काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले हराएको हो ।
१९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रनमात्रै बनायो । पोखराले खराब सुरुवात गर्यो । पावरप्ले मै टोलिले तीन विकेट गुमायो ।
ओपनर पनि चल्न सकेनन् । आडम रोसिङ्टन १ रनमा आउट हुँदा अर्का ओपनर दिनेश खरेल ६ रनमै पेभेलियन फर्किए ।
कप्तान कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ३२ बलमा ५३ रनको योगदान दिए । जिम्मी निशमले ४७ रन जोडे । २५ बल खेलेका उनले ५ छक्का र दुई चौका प्रहार गरे । डान डाउथवेटले ३७ रन जोडे ।
वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले दुई विकेट लिए भने नरेन साउ, दिपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र स्कट कुग्लेजिनले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो ।
उसका लागि जोस ब्राउनले ६८ रनको योगदान दिए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले ४३ रनको योगदान दिए भने क्रीश लिनले ३१ रन जोडे । १३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।
वलिङतर्फ पोखराका जेम्स निशमले तीन तथा डान डाउथवेट र आकश चन्दले दुई दुई विकेट लिए ।
पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाइ २९ रनले हराएको थियो ।










