१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो



अ+ अ-

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ ।

जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ । दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।

बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताउनुभयो । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उहाँको भनाइ छ । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

“बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको छ”, थापाले भन्नुभयो, “सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या छ । अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको छ ।”

बराह क्षेत्रसम्म जलयात्रा गरेको रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताउनुभयो । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उहाँको भनाइ छ ।

“हामी दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पथ्र्यो”, राईले भन्नुभयो, “अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने भएको छ । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।

हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । “पानी जेटबोट सञ्चालनले यहाँका नागरिकलाई धेरै सहज भएको छ”, अध्यक्ष राईले भन्नुभयो, “दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेका छौँ ।” रासस




भर्खरै