९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको चिठी



अ+ अ-

प्यारा छोराहरू, बुहारीहरू,

छोरीहरू, ज्वाइँहरू

नाति नातिना, पनाति पनातिनाहरू

मलाई यहाँ सन्चै छ

तिमीहरूलाई कस्तो छ ?

देशमा छौ, कोही परदेशमा छौ

तिमीहरु कस्तो परिवेशमा छौ !

सम्झेर तिमीहरूलाई चिन्ता लागिरहन्छ

भोक र निन्द्रा भागिरहन्छ ।

भोक र निन्द्रा भाग्नु,

त्यो पनि ठिकै पो लाग्छ–

भोक नलागे अनिकालबाट बचिन्छ

निन्द्रा नलागे चोरचकारबाट जोगिइन्छ

म त पहिलाभन्दा झन् दह्री भएकी छु

जति दाम्री पर्यो उति चाम्री भएकी छु

तिमीहरू ढुक्कले किर्ती कमाउँदै जानू

दुनियाँका अगाडि धाक जमाउँदै जानू

मेरो कुनै सुर्ता गर्नु पर्दैन

भन्छन्, माया ओरालो झर्छ–

झरोस्, फिर्ता गर्नु पर्दैन ।

अहिलेसम्म खासै दुख् बिमार केही छैन

कहिलेकाहीँ अलिअलि कम्मर दुख्छ

दुख्दा दुख्दै दुख्दा दुख्दै हुरुक्क बनाउँछ

सासै जाला जस्तो गराउँछ

त्यस्तो बेला दाह्रा किटेर खप्नुपर्छ

भगवानको नाम जप्नुपर्छ ।

तर पनि म कडै छु

लड्खडाउँदै भए पनि चुलो सल्काउन खडै छु

मेरो पिर गर्नु पर्दैन, भर्खर नब्बेमा टेक्दैछु

यी अहिले पनि अगेनामा सुन्निएका गोडा सेक्दैछु ।

कान एकोहोरो कराइरहन्छ, बेलाबेला होस हराइरहन्छ

बाका बेसुरा कुरा सुनेर मन डराइरहन्छ

तर पनि केही छैन नानी हो,

आँखा नदेखे पनि बा अलिअलि कान सुन्नुहुन्छ

कान नसुने पनि म अलिअलि आँखा देख्छु

बालाई मेरो भर छ, मलाई बाको भर छ

यति भएपछि हामीलाई केको डर छ ?

तिमीहरूले बेलाबेला सन्चो बिसन्चो बोले पुग्छ

मातातीर्थे–कुशे औंसीमा भिडियो खोले पुग्छ

भाडा पिटाएर यता आइरहनु पर्दैन

बृद्ध भत्ता आएकै छ,

हामीलाई खर्च पठाइरहनु पर्दैन ।

बरु बाको बिसन्चोले पो मलाई अलि सन्च हुँदैन

सम्झाउँछु, हाम्रो बिमार अब नमरी अन्त हुँदैन

पोहोरदेखि सुन्निन थालेका हातगोडा बस्न जानेका छैनन्

मुखमा बाँकी दुइटा दाँतका जरा अझै खस्न मानेका छैनन्

बूढो हड्डी हो दुख्नु नौलो कुरा होइन भन्छु, सम्झाउँछु

पानी निख्रिएको शरीर हो–

कटकट खानु अचम्म होइन भन्छु, फकाउँछु

आफैं रुनुहुन्छ, मलाई नरोऊ भन्नुहुन्छ

बेलाबेला मलाई नै ‘तिमी को हौ ?’ भन्नुहुन्छ ।

त्यता कस्तो छ, यता यस्तै छ

बिसन्चो भनौँ बिसन्चो केही छैन

सन्चो भनौँ सन्चो केही छैन

थाहा पनि पाउँदिन अचेल म

मुटु दुखेको हो कि मन

छाला चाउरिएको कि सम्बन्ध

हाड मकाएको हो कि सम्झना

आँखा धमिलिएको हो कि माया

कान कराएको हो कि शङ्ख ?

शङ्खले सम्झाइरहन्छ तथ्य, सकिँदै गएका मेरा दौंतरीहरू

म मर्दा आउन भ्याउलान् कि नभ्याउलान्–

मेरा बबुरा सन्ततिहरू ?

भ्यायौ भने आउनू, एक थुँगो फूल ल्याउनू

नभ्याए उतैबाट श्रद्धान्जली पठाउनू

लौ त,

चेतना अन्त नभई अन्त नहुने मनको तरङ्ग

भैंसी बराबरका अक्षरमा नअटाउने यो पत्र

कतै कसैलाई नपठाउने मनको खाम

रातरातभरि खोलिरहन्छु, पढिरहन्छु

तिमीहरूले जवाफ पठाए पनि नपठाए पनि

दिनरात म चिठी लेखिरहन्छु, लेखिरहन्छु ।।

लक्ष्मण गाम्नागेको फेसबुक वाल बाट साभार