काठमाडौँ: राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको पलेँटी यही सेप्टेम्बर महिनाको सप्ताहन्तमा हुने भएको छ ।
हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेंटीमा गत महिना नै गीतकार तथा अभिनेता नीर शाहलाई प्रस्तुत गरिने भएको थियो । रसुवाको बिनासकारी बाढीबाट उत्पन्न शोकका कारण स्थगित सोही कार्यक्रम आउँदो हप्ता हुने भएको हो ।
कार्यक्रममा नीर शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् जसलाई पलेँटीका कण्ठ-सिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले गाउने छन् ।पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका रहेको छ । शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।
उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी’, ‘कहिले काहीँ म हाँस्छु’ ‘गहिराईमा डुब्दै नडुब’, अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका अनेक गीतहरू रहेका छन् ।शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन्। शाहले रचना गरेका फिल्मी गीतहरूमा ‘आँखैमा कसैको तस्वीर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ लगायतका गीतहरू लोकप्रिय रहेका छन् ।
यसपाली पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।
पलेँटीनिम्ति तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार नीर शाह आगामी कार्यक्रम बारे टिप्पणी गर्दै भन्छन्- ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ । पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ; गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ । गौरवशाली इतिहास हो यो । उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु ।’
आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्- ‘नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ । त्यो मेरो दायित्व थियो । त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु ।’
कार्यक्रम बारे पलेँटीका संयोजक आभासको भनाई हुन्छ- ‘साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौँ । संचार र चलचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान रहेको छ । सृजनात्मक अनुभवसहितको यसपालीको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु ।’
पलेँटी कार्यक्रम यही सेप्टेम्बर महिनाको अन्तिम शुक्रबार र शनिबार; २५ र २६ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
‘आर’शालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । त्यसका निम्ति पलेँटीको वेभ साइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।








