१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

व्यापार घाटामा कमी आएसँगै निर्यात १४.४१ प्रतिशत बढ्यो

व्यापार घाटामा कमी आएसँगै निर्यात १४.४१ प्रतिशत बढ्यो
अ अ+ अ-

काठमाडौँ — यस आर्थिक वर्षका पहिलो तीन महिनामा व्यापार घाटा न्यून भएको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो । भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ ।

व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ । भारतसँग आयात घटेको र निर्यात बढेको छ । चीनसँग भने आयात बढेको र निर्यात घटेको छ । गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो । तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ ।

अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । ‘भन्सार राजस्व संकलन गत वर्षको तुलनामा ऋणात्मक छ,’ अर्थका एक अधिकारीले भने । गत वर्ष सुरुका तीन महिनामा भन्सारबाट ९९ अर्ब ९२ करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष तीन महिनामा ८९ अर्ब ९३ करोड १२ लाख १६ हजार रुपैयाँ मात्रै संकलन भएको छ, जुन १० प्रतिशतले कमी हो । ‘गत वर्षको तुलनामा समग्र राजस्वको वृद्धिदर मुस्किलले ३ प्रतिशत हाराहारी छ,’ अर्थका ती अधिकारीले भने । यही अनुपातमा राजस्व संकलन भइरहे सरकारलाई चालु खर्च धान्न मुस्किल पर्ने अनुमान गर्न थालिएको छ ।

‘आयात मात्रै घटेको हैन, निर्यात पनि बढिरहेको छ । यो अर्थतन्त्रका लागि सकारात्मक सन्देश हो,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात निरुत्साहन गर्ने नीति सरकारले ल्याएको समयमा अनौपचारिक अर्थतन्त्र थप मौलाउन सक्छ । त्यसकारण आयात घट्दा राजस्व संकलन कम भयो भनेर चिन्ता गर्ने हैन, राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ सरकार लाग्नुपर्छ ।’

सुवेदीले आयात र निर्यातको अहिलेको अवस्थालाई दिगो बनाउनुपर्ने बताए । भन्सारमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित बनाउने दिशातर्फ केन्द्रित हुँदा राजस्व संकलनमा संक्रमणकालीन अवस्था सिर्जना भएको सुवेदीको विश्लेषण छ । ‘हाम्रो समग्र उपभोग घटेको छैन । उपभोग नघटेकाले आन्तरिक राजस्व बढ्नुपर्ने थियो । बढेन,’ उनले भने, ‘त्यसको पछाडि चुहावट छ । त्यसलाई हेर्नुपर्छ ।’

गत वर्ष तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात ४४ प्रतिशतले बढेको थियो । निर्यात १६ प्रतिशत मात्रै थियो । जसले गर्दा व्यापार घाटा ४६ प्रतिशत पुगेको थियो । आयात वृद्धि अचाक्ली र निर्यात वृद्धि सुस्त भएकाले व्यापार घाटा, भुक्तानी सन्तुलन, शोधनान्तर घाटा, चालु खाता घाटा उच्च भयो ।

नयाँ सरकार गठनलगत्तै अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने ती सूचक नकारात्मक भएपछि सरकार र त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडा निकै आलोचित भए । सरकारले आयात निरुत्साहन गर्ने सम्भावित सामग्रीको पहिचान, निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गर्ने उपाय खोज्न अध्ययन समिति बनाएको थियो । राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले १ महिना लगाई आयात रोक लगाउने सामग्रीको सूची सिफारिस गरेको थियो । त्यस आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, प्लास्टिकलगायत सामग्री आयातमा बन्देज लगाएको छ । अन्य केही सामग्री अत्यधिक आयात नहोस् भनेर भन्सार महसुल बढाइएको छ । सिमेन्ट तथा अन्य केही उत्पादनमूलक उद्योग आत्मनिर्भरको बाटोमा रहेकाले आयातितलाई निरुत्साहन गर्न भन्सार महसुल दर उच्च बनाइएको छ । यस पटकबाट पुस्तक आयातमा समेत १५ प्रतिशत भन्सार लगाइएको छ ।

सरकारले मासुका निम्ति खसीबोका तथा राँगालगायत पशुपक्षी आयातमा क्वारेन्टाइन ऐन लगाई गुणस्तरमा कडाइ गरेको छ । यो व्यवस्थाले सम्बन्धित मुलुकबाट पशु चौपाया आयात गर्दा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित कागजपत्र चाहिन्छ । यो व्यवस्थाका कारण भदौसम्म एउटा पनि खसीबोका आयात भएको थिएन । दसैंका लागि करिब १० हजार खसीबोका मात्रै आयात भए ।

‘सरकारले नीतिगत हस्तक्षेपबाट आयात निरुत्साहन गर्न खोजेको देखिन्छ । खासगरी विलासिताका र कृषिजन्य सामग्री आयातमा निरुत्साहन गरेको छ,’ पूर्वसचिव सुवेदीले भने, ‘निर्यात प्रवर्द्धनका लागि अनुदान बढाएको छ । बढी अनुदानका कारण लागतका हिसाबले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएर निर्यात बढेको हो ।’

दिगो हुनेमा शंका
लगातार तीन महिना आयात कम र निर्यात वृद्धि भइरहे पनि यसलाई दिगो बनाउने चुनौती उत्तिकै छ । उद्योग खुल्ने, विकास निर्माणका कामले तीव्रता लिने र निर्यातजन्य सामग्रीमा सामान्य गिरावट आउनेबित्तिकै व्यापार घाटाले पहिलेकै रूप लिने सम्भावना छ । ‘अहिले आयात कम हुनुको अर्थ विकास निर्माणका काम र उद्योग विस्तार धेरै भइरहेको छैन भन्ने पनि हो,’ सुवेदीले भने, ‘यस पटक पनि मंसिरपछि नै विकास निर्माणका काम हुने सम्भावना देखिन्छ ।’ विकास निर्माणका काम र नयाँ उद्योग खुल्ने क्रममा तीव्रता आउँदा मेसिनरी तथा अन्य कच्चापदार्थ आयात गर्नुपर्ने भएकाले फेरि व्यापाधर घाटा बढ्न सक्ने सुवेदीले बताए ।

‘तर उद्योगधन्दा विस्तार र विकास निर्माण गर्न आयात हुने सामग्रीले मुलुकको अर्थतन्त्रलाई असर गर्दैन । पुँजी निर्माण हुने हो,’ उनले भने, ‘व्यापार घाटा कम गर्नचाहिँ पेट्रोलियम पदार्थको आयात घटाउनुपर्छ । वैकल्पिक ऊर्जा प्रयोगलाई बढावा दिनुपर्छ । निर्यात बढाउने नीतिगत हस्तक्षेप कायम राखिरहनुपर्छ । मुलुकलाई औद्योगिकीकरणतर्फ लैजानुपर्‍यो ।’ नभए केही समय उत्साहित हुने र आयातमुखी अर्थतन्त्र कायमै रहने उनले बताए ।

नेपालका लागि प्रमुख दुई व्यापारिक मुलुक भारत र चीनतर्फको व्यापारमा यस पटक फरक तथ्यांक देखिएको छ । भारतबाट आयात कम हुँदै गएको देखिन्छ भने चीनबाट बढ्न थालेको छ । गत वर्ष अघिल्ला तीन महिनामा भारतबाट २ खर्ब ३६ अर्ब १२ करोड ३४ लाख १९ हजार रुपैयाँका सामग्री आयात भएका थिए । यस वर्ष भने घटेर २ खर्ब ७ अर्ब ४१ करोड २२ लाख ३५ हजार रुपैयाँका सामग्री मात्रै आयात गरिएका छन् ।

चीनबाट गत वर्ष ५३ अर्ब ११ करोड ५६ लाख ८५ हजार रुपैयाँको आयात भएकामा यस वर्षको तीन महिनामा ५९ अर्ब २६ करोड ८१ लाख ५५ हजार रुपैयाँका सामग्री भित्र्याइएका छन् । चीनतर्फको निर्यात भने घटेको छ । गत वर्ष ५६ करोड ४० लाख ९७ हजार रुपैयाँका नेपाली सामग्री निर्यात भएकामा यस पटक ४५ करोड १८ लाख ६४ हजारको मात्रै निर्यात भएको तथ्यांक छ । भारततर्फ भने निर्यात बढेको छ । गत वर्ष १३ अर्ब १६ करोड ४२ लाख १४ हजारका सामान निर्यात भएकामा यस वर्ष तीन महिनामा १७ अर्ब ८७ करोड ८ लाख ८१ हजार रुपैयाँका सामान निर्यात गरिएका छन्। कान्तिपुर दैनिकमा कृष्ण आचार्य लेख्छन् ।