लस एन्जलस। अमेरिकामा यस वर्ष दादुरा रोगका पुष्टि भएका संक्रमितको संख्या तीन हजार नाघेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहीबारसम्म देशभर तीन हजार १ सय ३४ जनामा दादुरा पुष्टि भएको हो ।
यो संख्या सन् २०२५ भरि रिपोर्ट भएका २ हजार २ सय ८९ संक्रमितभन्दा निकै बढी हो । केन्द्रका अनुसार सन् १९९१ पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो ।
यस वर्ष पुष्टि भएका संक्रमितमध्ये तीन हजार १ सय १८ जना अमेरिकाका ४७ वटा राज्य तथा क्षेत्रबाट पहिचान भएका छन् भने १६ जना अन्तर्राष्ट्रिय आगन्तुक रहेका छन् । हालसम्म २४८ जना अस्पताल भर्ना भएका छन्, जुन कुल संक्रमितको करिब ८ प्रतिशत हो । साथै, ३८ वटा दादुरा प्रकोपसमेत रिपोर्ट भएका छन् ।
केन्द्रका अनुसार पुष्टि भएका संक्रमितमध्ये करिब ९४ प्रतिशत व्यक्ति खोप नलगाएका रहेका छन् । दादुराबाट बच्नका लागि केन्द्रले दादुरा, गलफुलो र रुबेलाविरुद्धको खोपका दुई मात्रा लगाउन सिफारिस गरेको छ ।
अमेरिकामा बालबालिकाको खोप लगाउने दरसमेत घटिरहेको छ । सन् २०२५–२६ को शैक्षिक वर्षमा बालबालिकामा दादुरा, गलफुलो र रुबेलाविरुद्धको खोप लगाउने दर ९२ दशमलव ४ प्रतिशतमा झरेको छ । सन् २०१९–२० मा यो दर ९५ दशमलव २ प्रतिशत थियो । हाल करिब २ लाख ८० हजार बालबालिकासँग खोपको पूरा मात्रा लगाएको प्रमाणित अभिलेख छैन ।
केन्द्रका अनुसार कुनै समुदायमा ९५ प्रतिशतभन्दा बढी मानिसले खोप लगाएका अवस्थामा सामुदायिक प्रतिरक्षाका कारण अधिकांश मानिस दादुराबाट सुरक्षित रहन्छन् । (रासस/सिन्ह्वा)









