काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण ज्यान गुमाएका कर्मचारीप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घिसिङले भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका बेला भूमिगत विद्युत्गृहमा ड्युटीमा रहेका कर्मचारी मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि विद्युत्गृहमै थुनिन पुगेको उल्लेख गर्नुभएको छ । बाढीका कारण उनीहरू बाहिरी सम्पर्क र उद्धारको पहुँचबाट समेत टाढिने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ ।
विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामान लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति र विद्युत्गृहको मुख्य पहुँच मार्ग नै अवरुद्ध भएकाले समयमै उद्धार गर्न कठिनाइ भएको घिसिङको भनाइ छ । यही कठिन परिस्थितिका कारण अमूल्य मानवीय क्षति हुन पुगेको भन्दै उहाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
चिलिमे जलविद्युत् केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युत्गृहका संरचना र अवस्थाबारे आफू परिचित रहेको उल्लेख गर्दै घिसिङले उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको जानकारी दिनुभएको छ ।
बाढीपछिका दिनमा रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजनामा उद्धार कार्य थप तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उहाँले बताउनुभएको छ । त्यसपछि प्रधानमन्त्रीलाई समेत खोज, उद्धार तथा राहतका कार्य थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको घिसिङले उल्लेख गर्नुभएको छ ।
उहाँले विपद्का घटनामा व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ ।
घिसिङले कार्यस्थलमै अचानक आइपरेको विपद्मा परी ज्यान गुमाएका चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले विपद्को कठिन परिस्थितिमा खोज तथा उद्धारमा खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीसहित सम्पूर्ण उद्धारकर्मी र सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । दिवंगत कर्मचारीहरूको योगदान र सम्झना सदैव जीवित रहने पनि उहाँले उल्लेख गर्नुभएको छ।









