२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?



अ+ अ-

“दाइ, आज वसन्त श्रवणमा नजाने?”

पत्रकार भाइ राजन नेपालले प्रायः ४ बजेतिर मलाई फोनमा भन्थे। मेरो कार्यालय समय ५ बजे सकिने भएकाले उनी त्यस दिनका लागि समय मिलाउन र नयाँ सडक जानका लागि ४ बजेतिरै फोन गर्ने गर्थे। उनी ‘शुक्रबार’ साप्ताहिक पत्रिकाका सम्पादक थिए, सुन्धारास्थित कार्यालयमा।

उनले फोन गर्दा कहिलेकाहीँ प्रकाशचन्द्र परियार (हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक) पनि साथमा रहेको थाहा हुन्थ्यो। किनभने उहाँले परैबाट ‘आउनु है, म पनि छु, वसन्त श्रवण गरौँ, न्युरोडमा सँगै चिया पिउँ’ भनेको राजनको फोनबाटै सुनिन्थ्यो।

वसन्त श्रवण श्रीपञ्चमीका दिन हनुमानढोकामा गरिन्छ। पहिले राजा र अहिले राष्ट्रपतिले श्रवण गर्ने प्रचलन रही आएको छ। तर हाम्रो यो ‘वसन्त श्रवण’ भने त्यो नभएर अर्कै थियो—वसन्तप्रकाश उपाध्याय दाइको कुरा सुन्ने। उहाँसँग बस्ने, चिया खाने र उहाँका कुरा सुन्ने विषयलाई हामीले आफूले बुझ्ने भाषामा ‘वसन्त श्रवण’ नाम दिएका थियौँ।

प्रायः म र सोमनाथ लामिछाने दाइ राससबाट निस्कन्थ्यौँ अनि प्रकाशचन्द्र र राजनलाई सुन्धारामा भेटेर सँगै नयाँ सडकतिर जान्थ्यौँ। कहिले सुशील अर्याल त कहिले अरू थुप्रै साथीहरू पनि हुन्थ्यौँ। हाम्रो अखडा धर्मपथ नै थियो, धेरैजसो त गोरखापत्रको ढोकाअगाडिको चिया पसल।

त्यसपछि सुरु हुन्थ्यो वसन्त दाइको प्रवचन।

औँलाको कापमा चुरोट र एक हातमा चियाको गिलास राखेर उहाँ बडो रसज्ञ भावमा गफिनुहुन्थ्यो। विषय राजनीतिबाट सुरु हुन्थ्यो र सुरुवात नेताजी प्रकाशचन्द्रजीले गर्नुहुन्थ्यो। हामीले उहाँलाई ‘नेताजी’ भन्थ्यौँ। पछिल्लो समय उहाँ पत्रकारिता छोडेर कांग्रेसको सक्रिय राजनीतिमा लागिसक्नुभएको थियो।

राजनीतिबाट सुरु भए पनि वसन्त दाइका कुराकानीले नजान्ने र नछुने क्षेत्र सायदै हुन्थ्यो। पत्रकारिताका अनेक आयाम र औतारका कुरा हुन्थे। तर सबै विषयमा उहाँ अपडेट नै हुनुहुन्थ्यो। यहाँसम्म कि ‘शुक्रबार’ साप्ताहिक मनोरञ्जनकेन्द्रित थियो, तर पनि उहाँले राजनलाई हरेक अंकका लागि फरक–फरक विषयवस्तु सुझाइरहनुहुन्थ्यो। बीचबीचमा आफूमाथि भएका अन्यायको फेहरिस्त भने उहाँ छुटाउनुहुन्नथ्यो।

कुराकानी लामै हुन्थ्यो। चियाको दोस्रो र कहिलेकाहीँ तेस्रो राउन्ड पनि चल्थ्यो। तर चियाको पैसा प्रायः आफैँले तिर्न रुचाउनुहुन्थ्यो। हामीलाई अप्ठ्यारो लाग्थ्यो र कहिलेकाहीँ हामीले पनि तिर्थ्यौँ। तर उहाँ सधैँ एउटा थेगो सुनाउनुहुन्थ्यो—

“पत्रिकामा आर्टिकल लेखेर धनी र चिया खुवाएर गरिब कोही हुँदैन, भाइ।”

तिनै वसन्त दाइको दुःखद अन्त्यको खबरले आज मन अमिलो बनाएको छ।

पत्रकार मात्र नभएर जादुगर शब्दका साधक उहाँको लेखनीमा पत्रकारिताको तथ्य, साहित्यको सौन्दर्य र आलोचनाको बडो धारिलो धार थियो। यतिखेर उहाँलाई सम्झिँदा त्यही धारिलो कलम आँखाअगाडि आउँछ।

मोबाइलमै टाइप गरेर लामा–लामा फेसबुक स्टाटस लेख्ने उहाँका अक्षरले केवल वाक्य बनाउँदैनथे, विचार बनाउँथे। अनि ती हरेक विचारले प्रश्न गर्थे। ती प्रश्नले पाठकको मनभित्र झट्का दिन्थे र तरंग पैदा गरिदिन्थे।

अनावश्यक नरम बन्न नचाहने वसन्त दाइको कलम अन्याय देख्दा झनै तिखारिन्थ्यो। विसंगति देख्दा प्रखर हुन्थ्यो। गलतलाई गलत भन्न उहाँको स्वर कहिल्यै हिच्किचाउँदैनथ्यो। त्यसैले उहाँका लेखन र सिर्जनामा प्रशंसाभन्दा प्रश्न बढी हुन्थे, सम्झौताभन्दा प्रतिरोध बढी हुन्थ्यो र मौनताभन्दा आवाज ठूलो हुन्थ्यो।

नेपाली पत्रकारितामा उहाँका लेखहरू पढ्ने एउटा अलग्गै पुस्ता नै बनेको थियो। त्यो पुस्ताले उहाँको कलमबाट पत्रकारिता मात्र सिकेन, सत्यका पक्षमा उभिने साहस पनि आर्जन गर्‍यो जस्तो लाग्छ।

सायद यही कारण उहाँको निधनको पीडा उहाँलाई चिन्ने परिवार र आफन्तको पीडामा मात्र सीमित रहेन। नेपाली पत्रकारिता र साहित्यप्रति प्रेम गर्ने सबैको साझा पीडाका रूपमा सामाजिक सञ्जालमा पोखियो।

सबै अन्यायलाई निर्भीक स्वर र स्वरूपमा कोर्ने कलम सायदै कसैसँग होला। समाज तथा आफ्ना नजिकका भनिएकाहरूको फरक व्यवहारलाई उहाँ बडो जीवन्त रूपमा पस्कनुहुन्थ्यो। वसन्तका जस्ता शब्दसागरमा धार भर्ने आरन अहिले देखिँदैन। लाग्छ, अब त्यस्तो धार निकाल्ने गरी तिखारिने कलम पनि सायदै देखिएला।

मानिसहरू यो धर्तीमा आउँछन्, जान्छन् र त्यो पालोमा हामी नै पनि एक दिन पक्कै पर्छौं। तर उनीहरूका विचारहरू भने रहिरहन्छन्। शरीर समाप्त हुन्छ, सिर्जना बाँच्छ र अर्काे पुस्तालाई पनि त्यसले सिँचिरहन्छ। कसैको इहलीला समाप्त हुँदा आवाज बन्द हुन्छ, तर शब्दहरू भने कतै अक्षर त कतै विचारका रूपमा बोलिरहन्छन्।

वसन्तप्रकाश दाइ पनि अब भौतिक रूपमा हाम्रो बीचमा हुनुहुन्न। तर उहाँका लेख, उहाँका विचार र उहाँले पत्रकारितामा छाडेको पदचाप लामो समयसम्म बोलिरहनेछ। आउने पुस्तालाई पनि केही न केही भनिरहनेछ।

वसन्तप्रकाशले आफ्नो भौतिक शरीर बिसाए पनि उहाँका शिल्पी शब्दहरू अझै यतै हाम्रा नजरमा घुमिरहेका छन्। उहाँको कलम त अब रोकियो, तर त्यसले उठाएका प्रश्नहरू अझै बाँकी छन्। धेरै प्रश्न अनुत्तरित छन्।

मानिस यो धर्तीमा मृत्यु सुनिश्चित गरेरै आउँछ। त्यो कहिले र कसरी भन्ने सत्य भने रहस्यकै गर्भमा रहन्छ। मानिसले आफ्नो मृत्यु देख्दैन, कल्पना भने गर्न सक्छ। तर त्यो कसरी र कुन रूपमा होला भन्ने कल्पना पनि गर्न सक्दैन। त्यसको व्याख्या उसले नश्वर शरीर छोडेर गएपछि अरूले गरिदिन्छन् र भन्छन्—आहा, कस्तो राम्रो मरण! अथवा—कस्तो दुःखद अन्त्य!

तर सरस्वतीको प्रसाद पाएका यी शब्दसाधकको अन्त्य किन यस्तो दुःखद भयो होला?

यससँग जोडिएर आउने धेरै हाँगा–बिँगा भोलि चर्चा होलान्, नहोलान्। तर उहाँले सदा नाम लिइरहने आफ्नै शब्दका ‘परपीडक’हरूले पनि यसबारे मनन गर्नैपर्छ।

उहाँलाई महाप्रबन्धक पदबाट हटाउन भ्रष्टाचारको मुद्दा लगाउनेदेखि सफाइ पाएपछि पनि उहाँलाई आफ्नो अधिकारबाट वञ्चित गराउनेहरूसम्म—सबैको मृत्यु पनि आफूले सोचेकै स्वरूपमा सुनिश्चित हुँदैन। नियतिको खेल कसैले बुझ्न सक्दैन।

कहिलेकाहीँ कुनै मानिसको मृत्युले केवल उसको जीवनको अन्त्य मात्र गर्दैन, एउटा युगलाई नै मौनतातिर धकेलिदिन्छ।

त्यसैले उहाँकै शब्दमा ‘परपीडक’हरूले घेरिएका वसन्त दाइको जस्तो मृत्यु कसैको पनि कल्पना नगरौँ। तर जीवनको अन्तिम सास गहवा माइको शरणमा पुगेर फेरेका उहाँको अन्तरमनको अलापले सायद माइसँग मौनतामै केही संवाद गरेको हुनुपर्छ।

तर प्रश्न अझै बाँकी छ—त्यस्तो व्यक्तिको यो दुःखद अन्त्यसम्म पुर्‍याउने कारक कोही थियो कि उहाँ आफैँ?

उहाँको कलम त अब बिसायो। तर उहाँका शब्दले उठाएका प्रश्नहरूको उत्तर खोज्ने जिम्मेवारी अब अरू कलमहरूको हो। कसैले त्यो खोज्ला कि?

वसन्त दाइप्रति हार्दिक श्रद्धासुमन।