९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

विनाश देखेकी दिपशिखाको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए…

विनाश देखेकी दिपशिखाको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए…
अ अ+ अ-

२०८३ भाद्र १० गते त्यो समयमा हामी कक्षामै थियौँ। सामान्य रूपमा पढाइ भइरहेको थियो। जीवविज्ञानका सरले पढाइरहनुभएको थियो। त्यसपछि भौतिकशास्त्रको परीक्षा पनि भएकाले सरले कक्षा छोड्दै भन्नुभयो, “यसपछि तिमीहरूको परीक्षा छ, तिमीहरू पढ।” त्यसपछि सर जानुभयो।

सर कक्षाबाट निस्किएपछि बाहिर एक्कासि हल्ला चल्यो— “बाढी आयो।” हाम्रो भवनसँगैको कक्षामा व्यवसाय विषय पढ्ने दाइ–दिदीहरू हुनुहुन्थ्यो। उहाँहरू भागेर जानुभयो। विज्ञान संकायको कक्षा भने त्यसै पनि ढिलो छुट्टी हुने र त्यसपछि परीक्षा पनि भएकाले हामी त्यति गम्भीर भएनौँ। हामी कक्षामै बसिरहेका थियौँ।

पछि कक्षा १२ का विज्ञान संकायका दाइ–दिदीहरू पनि आएर “बाढी आयो रे, ठूलै बाढी आइसक्यो” भन्नुभयो। त्यसपछि हामी पनि तल ओर्लियौँ।

म छात्रावासमा बस्छु। मेरो सामान पनि छात्रावासमै थियो। मैले मसँगै पढ्ने साथीलाई “म छात्रावासमा गएर आफ्नो सामान ल्याउँछु” भनेँ। उसको घर पनि यहीँ थियो। उसले भने, “पर्दैन, बाढी धेरै ठूलो आइसकेको छ रे। अहिले सामान लिन गयौ भने त्यहीँ मरिन्छ।” उसको कुरा मानेर म सामान लिन गइनँ। यदि त्यसबेला सामान लिन गएको भए सायद म पनि त्यहीँ पर्थें।

हामी स्कुलमै हुँदा छात्रावासलाई बाढीले बगाइसकेको खबर सुनिसकेका थियौँ। मेरा अरू साथीहरू पनि छात्रावासमै बस्थे। त्यहाँ वार्डेन म्यामहरू पनि हुनुहुन्थ्यो। पछि सरहरूले छात्रावासमा बस्ने विद्यार्थीहरूलाई माथितिर सुरक्षित ठाउँमा पठाउनुभएको रहेछ।

यो पनि पढ्नुहोस–बाढीले विद्यालय बगायो, तर हाम्रो आत्मविश्वास बगाउन सकेन

म र मेरो साथी भने त्रिशूली चोकतिर आयौँ। त्यहाँ एउटा गाडी थियो। सुरुमा हामीलाई गाडीमा चढ्न दिइएको थिएन। हामीले चालक र सहचालकसँग आग्रह गरेर जबर्जस्ती गाडीभित्र छिर्‍यौँ। उहाँहरूले पनि अन्तत: हामीलाई लिएर जानुभयो।

त्यही क्रममा बाबाको फोन आयो। बाबाले “अब कहाँ आइपुग्यौ” भनेर सोध्नुभयो। मैले “बटारमा छु” भनेँ। बाबाले “सुरक्षित भएर आउनू, बाढी ठूलै आइसकेको छ रे”भन्नुभयो।

त्यसपछि हामी अगाडि बढ्यौँ। गाडी मोडिनेबित्तिकै एक्कासि पुल बगाएको देख्यौँ। त्यसपछि मात्रै साँच्चिकै डर लाग्यो। त्यसअघि हामीलाई यति ठूलो बाढी आउँछ भन्ने लागेको थिएन। हामीले त सामान्य रूपमा लिएका थियौँ, हाँसीमजाकमै कुरा गरिरहेका थियौँ। तर पुल नै बगाइसकेको देखेपछि धेरै डर लाग्यो।

यताउता हेर्दा घरहरू समेत बाढीले बगाएको देखियो। हामी पिपलडार पुगेपछि गाडी अगाडि जान सकेन। “अब यहीँ राखिन्छ, यहाँबाट उता जान सकिँदैन” भनेर भनियो। त्यसपछि झन् डर लाग्यो। रुवाबासी चल्यो।

त्यसपछि हामी हिँडेरै चोकसम्म पुग्यौँ। त्यहाँ भेटिएको जुनसुकै गाडीमा चढेर भए पनि सुरक्षित ठाउँमा पुग्ने प्रयास गर्‍यौँ। तर धेरै चालकहरूले हामीलाई चढाउन मान्नुभएन। उहाँहरू “बाढी आइसकेको छ, सबै बगाइसकेको छ, हामी जाँदैनौँ” भन्नुहुन्थ्यो। हामीले आग्रह गरेर जबर्जस्ती गाडीमा चढ्यौँ।

गाडी अघि बढ्नासाथ फेरि पुल बगेको देख्यौँ। त्यो दृश्य देखेपछि हामी निकै डरायौँ। पुल बगेको देख्दा “यता पनि सबै बगाइसक्यो” भन्ने लाग्यो। हामी रोयौँ, डरायौँ।

बाढी देख्दा मलाई निकै डर लागेको थियो। त्यस्तो भयानक अवस्था हुन्छ भनेर हामीले कल्पनासमेत गरेका थिएनौँ। अहिले विद्यालय पनि बगिसकेको छ। पढ्न पाएका छैनौँ। कलेजमा भर्ना हुन पनि पाएका छैनौँ।

अब कलेज भए पनि कसरी जाने ? पुल नै छैन। हाम्रो कलेज त पूरै बगिसकेको छ। यहाँतिर केही संरचना बाँकी भए पनि हाम्रो कलेज नै छैन। धेरै साथीहरू पढ्नका लागि काठमाडौँ गइसकेका छन्। म भने यहीँ छु।

अब चाँडोभन्दा चाँडो कलेजमा पढ्न जान पाए हुन्थ्यो। पढाइ सुरु गर्न नपाए एक वर्ष नै खेर जाने डर छ।

बाढीपछिको सबैभन्दा ठूलो पीडा यही हो— कलेजहरू बगे, हामीले पढ्न पाउने अवस्था रहेन, वरपरका मानिसहरूको अवस्था बिजोग भयो र आवतजावत गर्ने पुलहरू समेत बगे। अहिले जाने–आउने बाटो नै छैन।

रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ११ कक्षामा अध्यायनरत विद्यार्थी दिपशिखा चित्रकारसंग गरिएको कुराकानी