काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले दलहरुको गम्भीर त्रुटीको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ ।
बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पु¥याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताउनु भयो । उहाँले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिनुभयो । उहाँले जेन–जी पुस्ताले संवैधानिक आयोगहरुमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहिअनुरुप व्यवहार गर्न जरुरी रहेको पनि बताउनु भयो । राजनीतिक दलहरुले संविधानअनुरुप व्यवहार नगरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा लेखिएका विषयमा नभई दलहरुको व्यवहारमै समस्या रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पुराना राजनीतिक दलहरुमा त्रुटी देखिएको छ । सच्चिनुपर्ने आवश्यकता देखिएको छ । मुख्यगरी दलको नेतृत्व लामो समयदेखि राज्यसत्तामा बसेर शक्तिशाली बनिरहेको छ त्यही नेतृत्वलाई निरन्तरता दिने प्रयास दलहरुले प्रयोग गरेको स्थिति छ । पार्टीमा नेतृत्व लोकप्रिय हुने जनतामा उक्त नेतृत्व अलोकप्रिय हुने पार्टीमा नेतृत्वलाई निरन्तरता दिई लोकप्रिय राखिराख्नको लागि जनताका आवाजहरु उठाइरहनु नपर्ने हो कि ? त्यो एउटा गम्भीर प्रश्न छ । यो जेनजी आन्दोलनले नै संवैधानिक नियुक्तिहरु राजनीति ढंगले हुनु भएन भन्ने माग अघि सार्नुभयो । कुरा के हो त भन्दा संविधानअनुरुप दलहरुले व्यवहार गरिरहेका छैनन् । संविधानकै लेखिएका कुराहरु समस्या हुनभन्दा पनि व्यवहार समस्या हो । त्यसकारण दलहरुको प्रवृक्ति परिवर्तन गर्न आवश्यक छ । अझैपनि परिवर्तनको लागि लेखिने त डकुमेन्ट नै हो । ती लेखिएका कुराहरु व्यवहारमा कसरी लागु हुन्छन् ? त्यो महत्वपूर्ण कुरा हो ।’
उहाँले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न काँग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताउनु भयो ।










