काठमाडाैँ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ ।
श्रीलंकालाई ९ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाली महिला कबड्डी टोलीले पदक सुनिश्चित गरेको हो । नेपाली टोलीले उत्कृष्ट डिफेन्स र रेडिङ प्रदर्शन गर्दै श्रीलंकामाथि जित हात पारेको हो ।
श्रीलंकाविरुद्धको खेल नेपाली टोलीका लागि चुनौतीपूर्ण बनेको थियो । दुई महिनाअघि भएको बीच गेममा श्रीलंकासँग पराजित भएकाले नेपाली टोली केही दबाबमा रहे पनि कप्तान मानमती बिष्टको नेतृत्वमा खेलाडीहरूले संयमित प्रदर्शन गर्दै जित निकाले ।
कप्तान बिष्टले टोलीले भारतमा गरेको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताले श्रीलंकाविरुद्धको जितमा सहयोग पुगेको बताउनुभयो । उहाँका अनुसार पदक गुमाउन नहुने दबाब रहे पनि खेल अवधिभर टोलीबीचको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सफल भयो ।
यसअघि खेलका क्रममा १३ अंकले पछि परेको अवस्थालाई उल्टाएर जित निकालेको अनुभवले समेत नेपाली खेलाडीको मनोबल उच्च बनाएको छ । सेमिफाइनलमा पुगेको नेपाली टोली अब स्वर्ण वा रजत पदकका लागि आफ्नो प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।
कप्तान बिष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी संघको सहयोगले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न मद्दत पुगेको बताउनुभयो । उहाँले अन्य विधाका नेपाली खेलाडीलाई पनि अन्तिम समयसम्म हार नमान्दै प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।








