काठमाडाैँ । अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत निर्माण गरिएको अस्थायी डाइभर्सन आंशिक रूपमा बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ।
डाइभर्सन बग्नुका साथै राजमार्गका विभिन्न खण्डमा पहिरो खसेपछि सडक यातायात पूर्ण रूपमा प्रभावित भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सनमा क्षति पुर्याएपछि उक्त मार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन ठप्प भएको हो। त्यसैगरी चार सयबेंसी, चौकीडाँडा र गिम्तीबेंसी खण्डमा माथिबाट पहिरो खसेपछि सडक थप अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि सयौँ यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय भक्तपुरले अवरुद्ध सडक खुलाउन प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरेको जनाएको छ।
डिभिजनका अधिकारीका अनुसार वर्षा रोकिएमा करिब पाँच घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। पहिरो पन्छाउने तथा क्षतिग्रस्त डाइभर्सन पुनर्निर्माणको काम अघि बढाइएको छ।
तर, निरन्तर वर्षा भइरहेकाले उद्धार तथा सडक खुलाउने काममा कठिनाइ भइरहेको छ। सम्बन्धित निकायले बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।







