काठमाडाैँ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनाएको हो । अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० रन तथा नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । अफगानिस्तानको भने दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।








