९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाएको जलवायु अभियन्ता तथा अन्तर्राष्ट्रिय जलवायु वार्ताका विज्ञ मञ्जित ढकालले बताउनुभएको छ ।

न्युयोर्कमा सम्बोधनलगत्तै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ढकालले रसुवा तथा भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीको पृष्ठभूमिमा प्रधानमन्त्रीले राख्नुभएको धारणा विज्ञानमा आधारित, कूटनीतिक रूपमा परिपक्व र साना राष्ट्रहरूको साझा आवाजका रूपमा आएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको सम्बोधन परम्परागत औपचारिकता र गुनासोमा सीमित नभई विश्वव्यापी संकट समाधानका लागि स्पष्ट खाका प्रस्तुत गर्ने खालको रहेको उल्लेख गर्नुभयो । महासभामा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा विभिन्न मुलुकका प्रतिनिधिको बाक्लो उपस्थिति र सम्बोधनका क्रममा विदेशी प्रतिनिधिबाट तालीसहित समर्थन जनाइनुले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव देखाएको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनलाई भू–राजनीतिक विषय नबनाई ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने तथा वित्तीय क्षमता भएका मुलुकलाई आफ्नो दायित्व पूरा गर्न प्रधानमन्त्रीले आग्रह गर्नु सम्बोधनको महत्वपूर्ण पक्ष रहेको ढकालले बताउनुभयो ।

प्रधानमन्त्रीले उठाउनुभएको ‘मिसाइल र रासायनिक मल’को प्रसङ्गले विश्व व्यवस्थामा रहेको विरोधाभासलाई उजागर गरेको उहाँको टिप्पणी थियो । युद्धका लागि अत्याधुनिक हतियार छोटो समयमा उपलब्ध गराउन सक्ने विश्व संयन्त्रले गरिब देशका किसानलाई बाली लगाउने समयमा मल र इन्धन उपलब्ध गराउन नसक्नु गम्भीर विडम्बना भएको सन्देश सम्बोधनले दिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको ६ वटा ‘आर’को अवधारणालाई ढकालले विपद् व्यवस्थापन र जलवायु न्यायका लागि दीर्घकालीन सूत्रका रूपमा व्याख्या गर्नुभयो । विपद्पछि उद्धार, पुनःस्थापना र पुनर्निर्माणमा नेपाल आफैँ अग्रसर भइरहेका बेला विपद्लाई स्थायी नियति बन्न नदिन अन्तर्राष्ट्रिय समुदायले ऐतिहासिक जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतामा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

जलवायुजन्य विपद्बाट संरचना ध्वस्त भएका विकासोन्मुख मुलुकलाई थप ऋणको भार बोकाउनुको सट्टा पर्याप्त अनुदान उपलब्ध गराउनुपर्ने नेपालको अडानले विकासोन्मुख देशहरूको साझा भावना प्रतिनिधित्व गरेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम’ स्थापना गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई ढकालले समयसापेक्ष र रणनीतिक कदमका रूपमा लिनुभयो । जोखिमपूर्ण हिमतालको संयुक्त अनुगमन, पूर्वसूचना प्रणालीको विकास, विपद्का बेला सीमापार उद्धार तथा भू–उपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदानका लागि यस्तो संयन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो ।

यद्यपि, भारत र चीनबीचको भू–राजनीतिक जटिलतालाई सम्बोधन गर्दै उक्त संयन्त्रलाई प्राविधिक तहमा कार्यान्वयनमा लैजान नेपालले थप कूटनीतिक पहल गर्नुपर्ने चुनौती रहेको ढकालले औँल्याउनुभयो ।

विपद्का घटना केही दिन अन्तर्राष्ट्रिय समाचारको विषय बन्ने र त्यसपछि बिर्सिने प्रवृत्ति रहेको भन्दै उहाँले नेपाललाई पनि अर्को एउटा तथ्यांक वा उदाहरणमा सीमित गर्न नहुने बताउनुभयो । विश्वको औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिने प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासभाको साइडलाइनमा परराष्ट्रमन्त्रीको नेतृत्वमा भएका उच्चस्तरीय भेटवार्ताले पनि नेपालको पक्षमा अनुकूल वातावरण निर्माण गरेको ढकालले बताउनुभयो । ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणामार्फत हिमाल पग्लिने समस्या र टापु राष्ट्रमा समुद्री सतह बढ्ने संकटलाई जोडेर नेपालले नयाँ कूटनीतिक बहस अघि बढाएको उहाँको भनाइ थियो ।

कोप–३१ सम्मेलन नेपालका लागि महत्वपूर्ण परीक्षा हुने उल्लेख गर्दै ढकालले राष्ट्रसंघमा व्यक्त प्रतिबद्धतालाई नतिजामा बदल्न आन्तरिक तयारी तीव्र बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र, वन तथा वातावरण र कृषि मन्त्रालयबीच प्रभावकारी समन्वय गरी वैज्ञानिक तथ्य र कूटनीतिक पहलसहित ठोस प्रस्ताव अघि बढाउनुपर्ने उहाँले सुझाव दिनुभयो।