• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसहमतिले पारित



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो । 

महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो । यस्तै, सोही दिन स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा  प्रस्तुत गर्नुभएको थियो । 

मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्दशत्रमा नेताहरू हरिबोल गजुरेल, सुरेन्द्र कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेश गर्नुभएको थियो । 

बन्दशत्रको आजको शत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभयो । उहाँले सबैको सुझावलाई आत्मसात् गर्दे पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताउनुभएको थियो । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएपछि अध्यक्ष  मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो । 

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्दशत्रको हलले सर्वसहमतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेण्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताउनुभयो । उहाँले माओवादी एजेण्डामा नै देश अगाडि बढीरहेकाले यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताउनुभयो । 

‘विशेष महाधिवेशन गर्छौँ’

अध्यक्ष प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्वाचनपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो । उहाँले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााण्का लागि प्रस्थान बिन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो । 

समूहगत छलफलको क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै बृहत र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । सोही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।रासस