएर स्वयम्भूमा महादेव ‘पञ्चबुद्ध’ का रूपमा लुकेको कुरो पनि यसै कथामा पाइन्छ, (३) शिवजीले ठगेको कुरो छ, बुद्धले सद्बुद्धि दिएको कुरो कथामा छ, (४) सद्बुद्धि दिन बुद्ध गरिब केटाको भेषमा पनि आउँछन्, (५) शिवजीको नराम्रो कुरो मात्र छ, बुद्धको राम्रो कुरो मात्र छ, (६) विरुपाक्षले शिवजीलाई मनपरी गाली गरेको र लात्तले हानेको कुरो छ, अनि (७) विरुपाक्ष भगवान् शिवकै एउटा नाउँ हो, तर यस कथाले विरुपाक्षलाई मातृगामी, महापातकी र कलियुगको साक्षात् मूर्तिका रूपमा यस्तो कथा रचेको छ, जसको छेउभेउ शिव पुराणमा कतै पनि आउँदैन । यी प्रमाणका आधारमा के बुझिन्छ भने कुनै वेला काठमाडौँ उपत्यकामा शैव र बौद्धहरूका बिचमा धार्मिक होड भएका वेलामा यहाँको बौद्ध परम्पराले महादेवलाई खसाल्न र बुद्धलाई शिवजी भन्दा ठुला र महान् प्रमाणित गर्न यो कथा रचेको बुझिन्छ ।

पौराणिक (‘पुरानिक’) इन्साइक्लोपिडिया (वेत्तम मणि, २०७५ इ.) अनुसार विभिन्न पुराणमा विरुपाक्ष नामका आठ थरी पात्र पाइन्छन् । तिनीहरूमध्ये भगवान् शिवका एघार ओटा रुद्र रूपमध्ये एउटा रुद्रको नाम पनि विरुपाक्ष छ भने, विरुपाक्ष नाम भएका धेरैजसो पात्र चाहिँ दैत्य, दानव र राक्षस नै छन् (काठमाडौँ उपत्यकाको लोककथा चाहिँ कुनै पुराणमा पनि छैन), जस्तै– (१) यो पृथ्वी आठ ओटा हात्ती (दिग्गज) ले आठ दिशाबाट उचालेर थामिएको पौराणिक विश्वास छ ।

विरुपाक्ष तिनीहरूमध्ये एउटा हात्तीको नाउँ हो । (२) महाभारत, आदि पर्व (अध्याय ६७) अनुसार कश्यप प्रजापति र दनुको एउटा दानव सन्तानको नाम पनि विरुपाक्ष थियो । (३) महाभारत, सभा पर्व (दाक्षिणात्य पाठ, अध्याय ३८) अनुसार (मिथिलाबाट प्राग्ज्योतिषमा राज्य गर्न गएको) नरकासुरको एउटा असुर सेवकको नाम पनि विरुपाक्ष थियो, जसलाई लोहितगङ्गा (ब्रह्मपुत्र) किनारमा मारियो । (४) महाभारत, द्रोण पर्व (अध्याय १७५) अनुसार घटोत्कचको एउटा राक्षस मित्रको नाउँ पनि विरुपाक्ष थियो ।

(५) महाभारत, शान्ति पर्व (अध्याय १७०) अनुसार एउटा दैत्यको नाउ पनि विरुपाक्ष थियो । (६) वाल्मीकि रामायण (युद्ध काण्ड) अनुसार रावणपट्टि लागेर राम लक्ष्मणसित लडाइँ गर्ने एउटा राक्षसको नाम पनि विरुपाक्ष थियो । (७) अग्नि पुराण (अध्याय १०) अनुसार लक्ष्मणका हातबाट कुम्भकर्ण मरेपछि रावणका अनेक प्रमुख सेनापतिमध्ये विरुपाक्ष पनि थियो ।

सुग्रीवले रावणको सेना तहसनहस पारेका वेलामा विरुपाक्ष हात्तीमा चढेर धनुर्वाणले युद्ध गर्न आयो र सबैलाई तर्सायो । अन्तमा सुग्रीवले विरुपाक्षलाई मारे । उत्तर वैदिक कालदेखि नै शिवजीलाई वैदिक साहित्यले खसालेकै पाइन्छ अनि जब जब देउता र दानवहरूका बिचमा युद्ध हुन्छ, त्यति वेला पुराणहरूमा भगवान् विष्णुले चाहिँ देउताको ओर गरेको शिवजीले चाहिँ राक्षस, दानव, असुर र दैत्यहरूकै ओर गरिरहेको देखिन्छ । वैदिक साहित्य र पुराणहरूले ‘गतिछाडा’ ठहराएका शिवजी अवैदिकहरूका चाहिँ देउता रहेछन् भन्ने बुझिन्छ, त्यसैले विरुपाक्ष नाउँ भएका अनेक दैत्य, दानव, राक्षस र असुरहरू हुनु स्वाभाविक छ, किनभने शिवजी जसका देउता थिए, उनीहरूका हातमा कलम थिएन होला ।

विरुपाक्षको काठमाडौँ उपत्यकामा चलेको कथानक चाहिँ इपू। पाँचौँ शताब्दीका ग्रिसेली नाटककार सोफोक्लिजको ‘इडिपस रेक्स’ (राजा इडिपस) भन्ने नाटकको ग्रिसेली मिथकको कथानक (इन्साइक्लोपिडिया अफ ग्रिक एन्ड रोमन मिथोलोजी, २०१० इ.) सित मिल्छ । थेब्सका राजाको एउटा छोरो जन्मिने बित्तिकै के भविष्य वाणी भयो अरे भने– त्यस बालखले आफ्नै बाबुलाई मार्छ र आफ्नै आमालाई बिहे गर्छ । त्यस्तो अलच्छिनी बालखलाई जङ्गलमा मारेर फाल्न राजाले पठाए पनि सेवकले त्यसलाई जङ्गलमा त्यसै छोडिदिएछ ।

बालखलाई एउटा किसानले भेट्यो र कोरिन्थको निःसन्तान राजालाई दियो । राजारानीले बालखको नाउँ ‘इडिपस’ राखे अनि त्यसलाई धर्मपुत्र बनाएर पाले । कतैबाट केटो यिनीहरू आफ्ना बाबुआमा होइन रहेछन् भन्ने थाहा पाएर घर छोडेर हिँड्यो । बाटामा एउटा मान्छेसँग झगडा प‍¥यो । इडिपसले त्यसलाई मारिदियो र थेब्स गएर उसकी रानीलाई बिहे ग‍¥यो र त्यसबाट सन्तान जन्मायो, तर डेल्फीको जोखाना अनुसार उसले आफ्नै बाबुलाई मारेछ र नचिनेर आफ्नै आमालाई बिहे गरेछ अनि आफ्नै भाइ बहिनी हो कि छोराछोरी जन्माएछ भन्ने थाहा पायो । त्यो अत्यन्त घृणित र पीडादायक महापातक चाल पाएर इडिपस, उसकी आमा हो कि रानी अनि उसका भाइ बहिनी हो कि छोराछोरी सबै आत्महत्या गरेर मरे ।

उदेकलाग्दो कुरो के छ भने विरुपाक्षको किंवदन्ती मात्र ग्रिसेली मिथकको इडिपससित मिल्ने होइन, पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कलासमेत ग्रिसेली शैलीमा बनेको छ (सत्यमोहन जोशी, २०१९, पुरातत्त्व एक रोचक कथा) । भारतमा भगवान् शिवका विरुपाक्ष मन्दिरहरू पाँच–छ ठाउँमा छन् । कर्णाटक (हाम्पी, चारे, बंगलुरु, आदिहल्ली) मा मात्रै पनि विरुपाक्ष मन्दिर चार ओटा छन् । तीबाहेक ओडिसाको फुलबानीमा र मध्य प्रदेशको रतलाममा पनि विरुपाक्षका प्रसिद्ध मन्दिर छन् ।

भारत विरुपाक्ष मन्दिर भएको कुनै ठाउँमा पनि विरुपाक्षलाई दैत्य, राक्षस, दानव, कलि र पातकी ठानिँदैन । विरुपाक्षलाई मातृगामी पातकी कलि ठान्ने ठाउँ संसारभरमा काठमाडौँ उपत्यकामा मात्र हो, त्यसैले कलियुग अहिले कतै छ भने नेपालमै छ भन्ने यस उपत्यकाको लोक विश्वास ठिकै हो कि जस्तो लाग्छ, किनभने भगवान् शिवको पावन विरुपाक्ष मूर्तिलाई यस उपत्यकामा जस्तो अपमान, लाञ्छना र कलङ्क अन्यत्र कतै पनि लगाएको पाइँदैन ।

डा. जगमान गुरुङको ‘विरुपाक्ष र विराटकको मूर्ति’ भन्ने लेखमा उनले हरिणेश्वर नजिकै आर्यघाटमा रहेको विरुपाक्षको त्यही मूर्तिको शैली आन्द्र प्रदेशको तिरुपति नजिकै गुडिमल्लमको परशुरामेश्वर लिङ्गमा कुँदिएको विरुपाक्षको मूर्तिसँग मिल्दछ भन्ने लेखेका छन् । गुडिमल्लममा ‘परशुरामेश्वर’ को पूर्ण कदको मूर्ति कालो कालो र छाहा रङको शिलामा सक्कली जस्तो देखिने विशाल लिङ्गको अग्रभागमा कुँदिएको छ । डा. गुरुङले भने झैँ परशुरामेश्वरको त्यो मूर्तिको लट्टा परेको कपाल झन्डै पशुपतिको विरुपाक्षको कपालको लट्टा जस्तै देखिन्छ, तर विरुपाक्षको मूर्ति कम्मर मुन्तिर भुइँमा छोपिएको छ भने परशुरामेश्वरको मूर्ति शिरदेखि पाउसम्म पुरै देखिन्छ । परशुरामेश्वरको नाक नेप्टो छैन, थेप्चो चाहिँ छ भने, पशुपतिका विरुपाक्षको नाक नेप्टो छ ।

गुडिमल्लमको शिव मूर्तिको देब्रे काँधमा परशुरामको जस्तो बन्चरो भएकाले हो कि किन हो, त्यस मूर्तिको नाम ‘परशुरामेश्वर’ रहेको छ । शिवजीको दाहिने हातमा चाहिँ एउटा भेडो (सिकार ?) लत्रिएको छ । शिवजीको काँधमा त्यहाँ पनि जनै छैन । काठमाडौँ र आन्द्र प्रदेशका दुइटै मूर्तिमा शिवजीका हात दुइटै छन् ।परशुरामेश्वरको पारदर्शी धोती बाहिरबाटै लिङ्ग चाहिँ छ्याङ्छ्याङ्ती देखिएको छ (एन.विकिपिडिया.ओआरजी) ।

माथि उल्लेख गरिएका भारतको कर्णाटक, ओडिसा र मध्य प्रदेशका ‘विरुपाक्ष’ नै नाम भएका शिवजीको स्वरूप र आन्द्र प्रदेशको ‘परशुरामेश्वर’ मा पाइने शिवजीको स्वरूपमध्ये नेपालको विरुपाक्षको अनुहारसित धेरै मिल्ने त परशुरामेश्वरकै स्वरूप हो, तर नेपालको विरुपाक्षको स्वरूपसँग काटिकुटी मिल्ने भगवान् विरुपाक्षको स्वरूप चाहिँ कतै पनि छैन । भगवान् विरुपाक्षको मानवाकृतिक रूप हाम्पीमा छन त छ, तर त्यसको स्वरूप नेपालका विरुपाक्षको स्वरूपसित मिल्दैन । सक्कली जस्तो देखिने पाँच फिट अग्लो शिवलिङ्गमा कुँदिएको परशुरामेश्वरको मूर्ति चाहिँ मानवाकृति छ, त्यसमा शिवजीको अनुहार त धेरै जसो नेपालका विरुपाक्षको अनुहारसित मिल्छ, तर त्यस मूर्तिलाई विरुपाक्षको भन्ने चलन छैन ।

अर्कातिर ‘विरुपाक्ष’कै नाउँ भएका शिवजीको अर्को कुनै मूर्ति पनि नेपालको विरुपाक्षको मूर्तिसँग मिल्दैन । परशुरामेश्वरको जनै नलगाएको थ्याप्चो नाक र बाटुलो अनुहार भएको मूर्ति पहिलोदेखि तेस्रो शताब्दीको मानिए अनुसार डा. जगमान गुरुङले नेपालको सबभन्दा पुरानो त्यो विरुपाक्षको मूर्ति पनि उत्तिकै पुरानो हुनुपर्छ भन्ने अड्कल गरेका छन् । यहाँसम्म गरिएको विरुपाक्षको स्वरूपको विवरणका आधारमा नेपालको विरुपाक्षको मूर्ति कुनै महापातकी र कलियुगको मूर्ति नभएर किरातेश्वर महादेवको मूर्ति हो भन्ने कुरो माथिका प्रसङ्गबाट बुझ्नुपर्छ ।

हाम्पीको विरुपाक्षको मूर्तिमा भने तन्त्रको प्रभाव अलिक बढ्ता देखिन्छ । भारतीय उपमहाद्वीपभरि शैव र शाक्त परम्पराका सबैजसो देवी देवताको स्वरूप र मन्दिरहरू तान्त्रिक आडमै बनेका छन् । यस उपमहाद्वीपमा तन्त्रको परम्परा सबैभन्दा पुरानो हो । सिन्धु बेँसीको सभ्यतामा नै तन्त्रको प्रभाव पाइन्छ । उपमहाद्वीपमा वैदिक सभ्यता (इपू १३००–१२००) विकसित हुनुभन्दा अगाडिदेखि नै त्यस (सिन्ध र पन्जाब) देखि दक्षिण (इजिप्ट, मेसोपोटामिया र सिन्धु बेँसी) का प्राचीन सभ्यतामा तान्त्रिक संस्कृति चलेको देखिन्छ ।
तन्त्रका केही आधारभूत विशेषतामध्ये एउटा हो पुरुषलाई भन्दा महिलालाई बढ्ता सम्मान गर्नु, दोस्रो विशेषता हो यौन (पुरुष र नारीको लैङ्गिक सम्बन्ध) लाई चर्चा गर्नै नहुने, लुकाउनुपर्ने, जीवनमा कामै नलाग्ने जस्तो, असभ्य, छाडा, पापी र अपवित्र कुरो नठानेर कला र जीवनको महत्त्वपूर्ण विषय बनाउने, अनि तेस्रो विशेषता चाहिँ दम्पतीमध्ये पुरुषले नारीलाई साक्षात् भगवती पार्वती ठान्ने, नारीले पुरुषलाई साक्षात् महादेव ठान्ने अनि उनीहरूको रतिक्रीडालाई शिव पार्वतीकै आराधना ठानेर आनन्दमय भक्तिमा लीन हुनु र चौथो विशेषता हो पञ्चमकार (मद्य, मांस, मीन, मिथुन, र मुद्रा) लाई त्यागेर होइन, सेवन गरेरै विस्तारित ज्ञान र चेतनाको मार्गबाट मोक्ष प्राप्ति गर्ने हो (स्वामी आनन्दकल्पित सरस्वती, २००२ इ., ‘एक्स्ट्यासी एन्ड तन्त्र’) । भारतीय उपमहाद्वीपमा प्रचलित त्यस तान्त्रिक दर्शन र तज्जन्य संस्कृतिलाई पहिले वैदिक आर्यहरूले र पछि बौद्धहरूले गतिछाडा र असभ्यहरूको आचरण ठाने ।

वैदिक धर्म (इपू। १२००–७००) र त्यसको उत्तराधिकारी सनातन हिन्दु धर्म (चौथो–छैटौँ शताब्दी) को प्रभाव कम भएका ठाउँ (हिमाली लेक, नेपाल, असम, दक्षिण भारत) मा चाहिँ अहिले पनि तान्त्रिक लोकाचार कायमै छ । शिव लिङ्ग, योनिर्लिङ्ग, जलहरी, मन्दिरका टुँडाल र भित्ताहरूको रतासन, थानकोट र भक्तपुरको गाईजात्रा, भीमसेन, घण्टाकर्ण र उग्रचण्डीको महोत्सव, असमको कामाख्या मन्दिर, उध्र्वरेता विरुपाक्ष, छत्रचण्डेश्वर (भैरव) को नग्नमूर्ति, मध्य प्रदेशको खजुराहोको मन्दिरका कामकला अनि हाम्पीमा शिव पार्वतीको यौन विलास जस्ता सांस्कृतिक कुरा नेपाल भारतमा देखिनु तान्त्रिक दर्शन र संस्कृतिकै प्रभाव हो ।

दक्षिण भारत बाहिर मेसोपोटामिया र इजिप्टमा ओसिरिस र इसिसको अनि ग्रिसमा डायोनिससका उर्वरता सम्बन्धी महोत्सवले दक्षिणमा तन्त्रको व्यापकता सिद्ध गर्छ । प्राग्वैदिक, वैदिक र उत्तर वैदिक साहित्यमा पनि अश्वमेध यज्ञ, राजसूय यज्ञ, वाजपेय यज्ञ, व्रात्यस्तोम र महाव्रतका अनुष्ठानहरू (अस्को पर्पोला, २०१५ इ., ‘रुट्स अफ हिन्दुइज्म’) मा यौन लोकाचारले जुन सांस्कृतिक स्वरूप पाएको छ, त्यो चाहिँ तान्त्रिक लोकाचार होइन ।

यौनलाई भारतीय उपमहाद्वीपमा तन्त्रले जति उदार दृष्टिले आफ्नो जीवन दर्शन बनाएको थियो, त्यति उदार युरोप र पश्चिमले सिग्मन्ड फ्रायड (२००५ इ. ‘इडिपस कम्प्लेक्स’) ले मनोविश्लेषणको सिद्धान्त र उपचार विधि नै विकास गरिसकेपछि पनि बनाउन सकेको छैन । भारतका ६–७ ठाउँका विरुपाक्ष मन्दिरहरूमा भगवान् शिवको मात्र श्रद्धा र भक्तिपूर्वक पूजा गरिएको कुरो हेर्दा माथिको विश्लेषणबाट के निष्कर्ष आउँछ भने पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति भगवान् शिवकै किरातेश्वर मूर्ति रहेछ ।

विरुपाक्षका जस्ता शिवका जनै नलगाएका मूर्तिहरू जनै लगाएका शिवमूर्तिभन्दा पुराना रहेछन् । शैव धर्म र तन्त्र आजभन्दा झन्डै ६ हजार वर्षदेखि सिन्धु बेँसीको हडप्पा र मोहेन्जोदडोको प्राग्वैदिक सभ्यतामा प्रचलित थियो, तर वैदिक धर्म आजभन्दा दुई–अढाई वर्षभन्दा अगाडिको होइन । पछि आएका धर्मको लोकाचारले अनादि कालदेखि चलिरहेका स्थानीय धर्मको लोकाचारलाई कलङ्कित गर्ने रहेछ ।

पुराना देउताहरू पनि कलङ्कित, गतिछाडा र महापातकी प्रमाणित गरेर लोक धर्मबाट विमुख पार्ने कथाहरू पछि आउनेले बनाउने रहेछन् । त्यसै गरी वैदिक धर्म र हिन्दु धर्मले वैष्णव धर्मको उत्थान गर्दै शिवजीलाई गतिछाडा ठहर्योइरहेकै थिए, पछि (छैटौँ शताब्दी) विकसित भएको बौद्ध धर्मले पनि भगवान् विरुपाक्षलाई कलङ्कित र महापातकी प्रमाणित गर्ने लोककथा बनाएछ भन्ने कुरो नेपाल खाल्डामा प्रचलित विरुपाक्षको उपाख्यानबाट बुझिन्छ ।

नयाँ पत्रिकाबाट