काठमाडाैँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुलाई घाइते बनाएको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्।
बुधबार बिहान करिब १ः३० बजे बसमा ढुंगा प्रहार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ढुंगा प्रहारबाट बसमा सवार यात्रुसमेत घाइते भएका थिए।
पक्राउ पर्नेमा हेटौंडा–३ लेवट निवासी २७ वर्षीय किरण बि.क., ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको छ। घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









