काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले अविरल वर्षाका कारण केही समयका लागि फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भन्दै महानगरवासीलाई घरको फोहर बाहिर ननिकाल्न आग्रह गरेको छ।
महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहर ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको हो।
महानगरपालिकाले फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर तथा परिसरभित्रै फोहर सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। साथै सड्ने तथा नसड्ने फोहर छुट्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ।
महानगरपालिकाले सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा अन्य खुला स्थानमा फोहर नफाल्न समेत आग्रह गरेको छ। सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुग्न सक्ने भएकाले सावधानी अपनाउन महानगरले अनुरोध गरेको हो।
वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।








