२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण



अ+ अ-

कास्की। जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो ।

प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । प्रतियोगितामा नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले बलियो चुनौती पेस गर्दै हुनुहुन्छ ।

‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका दुवै खेलाडी एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण गरिरहनुभएको छ । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरले खेलाडीलाई अभ्यास गराइरहनुभएको छ ।

विजयले लामो समयदेखि तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा काम गर्नुभयो । तमोर नदीको तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने क्रममा हासिल गरेको अनुभवले उहाँलाई अहिले एसियाली खेलकुदसम्म डोहोर्याएको छ ।

गाइडका रूपमा सिकेको अनुभव र सीपलाई खेलकुदमा रूपान्तरण गर्दै विजय अहिले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट म अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु । ¥याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ”, विजयले भन्नुभयो ।

विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाउनुभएको छ । दुवै खेलाडीले कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक मगरले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको छ । फेवाताल तथा आसपासका क्षेत्रमा नियमित प्रशिक्षणसँगै खेलाडीलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाको वातावरणअनुसार तयार पार्ने काम भइरहेको मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ । सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ ।”

फेवातालमा हुने नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको मगरले बताउनुभयो ।

नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षणमात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थल बन्न सक्ने प्रशिक्षक मगरले बताउनुभयो । एसियन गेम्समा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ । रासस