३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादमा अल्झिनुभन्दा जिम्मेवारीअनुसार काम र परिणाममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद देवकोटाले विपद् व्यवस्थापन, पुनर्निर्माण, रोजगारी सिर्जना, प्रविधि विकास र अन्तर्राष्ट्रिय कूटनीतिलगायत विषयमा सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले आविष्कार केन्द्रका प्रमुख आविष्कारकसमेत रहनुभएका मन्त्री पुन थकित र निराश देखिएको भन्दै दुःख व्यक्त गर्नुभयो । सामाजिक सञ्जालमा हुने प्रतिवादमा समय खर्चिनुभन्दा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आविष्कारका लागि ऊर्जा लगाउन उहाँले सुझाव दिनुभयो ।

गृहमन्त्रीले पनि भाषण र प्रतिवादमा भन्दा हत्या, हिंसा तथा आतङ्क अन्त्य गर्ने काममा ध्यान दिनुपर्ने देवकोटाको भनाइ थियो । उहाँले गृहमन्त्रीले साँचो अर्थमा देशको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिपछि गरिने पुनर्निर्माणमा विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । नदी करिडोर तथा नदी किनारमा ठूला संरचना र बस्ती विकास गर्दा भौगोलिक जोखिमलाई पर्याप्त ध्यान नदिइएको हुनसक्ने उहाँको भनाइ थियो ।

अबको पुनर्निर्माणमा नेपालको भौगोलिक विविधता र जोखिमलाई ध्यानमा राख्दै मध्यपहाडी क्षेत्रमा ऊर्जा तथा भौतिक पूर्वाधार विकासको सम्भावनालाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने देवकोटाले बताउनुभयो । पुनर्निर्माणका क्रममा देशभित्र उपलब्ध विशेषज्ञ तथा दक्ष जनशक्तिको अधिकतम उपयोग गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

मुलुकमा देखिएको वस्तु अभाव र मूल्यवृद्धि राजनीतिक आरोप–प्रत्यारोपबाट समाधान नहुने उहाँले बताउनुभयो । सरकारले आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउँदै कालोबजारी नियन्त्रण गरी नागरिकलाई सहज जीवनयापनको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकार र राजनीतिक दलहरूले ‘सानो मन’ नराखी सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्ने बताउँदै देवकोटाले संसद्लाई आलोचना र वाद–प्रतिवादको मञ्चभन्दा जनताको आवाज उठाउने तथा राष्ट्र निर्माणमा केन्द्रित हुने फोरमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।