९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह



अ+ अ-

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएका सामाजिक तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी एकता कायम राख्न सबैमा अपिल गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले जारी गरेको विज्ञप्तिमा कुनै पनि असहमति, विवाद वा असन्तुष्टिलाई संवाद, वार्ता तथा संवैधानिक र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका कारण परिचित रहेको उल्लेख गर्दै इप्पानले यस विशेषतालाई अक्षुण्ण राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ ।

इप्पानले ऊर्जा क्षेत्र मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार भएको भन्दै विद्युत् आयोजना निर्माणका क्रममा निजी क्षेत्रले स्थानीय समुदायसँग सहकार्य गर्दै लगानी, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन गरिरहेको जनाएको छ । विद्युत् आयोजना सफलताका लागि शान्ति, सामाजिक सद्भाव, आपसी विश्वास र सुरक्षित लगानी वातावरण अपरिहार्य रहेको इप्पानको भनाइ छ ।

सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्नुका साथै लगानीकर्ताको मनोबल कमजोर बनाउने, उत्पादन लागत बढाउने र आयोजना निर्माणको अवधि लम्ब्याउने इप्पानले जनाएको छ । यसबाट स्थानीय समुदाय, उद्योग–व्यवसाय, श्रमिक तथा समग्र राष्ट्रिय अर्थतन्त्र प्रभावित हुने भएकाले शान्ति र सामाजिक सद्भावको संरक्षण सबै पक्षको साझा दायित्व भएको उसले उल्लेख गरेको छ ।

इप्पानले उद्योग–व्यवसाय, विद्युत् आयोजना तथा अन्य विकास पूर्वाधारको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकार, सम्बन्धित निकाय तथा सबै सरोकारवालासँग आग्रह गरेको छ । साथै, नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायबीच सहकार्य, संवाद र सकारात्मक जनचेतनामूलक गतिविधि सञ्चालन गरी राष्ट्रिय एकता र विकासको साझा अभियानलाई सशक्त बनाउन आह्वान गरेको छ ।

शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरण नै ऊर्जा विकास, लगानी प्रवद्र्धन, दिगो आर्थिक समृद्धि तथा समुन्नत नेपालको आधार भएको भन्दै इप्पानले सबै नेपालीलाई आपसी सम्मान, सहिष्णुता र एकताको भावना थप मजबुत बनाउन आग्रह गरेको छ ।