१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले विद्यालय बगायो, तर हाम्रो आत्मविश्वास बगाउन सकेन



अ+ अ-

कुनैपनि शिक्षकको कर्तव्य के हुन्छ ? साधारणतया विद्यार्थीलाई पढाउने र सकेसम्म आफ्ना विद्यार्थीलाई बजारका लागि प्रतिस्पर्धी बनाउने । तर, त्यतिमात्र होइन शिक्षकको कर्तव्य भनेको आफ्ना छोराछोरी सरह नै विद्यार्थीहरुको हेरचाह, ख्याल गर्ने । हुनपनि त्यस्तै एउटा उल्लेखनीय तथा अनुकरणीय उदाहरण सेट गरेका छन् नुवाकोटका एक शिक्षकले ।

गत बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सो नदीको तटीय क्षेत्रमा रहेका बस्तीको सुरक्षाका लागि सूचना जारी भयो । सोही बमोजिम त्रिशुली बजार पनि खाली गराउन थालियो । बिहानको त्यस्तै साढे ९ बजे विद्यार्थीहरु प्रार्थनामा थिए । अकस्मात सो सूचना आएपछि सो विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले आफ्ना विद्यार्थीको ज्यान यसरी बचाए कि, त्यसले अहिले देशैभरि शोक छाएका बेला पनि एउटा खुसीको समाचार सञ्चार गरेको छ ।

बाढीको सूचनापछि उनले विद्यार्थीलाई एक्लै छोडेनन्, आफैले लाम लगाएर अग्लो स्थानमा लगे र बाढीको बितण्डा सकिएपछि मात्र उनले घर पठाए । उनको यो कामको धेरैले प्रशंसा गरेका छन्, र भनेका छन्— एकजना शिक्षकको जिम्मेवारी विद्यार्थीलाई पढाउने मात्र होइन, उनीहरुको जीवन रक्षा गर्ने पनि हो रहेछ ।

२०८३ भाद्र १० गते बिहान देखी के के भयो ?

म कक्षाकोठामै थिएँ। बिहान ९ बजेर १० मिनेट गएको थियो। त्यही बेला मेरा एक जना लेखापाल हतारिँदै चिच्याउँदै विद्यालयभित्र पस्नुभयो। उहाँले आत्तिँदै भन्नुभयो, “बाढी आइरहेको छ रे, माथिबाट सबै बगायो रे, सबै बगायो रे।”

म कक्षाकोठामै थिएँ। बाहिर के भएछ भनेर म सिधै कक्षाकोठाबाट भुइँतलामा झरेँ। भुइँतलामा पुगेपछि विद्यालयका विभिन्न भवनका बीचमा रहेको ठाउँमा आइपुगेँ। त्यही बेला छेउको भवनबाट मेरा सामाजिक विषयका शिक्षक विष्णुप्रसाद पौडेल सर मोटरसाइकलमा बाहिर निस्कँदै हुनुहुन्थ्यो।

म भुइँतलामा आइपुगिसकेको थिएँ। त्यही ठाउँमा उभिरहेको थिएँ। साथी चिच्याउँदै आएपछि विष्णुप्रसाद सर पनि मोटरसाइकल लिएर त्यहाँ आइपुग्नुभयो। मैले उहाँलाई भनेँ, “सर, कक्षाकोठा छोडेँ। माथिबाट ठूलो बाढी आएको रहेछ, सबै बगाइसकेको रहेछ।”

त्यसपछि उहाँले पनि मलाई “यहाँ नबस्नुस्, त्रिशूली सुरक्षित छैन” भन्नुभयो। उहाँले त्यहाँ मोटरसाइकल छोडेर सुरक्षित स्थानतर्फ जानुभयो।

हाम्रो विद्यालयमा करिब आठ सयदेखि नौ सय विद्यार्थी अध्ययन गर्छन्। कक्षा ११ र १२ को पढाइ बिहानको सत्रमा तथा कक्षा १ देखि १० सम्मको पढाइ दिउँसोको सत्रमा सञ्चालन हुन्छ। त्यसैगरी कक्षा ८, ९ र १० का विद्यार्थीलाई बिहान साढे ६ बजेदेखि अतिरिक्त कक्षाका लागि बोलाउने गरेका छौँ।

हाम्रो विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी अध्ययन गर्छन्। कक्षा ११ र १२ मा मात्रै करिब आठ सय विद्यार्थी छन्। तर त्यस दिन मुस्लिम समुदायको चाड परेकाले विद्यार्थीको उपस्थिति केही कम थियो। सामान्य अवस्थामा विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत थिए।

तर अहिले हामीसँग विद्यार्थी भर्नासम्बन्धी कुनै कागजात छैन। त्यस दिन आएको बाढीले भर्नासम्बन्धी सबै कागजात र अभिलेखसमेत बगाएर लग्यो।

त्यतिबेला म त्यहाँ आइपुग्दा विद्यार्थीहरू पनि त्यति नै संख्यामा थिए। विष्णुप्रसाद सर त्यहाँबाट जानै लाग्नुभएको बेला मेरो एक जना साथीको फोन आयो। मैले फोनमा खासै ध्यान दिएको थिइनँ। उहाँले आएर भन्नुभयो, “सर, बाढी त माथिबाट आइरहेको रहेछ।”

त्यसपछि अर्का एक जना साथी पनि मसँगै उभिनुभयो र “अब के गर्ने?” भनेर सोध्न थाल्नुभयो।

त्यही बेला विद्यालयको गेटबाट एक जना अभिभावक स्कुटर लिएर भित्र पस्नुभयो। उहाँ भित्र आएर भन्नुभयो, “सर, बाढी ठूलो आएको रहेछ। मैले पनि ठ्याक्कै देखेँ। म मेरो नानीलाई लिन आएको हुँ। अरूलाई पनि विद्यालयसम्म आइपुग्छ कि आइपुग्दैन थाहा छैन। माथितिर त सबै बगाउँदै आएको रे।”

त्यतिबेलासम्म मैले तीनवटा छुट्टाछुट्टै सूचना सुनिसकेको थिएँ। मेरो फोन पनि लगातार बजिरहेको थियो। त्यसपछि मलाई पनि बाढी साँच्चिकै ठूलो हुन सक्छ भन्ने महसुस हुन थाल्यो।

मसँग रहेका अरू साथीहरूले पनि “सर, यो साँच्चिकै हो कि के हो?” भनेर भन्नुभयो। त्यसपछि मैले तत्काल निर्णय गर्नुपर्ने अवस्था आयो। मनमा एउटा कुरा आयो—यदि कसैले गलत सूचना दिएको रहेछ र बाढी त्यति ठूलो आएको रहेनछ भने एक दिनको पढाइ मात्र छुट्ने हो। तर यदि बाढी साँच्चिकै ठूलो आएको रहेछ भने विद्यार्थीहरूको ज्यानभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन।

यही गेट हो। यही गेटको छेउमा रहेका दुईवटा बसको बीचको भुइँतलामा म थिएँ, सर। त्यहाँ मेरा साथीहरू पनि हुनुहुन्थ्यो। म त्यहाँ आइपुग्दा विद्यार्थीहरू सबै आ–आफ्नो कक्षामा पढिरहेका थिए। बाहिरबाट बाढी आएको खबर भन्दै चिच्याएको सुनेपछि विद्यार्थीहरू पनि के भयो, के भयो भनेर केही सचेत हुन थालिसकेका थिए।

त्यतिबेला विद्यालयका दुवै बस विद्यार्थी लिन बाहिर गएका थिए। विद्यालयका बसहरू त्यहाँ थिएनन्। ती दिउँसोको सत्रका विद्यार्थी लिन गएका थिए। दिउँसोको सत्रका विद्यार्थीलाई विद्यालयमा ल्याएर छोडेपछि बिहानको सत्रका विद्यार्थीलाई लिएर बसहरू बाहिर जाने हाम्रो नियमित व्यवस्था थियो।

त्यसै क्रममा तत्काल तीन–चारवटा फोन आए। मलाई पनि एउटा फोन आयो। हाम्रा एक जना कर्मचारी साथीले फोन गरेर भन्नुभयो, “सर, बाढी त माथि बेद्रावती आइपुग्न लागिसक्यो रे।” उहाँले फेरि “बाढी बेद्रावतीमै आइसकेछ” भनेर जानकारी दिनुभयो।

त्यति जानकारी पाएपछि अब ढिला गर्नु हुँदैन भन्ने लाग्यो। मैले तत्काल विद्यार्थीहरूलाई बाहिर निकाल्ने निर्णय गरेँ। “अब नरोक्नुहोस्, सबैलाई बाहिर निकाल्नुहोस्” भनेर निर्देशन दिएँ। त्यसपछि विद्यालयमा साइरन बजाइयो। मेरो पालोमा रहेका कर्मचारीले साइरन बजाउनुभयो। अर्का एक जना कर्मचारीले घण्टी बजाउनुभयो र सबैलाई “निस्कौँ” भनेर जानकारी गराइयो।

विद्यार्थीहरू बाहिर निस्कन थालेपछि केहीबेर भागदौडजस्तो अवस्था सिर्जना भयो। त्यस क्रममा केही विद्यार्थी लडे। त्यतिबेला होटल व्यवस्थापनको कक्षा सञ्चालन भइरहेको थियो। त्यो भवन भारत सरकारको सहयोगमा निर्माण भएको थियो। त्यहाँ दुई जना विद्यार्थी लडेका थिए।

विद्यालयको सबैभन्दा माथिल्लो तलामा मेरो उपचार कक्ष थियो। त्यहाँ कर्मचारी नर्स हुनुहुन्थ्यो। एक जना विद्यार्थी बेहोस भएर ढलेपछि उनका साथी विद्यार्थीहरूले नै उनलाई बोकेर माथि लगे। कर्मचारी नर्सले त्यहाँ उनको रक्तचाप जाँच गर्न थाल्नुभयो। त्यो कक्ष तीन तला माथि थियो।

त्यतिबेलासम्म अन्य विद्यार्थीहरू भने लगभग बाहिर निस्किसकेका थिए। मैले ती विद्यार्थीलाई पनि तल ल्याउन भनेँ। त्यसपछि साथीहरूले उनलाई बोकेर तल ल्याए र एउटा मोटरसाइकलमा राखेर सुरक्षित स्थानतर्फ लगे।मैले तत्काल विद्यालयका दुईवटा बस रोक्न पहल गरेँ। एउटा बस पछाडिपट्टि र अर्को अगाडिपट्टि थियो। अर्को एउटा बस भने माथिको बस्ती, डाँडातिर गएको थियो। त्यस बसका चालकलाई फोन गरेर त्यहीँ रोक्न भनेँ। अर्को भाडाको बसलाई भने विद्यार्थी लिन जान निर्देशन दिएँ।

त्यसैबीच मैले एक जना छात्रालाई पनि बाहिर पठाएँ। त्यति गर्दागर्दै एउटा बस विद्यालयभित्र आइपुग्यो। त्यसमा धेरै विद्यार्थी थिए।

मैले चालकलाई भनेँ, “यस्तो अवस्था आइसकेको छ। हामीले विद्यालय खाली गरिसकेका छौँ। जस्तो आएको थियौ, त्यस्तै फर्क। बाटोमा बच्चाहरू भेटिए भने लिएर जाऊ।”

उहाँ पनि निकै अनुभवी चालक हुनुहुन्थ्यो। मैले यति भनेपछि विद्यालय खाली भइसकेको कुरा बुझेर उहाँ फर्किनुभयो।

उहाँ फर्केर जाँदा त्यहाँ दुईवटा पुल थिए—एउटा पुरानो र अर्को नयाँ। ती दुई पुल करिब पाँच सय मिटरको दूरीमा थिए। उहाँ नयाँ पुलबाट पार हुनुभयो। उहाँ नयाँ पुलबाट पार भइसकेपछि पुरानो पुल भने बाढीले पूर्ण रूपमा बगायो।

यदि उहाँ पुरानो पुलबाट जानुभएको भए गाडीको केही पनि बाँकी रहँदैनथ्यो, सर। अहिले पुरानो पुलबाट आवतजावत कम हुन्छ, किनकि नयाँ पुलबाट बाटो अलि छोटो पर्छ र त्यसैले हामीलाई छिटो पनि हुन्छ। उहाँ त्यही नयाँ पुलबाट जानुभयो र सुरक्षित हुनुभयो।

त्यसपछि मेरो ध्यान विद्यालयको पछाडिपट्टि रहेको महिला आवासीय छात्रावासतर्फ गयो। त्यो नेपाल सरकारकै स्वामित्वमा रहेको छात्रावास हो। त्यहाँ निःशुल्क खान–बस्न पाएर करिब ३० जना छात्राहरू अध्ययन गर्छन्।

विद्यालयको पछाडिपट्टि राम मन्दिर थियो। राम मन्दिरबाट तल खोलातर्फ जाने केही बाटाहरू थिए र त्यसपछि मात्रै खोला आउँथ्यो। उचाइको हिसाबले विद्यालय खोलाभन्दा करिब २०–३० मिटर माथि थियो। दूरीको हिसाबले विद्यालय खोलाबाट करिब डेढ सयदेखि दुई सय मिटरको आसपासमा थियो। विद्यालय खोलाकै छेउमा करिब ८६ रोपनी क्षेत्रफलमा फैलिएको थियो। पारिपट्टि जङ्गल पनि देखिन्थ्यो।

दुईवटा बसमध्ये एउटा बसलाई हामीले माथितिरै रोक्न लगायौँ। विद्यार्थी लिन गएको बसलाई पनि त्यसैगरी फर्काइयो। त्यसबाहेक बाँकी विद्यार्थीलाई विद्यालय परिसरमा रहेका मोटरसाइकलमार्फत सुरक्षित स्थानतर्फ पठाउने व्यवस्था गरियो।

विद्यालयका बसहरू त्यतिबेला विद्यालयमा थिएनन्। ती दिउँसोको सत्रका विद्यार्थी लिन गएका थिए। दिउँसोको सत्रका विद्यार्थीलाई विद्यालयमा ल्याएर छोडेपछि बिहानको सत्रका विद्यार्थीलाई लिएर बसहरू बाहिर जाने नियमित व्यवस्था थियो।

त्यसै क्रममा तत्काल तीन–चारवटा फोन आए। मलाई पनि एउटा फोन आयो। हाम्रा एक जना कर्मचारी साथीले फोन गरेर भन्नुभयो, ‘सर, बाढी त माथि बेद्रावती आइपुग्न लागिसक्यो रे।’ उहाँले फेरि ‘बाढी बेद्रावतीमै आइसकेछ’ भनेर जानकारी दिनुभयो।

त्यो जानकारी पाएपछि अब ढिला गर्नु हुँदैन भन्ने लाग्यो र विद्यार्थीलाई तत्काल विद्यालयबाट बाहिर निकाल्ने निर्णय गरियो। ‘अब नराख्नुहोस्, सबैलाई निकाल्नुहोस्’ भनेर निर्देशन दिएँ। त्यसपछि विद्यालयमा साइरन बजाइयो। मेरो पालोमा रहेका कर्मचारीले साइरन बजाउनुभयो। अर्का एक जना कर्मचारीले घण्टी बजाउनुभयो र सबैलाई ‘निस्कौँ’ भनेर जानकारी गराइयो।

विद्यार्थीहरू बाहिर निस्कन थालेपछि भागदौडजस्तो अवस्था सिर्जना भयो। भागदौडका क्रममा केही विद्यार्थी लडे। त्यतिबेला होटल व्यवस्थापनको कक्षा सञ्चालन भइरहेको थियो। त्यो भवन भारत सरकारको सहयोगमा निर्माण भएको थियो। त्यहाँ दुई जना विद्यार्थी लडेका थिए।

विद्यालयको सबैभन्दा माथिल्लो तलामा मेरो उपचार कक्ष थियो, जहाँ कर्मचारी नर्स हुनुहुन्थ्यो। एक जना विद्यार्थी बेहोस भएर ढलेपछि उनका साथी विद्यार्थीहरूले नै उनलाई बोकेर माथि लगे। कर्मचारी नर्सले त्यहाँ उनको रक्तचाप जाँच गर्न थाल्नुभयो। त्यो कक्ष तीन तला माथि थियो।

त्यतिबेलासम्म अन्य विद्यार्थीहरू भने लगभग बाहिर निस्किसकेका थिए। मैले ती विद्यार्थीलाई पनि तल ल्याउन भनेँ। त्यसपछि उहाँहरूले उनलाई बोकेर तल ल्याउनुभयो। एउटा मोटरसाइकलमा राखेर उनलाई पनि सुरक्षित स्थानतर्फ लगियो।

मैले तत्काल विद्यालयका दुईवटा बस रोक्ने पहल गरेँ। एउटा पछाडिपट्टि र अर्को अगाडिपट्टि रहेको बस थियो भने अर्को बस माथिको बस्ती, डाँडातिर गएको थियो। त्यस बसका चालकलाई फोन गरेर त्यहीँ रोक्न भनेँ। अर्को भाडाको बसलाई भने विद्यार्थी लिन जान निर्देशन दिएँ।

त्यसैबीच मैले एक जना छात्रालाई पनि बाहिर पठाएँ। त्यति गर्दागर्दै एउटा बस विद्यालयभित्र आइपुग्यो र त्यसमा धेरै विद्यार्थी थिए।

त्यसपछि भागदौडको अवस्था सिर्जना भइसकेको थियो। एउटा मोटरसाइकलमा लगभग तीन जनासम्म विद्यार्थी चढेको हुनुपर्छ। दुई–तीन जनाको समूह बनाएर विद्यार्थीहरू मोटरसाइकलमा चढेर सुरक्षित स्थानतर्फ जान थाले। त्यस क्रममा लगभग दुई सयदेखि साढे दुई सय विद्यार्थी मोटरसाइकलबाट पनि बाहिर गए।

हाम्रो विद्यालयको छात्रावासमा बस्ने करिब ३० जना विद्यार्थी भने त्यहीँ थिए। उनीहरूलाई मैले ‘तिमीहरू घर जाऊ’ भनेको थिएँ। त्यसबेला सुरक्षित स्थान भनेको घर नै हो भन्ने हाम्रो बुझाइ थियो। तर उनीहरूले ‘सर, हाम्रो घर त टाढा छ। हामी यहीँ छात्रावासमा बस्छौँ, हामी कहाँ जाने?’ भनेर भने।

उनीहरू आवासीय रूपमा छात्रावासमा बस्ने भएकाले मैले उनीहरूलाई ‘तिमीहरू हामीसँगै जाऊ’ भनेँ। छात्रावासका वार्डेन पनि त्यहीँ हुनुहुन्थ्यो। त्यसपछि ती विद्यार्थीलाई हामीसँगै राख्ने व्यवस्था गरियो।

त्यतिबेलासम्म विद्यालय लगभग खाली गरिसकेका थियौँ। तर विडम्बना के भयो भने म सबैभन्दा अन्तिममा विद्यालयबाट निस्किएँ। मसँग प्रदीप पण्डित, दिलीप खतिवडा, राजकुमार तिमल्सिनालगायतका साथीहरू हुनुहुन्थ्यो।

हामी विद्यालयबाट निस्किँदै गर्दा पछाडिपट्टि एक जना कर्मचारी, कार्ले सुयोगी छुल्ठिम लामा हुनुहुन्थ्यो। पछि मैले उहाँलाई देखिनँ। उहाँ कहाँ जानुभयो भन्ने थाहा भएन। त्यसपछि एक जना सरले उहाँ चाबी लगाउन जानुभएको हो कि भन्ने कुरा गर्नुभयो।

हामी फेरि माथि गएर को–को साथी आए, को आएनन् भनेर खोज्न थाल्यौँ। त्यस क्रममा ‘लामा कहाँ गए? लामा कहाँ गए?’ भनेर खोज्यौँ। मैले पनि ‘मैले त पछाडि लामा देखेको थिएँ, त्यसपछि फेरि देखिनँ’ भनेँ।

उहाँहरू पनि आवासीय रूपमा विद्यालयभित्रै बस्नुहुन्थ्यो। उहाँकी श्रीमती र एक जना छोरी पनि हुनुहुन्थ्यो। उहाँहरू भने बाहिर निस्केर अगाडि नै सुरक्षित स्थानमा पुगिसक्नुभएको रहेछ। क्याफेटेरियामा काम गर्ने सबै मानिस पनि बाहिर निस्कन भ्याएका थिए।

त्यसैले उहाँ मात्रै विद्यालयभित्र हराउनुभएको हुनसक्ने मेरो अनुमान छ। तर बाढी आएर हामी विद्यालयबाट बाहिर निस्किसकेको समयमा विद्यालयभित्र अन्य कुनै विद्यार्थी थिएनन्। झोला लिन वा अन्य सामान लिन पनि विद्यार्थीलाई विद्यालयभित्र फर्केर नआउन भनिएको थियो।

जब म यो गेटमा आइपुगेँ, म एउटा मोटरसाइकलमा गेटसम्म आएको थिएँ। यहाँ आइपुग्दा पछाडिपट्टि अन्तिम भागमा हामीले मोटरसाइकल देखिरहेका थियौँ, त्यहाँसम्म पानी आइसकेको थियो। सुरुमा आएको पानीको पहिलो झोक्का भने अलि कम थियो। सुरुमा उतापट्टिबाट पानी हानेर आएजस्तो भयो र पानी छ्यापिन थालिसकेको थियो।

त्यतिबेला म आफैँ हेर्न गएको थिइनँ। तर विद्यालय लगभग पूर्ण रूपमा खाली गरिसकेका थियौँ। विद्यालयमा कोही मान्छे बाँकी थिएनन्। कक्षाकोठाहरू पनि खाली थिए। हामी गेटमै थियौँ र सबैलाई बाहिर जान भनिरहेका थियौँ। कक्षाकोठाबाट आउने शिक्षकहरूलाई पनि ‘कक्षाकोठा खाली गरेर मात्र आउनुहोस्’ भनेर निर्देशन दिएका थियौँ।

हामी माथि डाँडामा पुग्दासम्म करिब सय जना विद्यार्थी हामीसँगै थिए। त्यसबेला हामीसँग लगभग सय जना विद्यार्थी र १७–१८ जना कर्मचारी सँगै थियौँ।

‘यस्तो बाढी आयो’ भनेर पोर साल पनि खबर आएको थियो, सर। पोर साल पनि बाढी आयो। त्यसबेला मान्छेहरू खोलामा गएर पुलमाथि पानी आयो कि आएन, कुन तहसम्म पुग्यो भनेर हेर्न जाने गर्थे। बजारमा त हरेक वर्ष बाढी आउँछ। बर्खाको महिना लागेपछि बाढी आउँछ भन्ने खालको मानिसहरूमा एउटा सामान्य अनुभूति थियो।

त्यसैले ‘ए, भोटेकोशीमा बाढी आउँछ रे’ भन्ने खबर सुनेपछि पनि पोर साल असार पन्ध्रतिर त्यहाँ ठूलो विपत्ति भएकै थियो, त्यस्तै होला भनेर मानिसहरू त्यति गम्भीर भएनन्। कतिपय मानिस डाँडा चढेर सुरक्षित स्थानमा जानुभन्दा खोलामा पानीको अवस्था हेर्न गए। यो एउटा कुरा रह्यो।

अर्को कुरा, यो मानव स्वभाव पनि हो, सर। बाँचेपछि खानुपर्छ। घरमा केही सामान छ भने त्यसलाई पनि पोको पारौँ, लिएर दौडौँ भन्ने हुन्छ। अब दौडिनै पाउने हो भने सामान पनि पोको पारौँ कि भन्ने खालका सोचले पनि मानिसहरूको जीवन त्यहाँ जोखिममा परेको हो जस्तो लाग्छ।

मलाई तत्कालै यस्तो अवस्था हुँदा विद्यालय नछोड्नु मेरो कर्तव्य थियो भन्ने लाग्यो। लगातार एउटै विषयमा तीन–चार जना मानिसले ‘यस्तो भयो है’ भनेर जानकारी दिइरहेका थिए। अरू साथीहरूले पनि त्यस्तै जानकारी दिइरहनुभएको थियो। त्यसपछि त्यो निर्णय गर्नैपर्थ्यो। यो कुनै मजाकको विषय थिएन। अवस्था ठूलो हुन सक्छ भन्ने मैले बुझेँ।

हिजोअस्ति मात्रै त्यहाँ यस्तो घटना भएको थिएन। कसैले विगत साढे दुई सय वर्षअघि पनि यस्तो भएको हुनसक्छ भन्नुहुन्छ, कसैले त्यो बजारमा विद्यालय स्थापना भएको नै ७५–७६ वर्ष भयो भन्नुहुन्छ। तर बजारकै सबैभन्दा बूढो मानिसलाई सोध्दा पनि ‘यस्तो भएको थियो’ भनेर कसैले भन्न सक्ने अवस्था थिएन।

त्यस्तो अवस्थामा पनि यत्रा धेरै मानिसहरूले एउटै कुरा भनिसकेपछि ‘केही गम्भीर हुन सक्छ’ भन्ने सोच मेरो मनमा आयो। त्यसैले यसलाई हामीले बेवास्ता गर्नु हुँदैन भन्ने लाग्यो।

मैले यो कुरा बारम्बार भनिरहेको छु—यो काम मैले एक्लैले सम्भव बनाएको होइन। यसमा मेरो सम्पूर्ण टोलीको भूमिका छ। मेरो चौकीदार तथा सुरक्षा कर्मचारीका रूपमा कार्यरत तुलबहादुर तामाङले धेरैपटक सिटी बजाएर सबैलाई विद्यालय खाली गर्न ठूलो भूमिका खेल्नुभयो। उहाँसँग सुरक्षा सेवामा रहनुभएका अर्का कर्मचारी ठाकुर तामाङले पनि त्यस्तै सहयोग गर्नुभयो।

मलाई छोडेर जानै हुँदैन भनेर सँगै रहनुभएका प्रदीप पण्डित सर, दिलीप खतिवडा सर, त्यही चौरमा रहनुभएका राजकुमार तिमल्सिना, सन्तोषी परियार, नबिना आचार्यलगायतका शिक्षक–कर्मचारी साथीहरूलाई पनि म कहिल्यै बिर्सन सक्दिनँ।

विशेषगरी मैले छात्रावासको जिम्मेवारी सन्तोषी परियार म्यामलाई दिएको थिएँ। उहाँले छात्रावासमा रहेका करिब ३० जना विद्यार्थीलाई आफ्नै छोराछोरीजस्तै सम्झेर उनीहरूसँगै बस्नुभयो। उहाँले आफ्नो परिवारका सदस्यलाई पनि सुरक्षित स्थानतर्फ पठाएर ती विद्यार्थीहरूसँगै बस्नुभएको थियो। उहाँहरूको त्यो जिम्मेवारी र समर्पणलाई म सधैँ सम्झिरहनेछु।

मेरो प्राथमिक तहको भवन चाहिँ अलि माथिल्लो भागमा छ। त्यहाँ कलेजको भवन पनि छ, जहाँ आधा भागमा कलेज र आधा भागमा प्राथमिक तह सञ्चालन हुन्छ। त्यहाँ स्नातक र स्नातकोत्तर तहका कक्षा पनि सञ्चालन हुन्छन्। बाढीले त्यो भवनको छाना नै उडाइसकेको थियो।

प्राथमिक तहका इन्चार्जसँग हामी एउटै भवनमा हाजिर गर्ने भएकाले उहाँ दिउँसो विद्यालय आउँदै हुनुहुन्थ्यो। उहाँ गेटमा आइपुग्नुभन्दा अगाडि नै मैले गेटबाट उहाँलाई भनेँ, ‘बल्लाम सर, आज चाहिँ बाढी आइरहेको छ रे। हामीले बिहानको सत्रका बच्चाहरूलाई फिर्ता गरिसक्यौँ। दिउँसोका लागि पनि बच्चाहरूलाई सम्बन्धित ठाउँमा रोकिराखेका छौँ। तपाईं प्राथमिक तहमा कोही बच्चा छन् कि छैनन् हेर्नुहोस् र उनीहरूलाई पनि घर पठाइदिनुहोस्।’

उहाँ कति कर्तव्यनिष्ठ हुनुहुन्छ भन्ने कुरा त्यहीँ देखियो। बाढी आइरहेको अवस्थामा पनि मैले ‘तपाईं गएर प्राथमिक तहका बच्चाहरूलाई घर पठाउनुस् र त्यसपछि गेटमा बस्नुस्’ भनेँ। उहाँ त्यसै गर्नुभयो। प्राथमिक तहका विद्यार्थीहरूलाई घर पठाएर उहाँ गेटमै बस्नुभयो।

त्यसैले म मात्र ‘वास्तविक नायक’ होइन। वास्तविक नायक त उहाँहरू पनि हुनुहुन्छ। तर फरक यति हो—सम्पूर्ण संस्थाको नेतृत्वकर्ता भएकाले त्यो निर्णय गर्ने जिम्मेवारी ममाथि थियो। त्यसैले निर्णय मैले गरेँ भन्ने कुरा हो। तर त्यसलाई कार्यान्वयन गर्न, विद्यालय खाली गराउन र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन मैले मात्र होइन, मेरो सम्पूर्ण टोलीले सामूहिक रूपमा काम गरेको हो।

त्यो सामूहिक प्रयासकै कारण हामीले विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्यौँ। त्यसैले यसमा मेरो मात्र योगदान छैन, यो सम्पूर्ण टोलीको सामूहिक काम हो।

र लामादाइको कुरा गर्दा—उहाँ अहिले आफैँ सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ। तर त्यस्तो विपत्तिको अवस्थामा पनि विद्यार्थीहरूलाई सुरक्षित रूपमा निकाल्न उहाँहरूले गर्नुभएको प्रयासलाई हामीले सम्झनैपर्छ। लामादाइलाई पनि हामीले बिर्सनु हुँदैन।

उहाँले ‘ल, जाऊ, जाऊ, जाऊ’ भन्दै कक्षा–कक्षा पुगेर विद्यार्थीहरूलाई बाहिर निकाल्नुभयो, सर। तर अन्तिममा उहाँ आफैँ भने निस्कन सक्नुभएन। उहाँलाई म एकदमै सम्झिरहेको छु। उहाँ आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै हराउनुभयो।

मलाई लाग्छ, उहाँले हामीलाई पहिले बाहिर पठाउनुभयो। हामी निस्किएपछि विद्यालयको ढोका लगाउने जिम्मेवारी उहाँको थियो। पालेको काम ढोका लगाउने पनि हुन्छ। उहाँले सायद हामी फेरि विद्यालयमा फर्केर आउँछौँ भन्ने सोच्नुभयो होला। मैले पछाडि फर्केर हेर्दा उहाँलाई देखिनँ। त्यसपछि उहाँ ढोकातिर जानुभएको रहेछ।

मेरो अहिलेको अनुमानमा उहाँ मभन्दा अगाडि पुग्नुभएको थिएन। उहाँ अन्तिमतिर नै हुनुहुन्थ्यो। हामीले उहाँलाई ‘आउनुहोस्’ भनेका पनि थियौँ। त्यसैले उहाँ ढोका लगाउन जानुभएको हुनुपर्छ। उहाँ आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै त्यहीँ रहनुभयो।

हामीले अर्को एक जना शिक्षक साथीलाई पनि गुमाएका छौँ। उहाँ त्यतिबेला विद्यालय आइपुग्नुभएको थिएन। तर बिहान उहाँ विद्यालय आउनुभएको थियो। मैले उहाँलाई आफैँ देखेको थिएँ। उहाँ अतिरिक्त कक्षाहरू पढाउनुहुन्थ्यो। उहाँले बिहान कक्षा लिनुभएको थियो।

उहाँ निम्न माध्यमिक तहका सामाजिक विषयका शिक्षक सन्तोष परियार सर हुनुहुन्छ। उहाँ विद्यालयमा आउनुभएको पनि एक वर्ष पुगेको थिएन। उहाँ बस्ने कोठा मैले अघि भनेको नयाँ पुल नजिकै थियो। बसले पुल पार गर्ने ठाउँमा पुरानो पुल क्षतिग्रस्त भएको कुरा पनि मैले भनेको थिएँ। उहाँ त्यही पुलको बगलमा रहेको घरको भूमिगत कोठामा बस्नुहुन्थ्यो।

त्यतिबेला राति करिब साढे ९ बजेतिर, अर्थात् ९ बजेर २५–२७ मिनेटतिर बाढी आएको थियो। त्यसपछि उहाँलाई करिब साढे ९ बजेतिर फोन गरिएको रहेछ। राजकुमार तिमल्सिना सरले उहाँलाई फोन गर्नुभएको थियो। फोन गएको तर उहाँले नउठाउनुभएको भनेर राजकुमार सरले जानकारी दिनुभयो।

उहाँलाई पनि हामी अहिले सम्झिरहेका छौँ। उहाँ पनि अहिलेसम्म भेटिनुभएको छैन। उहाँ हाम्रो सहकर्मी मित्र हुनुहुन्छ। उहाँ सकुशल भेटिनुहुन्छ भन्ने आशा अझै पनि मैले राखेको छु, किनभने खोजी कार्य जारी छ। अहिलेसम्म उहाँलाई हामीले भेट्टाउन सकेका छैनौँ।

लामा दाइले चाहिँ हामीलाई विद्यालयबाट निकाल्नुभयो। ‘तपाईंहरू जानुहोस्, तपाईंहरू बाँच्नुहोस्’ भनेजसरी उहाँले हामीलाई बाहिर पठाउनुभयो। उहाँ आफैँ भने कर्तव्य पालन गर्दागर्दै त्यहीँ रहनुभयो।

हामी अहिले ‘इन्टेक’ भन्छौँ नि, त्यहाँ त्रिशूली जलविद्युत् आयोजनाको नहर छ। त्यहाँ सुरुङबाट तल पानी जाने व्यवस्था छ। हामी त्यही डाँडातिर उक्लियौँ।

त्यहाँबाट देखिएको दृश्य त अचम्मको थियो। त्यो हामीले कहिल्यै बुझ्न नसक्ने, हेर्न नसक्ने र कल्पनाभन्दा बाहिरको कुरा रहेछ। केही समयअघिसम्म देखिरहेका घरहरू—‘यो फलानोको घर हो, यो फलानोको घर हो’ भनेर चिनिरहेका घरहरू नै त्यहाँ थिएनन्। सबै बगेका थिए।

हाम्रा आफ्नै कर्मचारी, विद्यार्थी र छिमेकीहरूको अवस्था सम्झिँदा झन् पीडा हुन्छ। विडम्बना के थियो भने विद्यालयको ठीक अगाडि मेरो लेखापालको घर थियो। उहाँ नै सुरुमा मलाई बाढी आउँदैछ भनेर जानकारी दिने व्यक्तिमध्ये एक हुनुहुन्थ्यो। उहाँको घरमा उहाँका छोरा, बुबा र आमा हुनुहुन्थ्यो। उहाँका बुबा अलि अशक्त हुनुहुन्थ्यो।

उहाँले के गर्नुभयो भने घरमा भएको स्कुटर निकाल्नुभयो। बुबालाई स्कुटरमा राख्नुभयो। केही सामान पनि बुबाले बोकेर राख्नुभयो। उहाँले बुबालाई लिएर माथि डाँडाको सुरक्षित स्थानमा पुग्नुभयो।

तर उहाँले आमालाई पनि सँगै आउन भन्नुभयो कि भन्नुभएन, अथवा आमा आउँदै गर्दा बेपत्ता हुनुभयो कि—त्यो स्पष्ट भएन। पछि उहाँ आमालाई लिन भनेर फेरि तलतिर झर्न लाग्दा बाढीले आमालाई बगाइसकेको रहेछ। उहाँकी आमा पनि अहिले बेपत्ता हुनुहुन्छ।

मेरो विद्यालयको अगाडि, अहिले हामीले देखिरहेको यो बाटोभन्दा अगाडि पनि एक जना छिमेकी महिला दिदी हुनुहुन्थ्यो। उहाँ पनि बेपत्ता हुनुहुन्छ।

विद्यालय वरपरका छिमेकीहरू—ओल्लो र पल्लो घरका मानिसहरू—धेरै जना बेपत्ता हुनुहुन्छ। उहाँहरूलाई मैले झलझली सम्झिरहेको छु। यहीँ पढ्दाखेरि पनि उहाँहरूलाई ‘ए दिदी’, ‘ए भाउजू’ भनेर आफ्नै नाता र सम्बन्धजस्तो गरेर बोलाउने गर्थ्यौँ। म त्यही विद्यालयको विद्यार्थी पनि थिएँ।

म हिजो विद्यालयमा पढ्न जाँदाखेरि पनि उहाँहरूले त्यहाँ सानो स्टेशनरी तथा किराना पसल सञ्चालन गरिरहनुभएको देखेको थिएँ। उहाँहरूमध्ये एक जना अहिले हाम्रै कर्मचारीकी आमा पनि हुनुहुन्छ। उहाँलाई पनि हामी झलझली सम्झिरहेका छौँ।

विद्यार्थीहरू माथि आए, हामी पनि माथि आयौँ। म त्यहाँ थुचुक्क बसेर एकछिन त्यो दृश्य हेर्दा भक्कानिएँ। साथीहरूले मलाई तान्नुभयो। ‘हेडसर, त्यहाँ नबस्नुस्, नबस्नुस्’ भन्दै मलाई तानेर माथि लैजानुभयो।

त्यसपछि अर्को डर पनि थियो। हामी बीचमा परेका थियौँ। माथिपट्टि नहरको बाँध थियो। तलको भाग त बाढीले लगिसकेको थियो। यदि माथिको बाँध पनि फुट्यो भने हामी फेरि बाढीको बीचमा पर्थ्यौँ। ‘यो पनि फुट्यो भने हामी फेरि मर्छौँ’ भन्ने डर भयो। पानीको बहाव त्यतातिर पनि थियो। त्यसैले हामी त्यहाँबाट अझ माथि गयौँ।

माथि पुगेपछि बाढी फेरि तलतिर गएको देखियो। त्यहाँबाट बटारतिर पनि बाढी गएको थियो। बटारको सेनाको ब्यारेक नजिकै मेरो घर पनि छ। तर बटारतिर मेरो घरपरिवार सुरक्षित हुनुहुन्थ्यो। त्यहाँ खासै समस्या भएन। म सुरक्षित छु भन्ने कुरा उहाँहरूले पनि थाहा पाइसक्नुभएको थियो।

त्यसपछि मैले घरपरिवारलाई त्यति धेरै प्राथमिकता दिइनँ। मेरो प्राथमिकता भनेको माथि आएका विद्यार्थीहरू भए। उनीहरूका परिवार कहाँ छन्, सम्पर्क भयो कि भएन भन्ने अवस्था थिएन। सञ्चार सम्पर्क पनि थिएन।

मैले कर्मचारी साथीहरूलाई पनि भनेँ, ‘अब जे भयो भयो, तपाईंहरूको घरपरिवार आफ्नो ठाउँमा हुनुहुन्छ। अहिले सञ्चार सम्पर्क छैन। त्यसैले हामी विद्यार्थीहरूलाई एकीकृत गरौँ। को–को कहाँ छन्, सकेसम्म खोजौँ र सबैलाई एउटै ठाउँमा राखौँ।’

त्यसमा छात्रावासका वार्डेन र त्यहाँ जानुभएका महिला शिक्षकहरूले ठूलो सहयोग गर्नुभयो। छात्रावासका वार्डेनले छात्रावासमा रहेका विद्यार्थीहरूलाई एकीकृत गरेर राख्नुभयो। दिनेश अधिकारी सरलगायत अन्य शिक्षक तथा शिक्षिकाहरूले पनि विद्यार्थीहरूलाई ‘कतै पनि नछरिऔँ, सबै एकै ठाउँमा बसौँ’ भनेर सम्झाउनुभयो।

त्यसरी विद्यार्थीहरूलाई एकीकृत गरिसकेपछि बेलुकीसम्म हामीसँग करिब ६०–६५ जना विद्यार्थी थिए। अरू केही विद्यार्थीलाई स्पार्कल बोर्डिङ स्कुलले पनि दुई–तीन दिनसम्म आश्रय दिएको थियो। केही विद्यार्थी आफ्ना आफन्त वा चिनेका मानिसहरूको घरमा बसेछन्। तर करिब ६०–६५ जना विद्यार्थी हामीसँगै बसे।

त्यो दिन हामीले एउटा चर्चमा बस्ने व्यवस्था मिलायौँ। हामीसँग १७–१८ जना कर्मचारी पनि हुनुहुन्थ्यो। चर्च दुई तले थियो। तल्लो तलामा महिला र माथिल्लो तलामा पुरुषहरू बस्ने व्यवस्था गरियो। स्थानीय भाइहरूले त्यहाँको छानायुक्त हलमा खाना पकाएर बेलुका हामीलाई खुवाउनुभयो।

बिहानसम्म त हामीसँग खानेकुरा पनि थिएन। त्यसपछि दिनभरि विद्यार्थीहरूको खोजी गरियो।

मैले सबैलाई अर्को निर्देशन पनि दिएँ। ‘कतै विद्यालयको पोसाक लगाएको विद्यार्थी देख्यौ भने उसलाई बोलाएर तानिहाल्नू,’ भनेँ। ठूलो संख्यामा विद्यार्थी भएकाले सबैलाई नामले चिन्न सम्भव थिएन। त्यसैले मैले भनेँ, ‘विद्यालयको पोसाक लगाएको विद्यार्थी देख्यौ भने उसलाई रोक्नू, हामी कहाँ बसिरहेका छौँ भनेर सोध्नू र हामीसँगै ल्याउनू।’

त्यसरी हामीले डाँडामाथि रहेका विद्यार्थीहरूलाई सकेसम्म एकीकृत गर्ने प्रयास गर्यौँ। मैले अघि उल्लेख गरेको फुटेको बस पनि त्यही क्षेत्रमा थियो।

त्यो दृश्य त अचम्मको थियो। हामीले कहिल्यै बुझ्न नसक्ने, हेर्न नसक्ने र कल्पनासमेत गर्न नसकेको अवस्था रहेछ। केही समयअघिसम्म देखिरहेका घरहरू—‘यो फलानोको घर हो, यो फलानोको घर हो’ भनेर चिनिरहेका घरहरू—त्यहाँ थिएनन्। सबै बगेका थिए।

आफ्ना कर्मचारी, विद्यार्थी र छिमेकीहरूको अवस्था सम्झिँदा झन् पीडा हुन्थ्यो। विडम्बना के थियो भने विद्यालयको ठीक अगाडि मेरो लेखापालको घर थियो। उहाँ नै सुरुमा मलाई बाढी आउँदैछ भनेर जानकारी दिने व्यक्तिमध्ये एक हुनुहुन्थ्यो। उहाँको घरमा उहाँका छोरा, बुबा र आमा मात्रै हुनुहुन्थ्यो। उहाँका बुबा अलि अशक्त हुनुहुन्थ्यो।

उहाँले स्कुटर निकालेर बुबालाई त्यसमा राख्नुभयो। केही सामान पनि बुबाले बोक्नुभयो। उहाँले बुबालाई लिएर माथि डाँडामा सुरक्षित स्थानमा पुग्नुभयो। तर उहाँकी आमा के कारणले तलै रहनुभयो, उहाँले आमालाई आउन भन्न भ्याउनुभएन कि, अथवा आमा आउँदै गर्दा बेपत्ता हुनुभयो कि—त्यो स्पष्ट भएन। पछि उहाँ आमालाई लिन भनेर फेरि तलतिर झर्न लाग्दा बाढीले उहाँकी आमालाई बगाइसकेको रहेछ। उहाँकी आमा पनि अहिले बेपत्ता हुनुहुन्छ।

मेरो विद्यालयको अगाडि, अहिले हामीले देखिरहेको यो बाटोभन्दा अगाडि पनि एक जना छिमेकी महिला दिदी हुनुहुन्थ्यो। उहाँ पनि बेपत्ता हुनुहुन्छ। विद्यालय वरपरका छिमेकीहरू, ओल्लो–पल्लो घरका मानिसहरू धेरै जना बेपत्ता हुनुहुन्छ। उहाँहरूलाई म झलझली सम्झिरहेको छु।

यहीँ पढ्दाखेरि पनि उहाँहरूलाई हामी ‘ए दिदी’, ‘ए भाउजू’ भनेर नाता र सम्बन्धकै रूपमा बोलाउँथ्यौँ। म त यही विद्यालयको विद्यार्थी पनि थिएँ। हिजो पढ्न जाँदा पनि उहाँहरूले त्यहाँ सानो स्टेशनरी तथा किराना पसल सञ्चालन गरिरहनुभएको देखेको थिएँ। उहाँहरूमध्ये एक जना अहिले हाम्रै कर्मचारीकी आमा पनि हुनुहुन्छ। उहाँलाई पनि हामी झलझली सम्झिरहेका छौँ।

विद्यार्थीहरू माथि आए, हामी पनि माथि आयौँ। म त्यहाँ थुचुक्क बसेर एकछिन त्यो दृश्य हेर्दा भक्कानिएँ। साथीहरूले मलाई तान्दै ‘हेडसर, त्यहाँ नबस्नुस्, नबस्नुस्’ भन्नुभयो।

त्यसपछि अर्को डर पनि थियो। हामी बीचमा परेका थियौँ। माथिपट्टि नहरको बाँध थियो। तलको भाग त बाढीले लगिसकेको थियो। त्यहाँ पानीको बहाव पनि थियो। ‘माथिको बाँध पनि फुट्यो भने हामी फेरि बाढीको बीचमा पर्छौँ, हामी फेरि मर्न सक्छौँ’ भन्ने डर भयो। त्यसैले हामी त्यहाँबाट अझ माथि गयौँ।

माथि पुगेपछि बाढी फेरि तलतिर गएको देखियो। बटारतिर पनि बाढी गएको थियो। बटारको सेनाको ब्यारेक नजिकै मेरो घर पनि छ। तर बटारतिर मेरो घरपरिवार सुरक्षित हुनुहुन्थ्यो। त्यहाँ खासै समस्या भएन। म सुरक्षित छु भन्ने कुरा घरपरिवारले पनि थाहा पाइसक्नुभएको थियो।

त्यसपछि मैले घरपरिवारलाई त्यति धेरै प्राथमिकता दिइनँ। मेरो प्राथमिकता भनेको माथि आएका विद्यार्थीहरू भए। विद्यार्थीहरू माथि आएपछि उनीहरूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामै ध्यान केन्द्रित भयो।

हामीले बसलाई पनि प्रयोग गर्यौँ। हामीलाई सुत्ने र खाना खाने ठाउँसम्म लैजान बस प्रयोग गरिएको थियो। बसका चालक पनि त्रिशूली बजारकै हुनुहुन्थ्यो। उहाँको पनि सम्पूर्ण परिवार विस्थापित भएर माथि बसिरहेको थियो। मैले उहाँलाई बस चलाउन लगाएँ। हामी खाना खाने ठाउँ र सुत्ने ठाउँ केही फरक–फरक स्थानमा भएकाले बसको प्रयोग गर्यौँ। त्यसपछि म पनि त्यही चर्चमा भाइबहिनीहरूसँगै सुतेँ।

त्यो रात निकै कठिन थियो। राति धेरै ढिलो भएपछि वरपरका मानिसहरूले ‘फेरि ठूलो बाढी आयो रे, भागौँ, भागौँ’ भन्न थाले। अब त्यहाँबाट माथि पनि कहाँ जाने, सर? रातको समय थियो, त्यत्रा बच्चाहरू हामीसँग थिए। पानी परिरहेको थियो।

मैले सोचेँ, ‘अब यहाँ पनि बाढी आयो भने हामी कहाँ जाने? राति त्यत्रा बच्चाहरू लिएर म जान सक्ने ठाउँ पनि त छैन।’ करिब ६५–७० जना मानिसलाई लिएर राति पानी परिरहेका बेला कहाँ जाने भन्ने अवस्था थियो।

बत्ती थिएन, गर्मी पनि थियो। मेरो फोन पनि लगभग बन्द हुने अवस्थामा थियो। त्यस दिन धेरै फोन आएका थिए। त्यसपछि साथीहरूको घरतिरबाट पनि खबर आइरहेको थियो। बटारतिरबाट मानिसहरू भागाभाग गरिरहेका थिए, गङ्गातिर गइरहेका थिए र त्यहाँबाट डाँडामाथि उक्लिसकेका थिए।

मलाई घरपरिवारको पनि चिन्ता लागिरहेको थियो। तर सञ्चार सम्पर्क थिएन। मैले सोचेँ, ‘यदि यहाँसम्म बाढी उक्लिने हो भने मलाई पनि बगाउँछ, मेरो घरपरिवारलाई पनि बगाउँछ। यहाँसम्म बाढी नआउने हो भने हामीलाई पनि केही हुँदैन।’ त्यसैले त्यहीँ बस्ने निर्णय गर्यौँ।

बिहान भएपछि नजिकै जिल्ला अस्पताल थियो। अहिलेको अवस्थाअनुसार पनि त्यही क्षेत्रतिर पर्छ। जिल्ला अस्पतालमा गएर मोबाइल चार्ज गरेँ। त्यहाँ जेनेरेटरको सुविधा रहेछ। मोबाइल चार्ज गरिसकेपछि साथीहरूसँग अलिअलि सम्पर्क हुन थाल्यो।

त्यसपछि भोलिपल्ट दिनभरि हेलिकप्टरमार्फत विद्यार्थीहरूलाई अन्यत्र लैजान सकिन्छ कि भनेर साथीहरूसँग सम्पर्क र समन्वय गरिरहेँ। तर मलाई अर्को कुरा पनि लाग्यो—मैले विद्यार्थीहरूलाई वारिपट्टि सुरक्षित राखेको छु। भात खान नपरे पनि गाउँबाट मागेर भए पनि खुवाउन सकिन्छ। त्यसैले धेरै मानिसको भीड बनाएर हेलिकप्टरमा विद्यार्थीहरूलाई अन्यत्र सार्नुभन्दा मानवीय उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नु त्यतिबेला ठूलो कुरा हो भन्ने महसुस गरेँ।

त्यस दिन मैले विद्यार्थीहरूलाई ‘लैजानुहोस्, लगिदिनुहोस्’ भनेर पहल गरिनँ। पहिलो दिन त कुरै भएन। दोस्रो दिन पनि मैले त्यस्तो पहल गरिनँ। दोस्रो दिन भने केही मानिसलाई ल्याउने–लाने काम भयो।

हामी त्रिशूलीपारि परेका थियौँ। त्रिशूलीवारि परेका भाइबहिनीहरूका अभिभावकहरू पारिपट्टि घरमा हुनुहुन्थ्यो। उहाँहरू पनि आफ्ना छोराछोरी भेट्न जानुभयो। अवस्था निकै अस्तव्यस्त थियो। सबैजना रोइरहेका थिए।

त्यो दिन हेलिकप्टरले दुईपटक ओहोरदोहोर गर्यो—उतापट्टिका मानिसलाई यता ल्याउने र यताका मानिसलाई उता लैजाने काम भयो। त्यही क्रममा हाम्रा तीन जना विद्यार्थीले पनि ‘हामी जान सक्छौँ’ भने।

मैले ‘ल, सक्छौ भने जाऊ। म आज आफैँ लैजान्छु भन्दिनँ। तिमीहरू आफ्नै पहलमा त्यहाँ गएर जाने हो भने जाऊ’ भनेँ। त्यसपछि तीन जना विद्यार्थी उतापट्टिबाट यतापट्टि आए।

ती तीन जना विद्यार्थी आएपछि भने मलाई झन् ठूलो दबाब महसुस भयो।

तीन जना अरू विद्यार्थी गइसकेपछि बाँकी विद्यार्थीहरूले पनि ‘हामीचाहिँ कहिले जाने?’ भनेर सोध्न थाले। त्यसपछि मैले भोलिपल्ट विद्यार्थीहरूलाई ल्याउने–लैजाने आदानप्रदान कार्यक्रम गर्न सकिन्छ भने गरौँ भनेर नगरप्रमुखज्यूलाई भनेँ।

हाम्रो विद्यालयमा एसियाली विकास बैंकका तर्फबाट अहिले पनि परामर्शदाताका रूपमा जोडिनुभएका प्रमोद भट्ट सरलाई पनि म सम्झन चाहन्छु। एसियाली विकास बैंकले हाम्रो विद्यालयमा लगानी गरिरहेको छ। अहिले हामी नमुना विद्यालयका रूपमा विज्ञान प्रविधि प्रयोगसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ। उहाँले ‘के छ अवस्था?’ भनेर सोध्नुभयो। मैले ‘यही छ सर, बच्चाहरू त्यहीँ छन्। अब उनीहरूलाई कसरी ल्याउन सकिन्छ?’ भनेँ। उहाँले पनि ‘म आफ्नो ठाउँबाट पहल गर्छु’ भन्नुभयो।

त्यसको केही समयपछि स्थानीयहरूले र हाम्रा वडा अध्यक्षज्यूले पनि मलाई जानकारी दिनुभयो। ‘यतापट्टिबाट विद्यार्थी जाँदैछन्। एउटा पटकमा १५–२० जनाजति विद्यार्थी बोक्न सक्ने ठूलो हेलिकप्टर आउँछ। उताबाट पनि तपाईंले १५–१७ जना विद्यार्थी पठाइदिनुस्’ भनेर वडा अध्यक्षज्यूले भन्नुभयो। यस विषयमा नगरप्रमुखज्यूसँग पनि कुराकानी भइरहेको थियो।

त्यसपछि उताबाट विद्यार्थी आउने र यताबाट विद्यार्थी लैजाने क्रम सुरु भयो। विद्यार्थी त विद्यार्थी नै भए। उताबाट विद्यार्थी आएपछि हामीले यताबाट पनि विद्यार्थी राखेर पठायौँ। यसरी आदानप्रदान गर्दै गर्दा ‘विद्यार्थीसँग हेडसर पनि जाऊँ’ भनेर म पनि आएँ।

तर मेरा कर्मचारी साथीहरूलाई भने अघिल्लो दिन, अर्थात् भदौ १० गते, मोटरसाइकल भएकाहरू माथितिर उक्लिनुभएको थियो। माथिल्लो विद्यालयका कर्मचारी र अन्य विद्यालयका कर्मचारीहरू पनि त्यसरी मोटरसाइकलमा आउँदा–जाँदा करिब ३० वटा मोटरसाइकल पुगेछन्।

हाम्रा साथीहरू पनि गल्छीतिरबाट घुमेर आउने बाटो हुँदै करिब सात घण्टा लगाएर दोस्रो दिनमै आइपुग्नुभएको थियो। मेरो छात्रावासका वार्डेन अनिल पाण्डे सरले मलाई ठूलो सहयोग गर्नुभयो। उहाँसँगै दिनेश अधिकारी, मनोज राउत, विजय शाह सरलगायतका साथीहरू हुनुहुन्थ्यो।

अरू साथीहरूलाई मैले ‘तपाईंहरू जानुहोस्’ भनेको थिएँ। उहाँहरूले भने ‘हामी जाँदैनौँ, हेडसरलाई छोड्दैनौँ।’ मेरो टोली त्यस्तो छ, सर। उहाँहरूले ‘हेडसरलाई एक्लै छोडेर हामी कहाँ जाने?’ भन्नुभयो।

मैले उहाँहरूलाई भनेँ, ‘तपाईंहरू यहीँ बस्नुभयो भने तपाईंहरूको पनि खानाको व्यवस्था गर्नुपर्छ। यहाँ अहिले केही पाइँदैन, बत्ती छैन, खानेकुरा छैन। बरु उतापट्टि जानुहोस् र उताबाट यता ल्याउन के गर्न सकिन्छ, त्यसको पहल गर्नुहोस्।’

नदी वारपार सञ्चारसम्पर्क हुने अवस्था पनि थिएन। अहिले पनि सञ्चार सम्पर्क सहज छैन। हिजो त्यहाँ तुइन हालिरहेको देखियो, आज तुइन तानेर सामान वारपार गर्ने व्यवस्था गरिएको छ। औषधि तथा अन्य सामग्री पनि वारिपारि पठाउनुपर्ने भएकाले तुइनको व्यवस्था गरिएको हो।

त्यस्तो अवस्थामा केही साथीहरू अलि–अलि गरेर हामीसम्म आइपुग्नुभयो। हामी पनि बाँकी रहेका साथीहरूसँगै हेलिकप्टरबाट यतापट्टि आयौँ।

यता आएपछि अर्को समस्या देखियो। हाम्रा ११ जना विद्यार्थी आफन्त वा आफूलाई मन पर्ने साथीहरूको घरमा बसेका रहेछन्। उनीहरू हाम्रो सम्पर्कमा आएका थिएनन्। हेलिकप्टरबाट विद्यार्थीहरूलाई लैजाने भएपछि उनीहरू छुट्टिने अवस्था आयो।

उनीहरूले मलाई ‘सर, हामी त छुट्टै छौँ। तपाईंहरू जानुहोस्, हामी छुट्टै बस्छौँ’ भने। संकटको समयमा उनीहरूलाई धेरै दबाब दिन पनि भएन। तर उहाँहरूसँग समन्वय गरेर ती विद्यार्थीहरूलाई पनि यतापट्टि ल्याइयो।

अस्ति र हिजो केही समय सञ्चारमाध्यमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साथीहरूसँग पनि कुराकानी भयो।

त्रिशूली बजारभित्रका धेरै परिवारको अवस्था अझै सन्तोषजनक छैन। मैले भेट्टाएको एक जना विद्यार्थी अविनाश नेपाली हुनुहुन्छ। उहाँकी आमासहित मेरो कक्षा ११ मा पढ्ने भाइ विद्यालयबाट निस्किएर घर जानुभएको रहेछ। उहाँको घर पुलको छेउमा थियो। अहिले उहाँ सम्पर्कमा हुनुहुन्न। मेरो अभिलेखअनुसार उहाँ पनि बेपत्ता हुनुहुन्छ।

कतिपय विद्यार्थीका अभिभावक नै सम्पर्कमा हुनुहुन्न। एउटा छात्राको अवस्था झन् दुःखद छ। उहाँ हाम्रो छात्रावासमा बस्नुहुन्छ। हामी सबैलाई उद्धार गरेर माथि लगिसकेका थियौँ। उहाँको घर रसुवाको स्याफ्रुबेँसीभन्दा पनि माथि रहेछ। त्यो घर तथा आसपासको क्षेत्र नै बाढीले बगाएको छ।

मेरो जानकारीअनुसार उहाँकी आमा मात्रै माथि भाग्न सफल हुनुभएको भन्ने खबर छ। उहाँका बुबा उहाँ सानै हुँदा बितिसक्नुभएको रहेछ। उहाँ छ जना दिदीबहिनीमध्ये एक जना दिदी काठमाडौँमा हुनुहुन्छ, अरूको अवस्था पनि स्पष्ट छैन।

दोस्रो दिन ती नानीलाई कसैले त्यो खबर सुनाइदिएछ। उहाँको अवस्था निकै कठिन भयो। मैले ‘ल, नानी, हिँड, म आफैँ लिएर जान्छु। हामीसँगै बस’ भनेँ। त्यसपछि उहाँकी दिदीले सम्पर्क गर्नुभयो र उहाँलाई काठमाडौँ ल्याएर राख्नुभयो।

विद्यार्थीहरूको अवस्था त्यस्तो पनि छ। कतिपयका अभिभावक छैनन्, कतिपयको घर छैन। कतिपय विद्यार्थी माथि सुरक्षित स्थानमा पुगेका छन् भने उनीहरूका अभिभावक तलतिर छन्। कतिपयका बालबालिका माथि छन्, अभिभावक तल छन्। यस्तो जटिल अवस्था छ, सर।

म पनि सेनाको ब्यारेकतिर झरेँ। मसँग केही विद्यार्थी पनि झरे। त्यहाँ मलाई भेट्न शुभचिन्तकहरू आउनुभयो। म शिक्षक पनि हुँ, समाजमा मैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्यो।

मेरो घरपरिवारले पनि ‘कतिबेला आउनुहुन्छ, हामी गेटमै छौँ’ भनेर खबर गरिरहनुभएको थियो। मेरा बुबा, आमा, श्रीमती, छोरा, भाइलगायत परिवारका सदस्यहरू गेटमा आइपुग्नुभएको रहेछ। तर म त्यहाँभित्रै करिब तीन घण्टा बसेँ।

म बाहिरबाट आएपछि पनि उद्धार तथा राहतसँग सम्बन्धित कामहरू भइरहेका थिए। उतापट्टि जाने र यतापट्टि आउने मानिसहरूको व्यवस्थापन गर्नुपर्ने थियो। कसलाई के भयो, को कहाँ छ भन्ने जानकारी लिनुपर्ने थियो। त्यही काममा व्यस्त हुँदा करिब तीन घण्टापछि मात्रै बाहिर निस्किएँ।

बाहिर आएपछि परिवारसँग भेट भयो। मेरो परिवारका लागि त्यो क्षण निकै भावुक थियो। ‘हाम्रो छोरा, श्रीमान्, बुबा बाँचेर फर्किनुभयो, उहाँले नयाँ जीवन पाउनुभयो’ भन्ने खुसी उहाँहरूको अनुहारमा देखिन्थ्यो। मैले पनि परिवारसँग पुनर्मिलन हुँदा आफूलाई सम्हाल्न सकिनँ। केही समय निकै भावुक भएँ।

त्यो पुनर्मिलन हुने कुरा त हामीले सोचेका पनि थिएनौँ। पछाडि फर्केर हेर्दा सबै कुरा बगेको छ, सबै नष्ट भएको छ। यस्तो अवस्थामा परिवारसँग भेटिन पाउनु भनेको नयाँ जीवन पाउनुजस्तै रहेछ। साँच्चै, हामीले नयाँ जीवन पाएका छौँ, सर।

हाम्रो विद्यालयमा १ हजार ६ सय ४३ जना विद्यार्थी छन्। तीमध्ये करिब ९ सय विद्यार्थी विद्यालयबाट फर्किँदै गर्दा बाटोमा अरू मानिसलाई पनि जोगाउन पुगे। विद्यालय बिदा भएपछि हामीले बसहरू पनि सम्बन्धित ठाउँमा रोक्यौँ।

यदि ती बसहरू नरोकेको भए, मैले अघि भनेको डे–सिफ्टका विद्यार्थीले भरिएको बस विद्यालयमा आइसकेको थियो। ती विद्यार्थीहरू साना भए पनि दौडिन सक्ने उमेरका थिए। मैले उनीहरूलाई ‘विद्यालय बिदा भयो, बाढी आउँदैछ रे, घरतिर जाऊ’ भनेर पठाउन सक्थेँ।

तर त्यही अवस्था नर्सरीका साना बालबालिकाको समयमा परेको भए के हुन्थ्यो? नर्सरीका बच्चालाई ‘दौड’ भनेर उनीहरू कहाँ दौडिन सक्थे? बिहानको सत्रका विद्यार्थीहरू भने उमेरका हिसाबले पनि ११–१२ वर्षभन्दा माथिका थिए। कक्षा ८ पढ्ने विद्यार्थी करिब १३–१४ वर्षका थिए भने केही विद्यार्थी १९–२० वर्षसम्मका थिए। त्यसैले उनीहरूलाई ‘दौड’ भन्दा दौडिन सके, ‘जाऊ’ भन्दा जान सके।

यदि ती बसहरूमा रहेका विद्यार्थीलाई समयमा नपठाएको भए, अथवा उनीहरूलाई फर्किँदै गर्दा विद्यालय बिदा भएको र बाढी आउन लागेको जानकारी नदिएको भए अवस्था झन् भयावह हुन सक्थ्यो।

मेरो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक जना पुस्तक व्यवसायी पनि हुनुहुन्छ। उहाँले पनि आफ्नो छोराले विद्यालयबाट घर फर्किएपछि बाढी आउँदैछ भनेर परिवारलाई जानकारी दिनुभयो। त्यसपछि उहाँहरूले पनि घरका सामानहरू जोगाएर माथितिर लैजान थाल्नुभयो।

सुरुमा तपाईंले मलाई फोन आएको कुरा मात्रै सोध्नुभएको थियो। हाम्रो कुराकानी त्यहीँसम्म भएको थियो। त्यो फोन करिब बिहान ९ बजेर १० मिनेटतिर आएको थियो। त्यसपछि करिब १५ मिनेटभित्रै हामीले विद्यालय खाली गरिसकेका थियौँ।

यदि हामीले अलि ढिलो गरेर ‘एकछिन हेरौँ, बाढी कहाँसम्म आएको छ’ भनेर बसेको भए अवस्था अर्कै हुन सक्थ्यो। हाम्रो छिमेकमा त्रिशूली सामुदायिक विद्यालय पनि छ। अर्को एउटा निजी विद्यालय पनि छ। त्यहाँ पनि ठूलो मानवीय क्षति भएको जानकारी मैले पाएको छैन। उहाँहरूले पनि विद्यार्थीहरूलाई समयमा नै सुरक्षित स्थानमा पुर्‍याउन सफल हुनुभएको हुनुपर्छ।

शिक्षक भनेको समाजकै एउटा सदस्य हो। शिक्षक भनेको कक्षाकोठामा पढाउने एउटा प्रशिक्षक मात्रै होइन। मैले हरेक ठाउँमा भन्ने गरेको छु—शिक्षकले आफूलाई दिइएको विषयवस्तु पढाउने काम त गर्छ नै, तर समाजलाई हरेक कोणबाट बुझ्न र त्यसअनुसार आफ्नो भूमिका निर्वाह गर्न पनि सक्नुपर्छ।

अहिले पार्किङको विषयमा पनि एउटा घटना भयो। हाम्रा एक जना चालकले बिहान मलाई फोन गर्नुभयो। उहाँले अघिल्लो दिनहरूमा बसमै सुत्नुभएको रहेछ। उहाँको आफ्नै घर पनि बगेको छ। उहाँ पनि पीडित हुनुहुन्छ। उहाँ त्रिशूली बजारकै स्थानीय बासिन्दा हुनुहुन्छ।

उहाँको परिवार माथि सुरक्षित स्थानमा बसेको थियो। गाउँ नै बगेपछि मैले उहाँलाई ‘बिनोद, एउटा कोठा खोज्नुस्, अब माथि नै बस्नुपर्ला’ भनेको थिएँ। उहाँले त्यहाँ एउटा घरमा कोठा खोज्नुभयो र परिवारलाई राख्ने व्यवस्था गर्नुभयो।

त्यसपछि बस त्यही घरको अगाडि पार्किङ गरेर राख्नुभएको रहेछ। बिहान हेर्दा बसको पछाडिको एउटा सिसा ढुंगाले हानेर फुटाइएको रहेछ। पानी पनि त्यहीँबाट भित्र पसिरहेको रहेछ। उहाँले त्यसको फोटो खिचेर मलाई पठाउनुभयो र ‘अब के गर्ने?’ भनेर सोध्नुभयो।

त्यो देख्दा मेरो मनमा अर्कै कुरा आयो। हामी यस्तो विपत्तिमा छौँ। हाम्रो सम्पत्तिका रूपमा बाँकी रहेको यो बस पनि भारत सरकारको सहयोगमा प्राप्त भएको हो।

ती पापीहरू, जसको मनमा अझै पनि पाप छ, उनीहरूले ‘यो भत्कियो, यो जल्यो, यो खरानी भयो’ भन्ने सोचिरहेका होलान्। तर त्रिभुवन त्रिशूली खरानी भएको छैन। यो इतिहास हो, यो एउटा विरासत हो।

भदौ १० गते घटना भएको थियो, अहिले भदौ १५ गते हुँदैछ। म यो विद्यालय फेरि बनाउनुपर्छ, अझ राम्रो विद्यालय बनाउनुपर्छ भन्ने अठोट र धैर्यका साथ आज राति पनि तपाईंसँग बसेर कुरा गरिरहेको छु।

त्यसकारण, कसैले एउटा बस फुटायो भने मेरो लागि त्यो एउटा बस फुटाएको संकेत मात्रै होइन। त्यो विद्यालयमा अब दस वटा बस थपिनुपर्छ भन्ने संकेत हो। ती मान्छेहरूलाई म ‘मानव’ भन्न पनि चाहन्नँ। मानवले यस्तो काम गर्दैन। उहाँहरूले त्रिशूलीमा एउटा बसको पछाडिको सिसा फुटाउँदै गर्दा मैले त्यसलाई सकारात्मक रूपमा लिएको छु—‘तपाईंहरूले हामीलाई अझ विकास गर्न प्रेरणा दिनुभयो’ भनेर।

समाजमा अहिले सकारात्मकता हराउँदै गएको छ। हामीले यसलाई सकारात्मक सन्देशमा बदल्नुपर्छ। उहाँहरू बिगार्न लाग्नुहुन्छ भने हामी अझ राम्रो बनाउँदै जान्छौँ।

आज बिहान पनि एउटा महत्त्वपूर्ण फोन आयो। हिजो मैले फोन गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन। आज बिहान पौने ६ बजे नगरप्रमुखज्यूले मलाई फोन गर्नुभयो। उहाँले हिजो मेरो फोनमा फोन गर्नुभएको रहेछ, छुटेको फोनको सूचना देखेपछि आफूले फर्काएर फोन गरेको बताउनुभयो।

मैले उहाँलाई भनेँ, ‘अब १५ दिनका लागि मैले तपाईंलाई अनुरोध गर्न खोजेको हुँ। तपाईंले विद्यालय बन्द गरिदिनुभयो भने मेरा विद्यार्थीहरू कहाँ जाने? अरू विद्यालयमा जान सक्ने विद्यार्थीहरू त अन्यत्र जान्छन्, तर मेरा विद्यार्थीहरूको विद्यालय नै रहेन भन्ने अवस्था हुन्छ।’

उहाँले ‘१५ दिनमा विद्यालय बनाउनुहुन्छ त?’ भनेर सोध्नुभएको थियो कि भन्ने मलाई ठ्याक्कै सम्झना छैन, तर मलाई एउटा आत्मविश्वास छ—सञ्चार तथा सडक सम्पर्क स्थापित भयो भने हामी विद्यालय चलाउन सक्छौँ।

हाम्रो विद्यालय दुई भागमा बाँडिएको छ। विद्यार्थीहरू पनि दुईतिर छन्। म अहिले त्रिशूलीवारि आएको छु। करिब ६५–७० प्रतिशत विद्यार्थी त्रिशूलीपारिका छन् भने करिब ३०–३५ प्रतिशत विद्यार्थी वारिपट्टिका छन्।

अहिले विद्यालय सञ्चालन भइरहेको ठाउँ बगरमा परिणत भएको छ। त्यही ठाउँमा फेरि विद्यालय खोल्ने, अस्थायी सिकाइ केन्द्र बनाउने र त्यहीँबाट विद्यालय चलाउँछु भन्नु मूर्खता हुन्छ। हामीले सुरक्षित स्थान खोज्नुपर्छ।

तर त्यो ठाउँसम्म पुग्ने सडक तथा सञ्चार सम्पर्क नै बनेन भने अरू विद्यालय पनि सञ्चालन हुन सक्दैनन्। वारिका विद्यार्थी उताका विद्यालयमा र उताका विद्यार्थी वारिका विद्यालयमा जाने अवस्था छ। विद्यालयहरूबीच आदानप्रदान पनि भइरहेको छ।

त्यसैले सडक तथा सञ्चार सम्पर्क स्थापित भयो भने मलाई ठूलो आँट छ। नेपाल सरकार त लागेकै छ, विश्व समुदायले पनि सहयोग गरिरहेको छ। सरकारले विद्यालय पुनर्निर्माण गर्छ भन्ने मेरो विश्वास छ।

सडक सम्पर्क स्थापित भयो भने १५ दिनभित्रै पनि म कक्षा सञ्चालन गर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ। आज दिनभरि भएका बैठक, साथीहरूसँग भएका कुराकानी र विभिन्न पक्षसँगको समन्वयले मलाई अझ हौसला दिएको छ।

म अझ राम्रो विद्यालय बनाउँछु। मैले सेतोपाटीलाई विस्थापित गरेर स्मार्ट पाटी सुरु गर्ने तयारी गरिरहेको थिएँ। मसँग १४–१५ वटा स्मार्ट पाटी पनि थिए। अब विद्यालय पुनर्निर्माण गर्दा २० वटा स्मार्ट पाटी राखेर नयाँ ढङ्गबाट कक्षा सञ्चालन गर्न सक्छु।

विश्वास यही हो, सर—एकले अर्कालाई विश्वास गर्नुपर्छ। एकले अर्कालाई सकारात्मक रूपमा लिनुपर्छ। अब सहयोग कहाँ गर्ने त? विद्यालयमा गर्ने हो। दोस्रो जीवन पाएका ती बालबालिकालाई सहयोग गर्ने हो। यो संस्थाले दोस्रो जीवन पाएका बालबालिकालाई सहयोग गर्नुपर्छ।

दोस्रो जीवन पाएका शिक्षकहरूले त्यहाँ पढाउनेछन्। दोस्रो जीवन पाएका शिक्षकहरूले विद्यार्थीलाई ज्ञान दिनेछन्। र दोस्रो जीवन पाएको प्रधानाध्यापकले त्यहाँ नेतृत्व गर्नेछ।

एउटा कुरा चाहिँ म आफ्ना विद्यार्थीलाई अनुभूति गराउन चाहन्छु—‘तिमीहरू जस्तोसुकै कठिन परिस्थितिमा परे पनि तिम्रो प्रधानाध्यापक, तिम्रो विद्यालय र तिम्रो विद्यालयरूपी घरको अभिभावकले तिमीहरूलाई कहिल्यै छोड्दैन।’

किनभने खोलाको बीचमा पनि मैले विद्यार्थीलाई छोडिनँ। अब डाँडामा पुगेपछि त झन् छोड्दिनँ।

तपाईंले मेरो आत्मबल देखेर मलाई सम्मान गर्न मन लागेको भन्नुभयो। अवस्था यस्तो छ—पहिलेको विद्यालय त्यहाँ थियो, अहिले त्यहाँ बगर मात्रै छ। तर पनि मेरो आत्मविश्वासलाई यो बाढीले बगाउन सकेको छैन।

सुरक्षित ठाउँका विषयमा मैले नेपाल सरकारलाई पनि यही कुरा भनेको छु। माननीय गृहमन्त्रीज्यूले पनि मलाई भेटेरै ‘विद्यालय बनाउनुपर्छ, तपाईं विद्यालय बनाउन लाग्नुस्, सरकारले सहयोग गर्छ’ भन्नुभएको छ। उहाँ देश बनाउन लाग्नुभएको छ, म एउटा विद्यालय बनाउन लागिरहेको छु। के नसक्ने कुरा छ र? विद्यालय बन्छ।

त्यसका लागि सडक तथा सञ्चार सम्पर्क चाहियो। सडक सम्पर्क भएपछि हामी योभन्दा राम्रो विद्यालय बनाउँछौँ। सुरुदेखि नै हामीले विद्यालयलाई डिजिटल विद्यालयका रूपमा विकास गर्ने प्रयास गरेका थियौँ। कालोपाटीलाई हटाएर सेतोपाटी बनायौँ, त्यसपछि विस्तारै १५–१७ वटा स्मार्ट पाटीबाट कक्षा सञ्चालन गर्न थाल्यौँ। अब २० वटा स्मार्ट पाटीबाट नयाँ कक्षाको सुरुवात गर्छौँ। त्यो आत्मविश्वास मसँग छ।

उहाँहरूले बसमा ढुंगा हान्नुभयो। उहाँहरूलाई लाग्यो होला—‘अब यसको केही पनि बाँकी रहेन, अब यसले बस चलाउन सक्दैन।’ तर त्यसको केही समयमै साथीहरूले मलाई फोन र सन्देश पठाउन थाल्नुभयो—‘तपाईंलाई कतिवटा बस चाहिन्छ? हामी बस दिन्छौँ।’

मैले त बस कति चाहिन्छ भनेर सोचेकै थिइनँ। मसँग भएका बसको अवस्थाबारे सोचिरहेको थिएँ। तर जब साथीहरूले ‘कतिवटा बस चाहिन्छ?’ भनेर सोध्न थाल्नुभयो, त्यसपछि मलाई लाग्यो—अब त आवश्यक परे जति बसको व्यवस्था गर्न सकिन्छ।

हाम्रो मात्रै क्षति भएको होइन। हाम्रो विद्यालयभन्दा अलि माथि रामचन्द्र आधारभूत विद्यालय, आदर्श आवासीय विद्यालय पनि छ। त्यो पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ। त्यो खोलाको किनारमै थियो।

सामाजिक सञ्जालमा पनि हामीले देखेका छौँ—उत्तरगया पब्लिक माध्यमिक विद्यालय पनि लगभग पूर्णरूपमा क्षतिग्रस्त भएको छ। त्यहाँ बससमेत परेको देखिन्छ।

त्यहाँका बालबालिका बेपत्ता भएका छन्, अभिभावकहरू पीडित भएका छन्। ती विद्यालयहरू पनि उठ्नुपर्छ। धादिङतिरका विद्यालय, रसुवातिरका विद्यालय—सबै विद्यालय उठ्नुपर्छ।

मेरो विद्यालय मात्रै उठ्नुपर्छ भन्ने होइन। म मेरो विद्यालयको नेतृत्वकर्ता भएको कारणले मेरो विद्यालय उठ्नुपर्छ भनिरहेको छु। तर मसँग सहयोग गर्न आउने हातहरूलाई म भोलि मेरो विद्यालयका लागि मात्रै चाहन्छु भन्ने होइन। ती सहयोगी हातहरूलाई यी क्षेत्रका अन्य विद्यालय निर्माणमा पनि बढाउन म प्रयत्न गर्नेछु।

हामीले भूकम्पका बेला पनि यस्तो अनुभव गरेका थियौँ। अहिले यहाँ एउटा भवन बनेको छ। त्यो भवन शिक्षा तालिम केन्द्रलाई दिइएको छ, जुन अहिले बागमती प्रदेशले सञ्चालन गर्छ। त्यसको यतापट्टि त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसलाई जग्गा दिइएको छ। बाँकी रहेको जग्गा बसपार्कका लागि विदुर नगरपालिकालाई दिएका थियौँ। हामी त्यति जग्गामा धनी थियौँ।

अब आज म आफ्नै विद्यालयका लागि जग्गा खोज्दै हिँडिरहेको छु। अहिले नै केही सहयोगी दाताहरू भेटिसकेको छु, जसले ‘जग्गा भयो भने आजै काम सुरु गरौँ’ भन्नुभएको छ। तर औपचारिक रूपमा विद्यालय कहाँ सञ्चालन गर्ने भन्ने टुंगो लाग्नुपर्छ।

भूकम्पमा जस्तो ‘आफ्नै जग्गा छ, यहाँ सफा गरेर अस्थायी सिकाइ केन्द्र बनाउँदै गरौँ, अर्कोतिर नयाँ भवन बनाउँदै गरौँ’ भन्ने अवस्था अहिले छैन। यो विपत्तिले धेरै कुरा सिकाएको छ।

त्यसैले अब ‘डाँडामै विद्यालय बनाउने’ भनेर मात्रै पनि हुँदैन। डाँडामा पनि पहिरो जान सक्छ। सुरक्षित ठाउँ कसरी छनोट गर्ने, विद्यालयका लागि उपयुक्त स्थान कहाँ हो भन्ने कुरा गम्भीर रूपमा अध्ययन गर्नुपर्छ।

फेरि बस्ती एकातिर र विद्यालय अर्कोतिर लैजान पनि सकिँदैन। विद्यालय त बस्तीका बालबालिकाका लागि हो। त्यसैले यी सबै पक्षलाई हेरेर विद्यालय सुरक्षाका मापदण्ड अपनाउँदै सुरक्षित स्थानमा विद्यालय निर्माण गर्नुपर्छ।

विद्यार्थीको पाठ्यक्रममै पनि यस्ता सुरक्षाका विषयहरू समावेश गर्नुपर्छ। विपत् व्यवस्थापन, विपत्बाट कसरी सुरक्षित हुने, कस्ता–कस्ता विपत् आउन सक्छन् भन्ने कुरा विद्यार्थीलाई सिकाउनुपर्छ।

हाम्रो देशमा हिमाली तथा पहाडी क्षेत्रमा बाढी, पहिरो र भूकम्पको जोखिम छ। तराईमा डुबानको समस्या हुन्छ। चैत–वैशाख लागेपछि डढेलोको समस्या आउँछ। यी सबै प्रकारका विपत्बाट कसरी जोगिने, कसरी सुरक्षित रहने भन्ने कुरा विद्यार्थीलाई सिकाउनुपर्छ।

मैले स्थानीय तहमा पनि एउटा कुरा देखेको छु। हामी पहिले कोदो रोप्ने खेतमा धान रोप्न थाल्यौँ। कोदो रोप्दा त्यहाँ पानी जमाइराख्नुपर्दैनथ्यो। तर धान रोपेपछि पानी जमाउन थाल्यौँ। त्यसले खेत बग्ने जोखिम पनि बढायो।

यस्ता सामान्य देखिने कुराहरू पनि सिकाउनुपर्छ। पाठ्यक्रममै यस्ता विषय समावेश गरेर त्यसलाई व्यवहारमा प्रयोग गर्ने वातावरण बनायौँ भने विद्यार्थीलाई विपत्बाट जोगाउन धेरै सहज हुन्छ।

अहिले त धेरै कुरा बुझ्दै नबुझ्ने अवस्था छ। हाम्रो पाठ्यक्रममा यस्ता विषय पर्याप्त छैनन्। हामी पाठ्यपुस्तक पढाउँछौँ, तर व्यवहारमा अभ्यास गराउँदैनौँ। त्यसैले विपत् सुरक्षाका विषयलाई पाठ्यक्रममै विशेष प्राथमिकताका साथ समावेश गर्नुपर्छ भन्ने मलाई लाग्छ।

अब सबै अभिभावकलाई तुरुन्तै विश्वास दिलाउन पनि सकिँदैन। कतिपय विद्यार्थी खोला तर्दा वा पानी देख्दा अहिले पनि त्रसित भइरहेका छन्। उनीहरूमा त्यस घटनाको गहिरो मानसिक प्रभाव परेको छ।

त्यसैले सबैभन्दा ठूलो कुरा भनेको विद्यार्थीलाई विद्यालयमा ल्याउनु र पढाउनु मात्रै होइन। केही समय विद्यालय सञ्चालन गर्नुअघि पहिलो एक हप्ताजति मनोसामाजिक परामर्शका कक्षा सञ्चालन गर्नुपर्छ।

विद्यार्थीलाई मनोसामाजिक परामर्श दिनुपर्छ। उनीहरूलाई ‘तिमी सुरक्षित छौ, हामी सुरक्षित ठाउँमा सरेका छौँ, अब डराउनु पर्दैन’ भन्ने अनुभूति गराउनुपर्छ। विद्यार्थीले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्रै उसले पढ्न सक्छ। अन्यथा विद्यार्थी पढ्न सक्दैन।

अभिभावकहरू अहिले पनि सम्पर्कमा हुनुहुन्छ। हिजोअस्तिसम्म उहाँहरू उद्धारको विषयमै केन्द्रित हुनुहुन्थ्यो। आजबाट भने नगरपालिकाले पनि केही समयका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। म काठमाडौँतिर लाग्दै गर्दा नगरपालिकाले ‘अर्को सूचना नभएसम्म विदुर नगरपालिकाभित्रका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयको पठनपाठन स्थगित गरिएको’ सूचना निकालेको थियो।

अब केही समय उहाँहरूले पनि दिनुहुन्छ होला। सञ्चार र सडक सम्पर्कको समस्या पनि छ।

तर त्यसअघि बिहानदेखि अभिभावकहरूले मलाई धेरै फोन गर्नुभएको थियो—‘सर, विद्यालय खोल्नुहुन्छ कि खोल्नुहुन्न? कहाँ खोल्नुहुन्छ?’ भनेर। यो प्रश्न उहाँहरूले मलाई माया र विश्वास गरेर सोध्नुभएको हो।

उहाँहरूले ‘तपाईं हुँदासम्म, तपाईंले विद्यालय चलाउँदासम्म हामी तपाईंसँगै रहन्छौँ’ भन्नुभएको छ। यस्तो विश्वासले मलाई अझ ठूलो जिम्मेवारी दिएको छ।

काठमाडौँबाट पनि हिसानका साथीहरूले मलाई फोन गरिरहनुभएको छ। आज प्रधानमन्त्रीका सल्लाहकार असिम शाहज्यू पनि नुवाकोटमा हुनुहुँदो रहेछ। उहाँसँग भेट हुँदा पनि यस विषयमा कुराकानी भयो। उहाँले हिसानले पनि सहयोग गर्ने, अन्य शैक्षिक संस्थाहरूले पनि सहयोग गर्ने कुरा बताउनुभयो।

हिसानका एक जना साथी सरले पनि काठमाडौँबाट फोन गरेर ‘तपाईंहरूका बच्चाहरूलाई गाह्रो छ भने हामी सहयोग गर्न तयार छौँ’ भन्नुभएको थियो। तर हाम्रा बच्चाहरू काठमाडौँ आए भने उहाँहरूले सहयोग गर्ने हो। बच्चाहरू यहीँ पढाउँदा त हामी आफैँ पढाउन सक्छौँ। हामीसँग जनशक्ति छ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने नुवाकोट जिल्लामा विज्ञान विषयको पठनपाठन हुने विद्यालयमध्ये हाम्रो विद्यालय पनि विशेष रूपमा अगाडि छ। हामीले सिभिल इन्जिनियरिङमा डिप्लोमा पनि पढाइरहेका छौँ। त्यसैले यहाँ पढाइने विषयहरू अरू ठाउँमा सहजै उपलब्ध नहुन सक्छन्। त्यसकारण पनि यी कार्यक्रमलाई निरन्तरता दिन विद्यालय सञ्चालन गर्न आवश्यक छ।

राहतको कुरा गर्दा, व्यक्तिगत रूपमा हेर्दा सुरुका दुई–तीन दिन हामी आफैँ पनि विपत्तिमा थियौँ। तर सरकारले खोज तथा उद्धारको काम गरिरहेकै छ। बजारमा अड्किएका, घरका छतमा फसेका मानिसहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने काम पनि भइरहेको छ।

मलाई भने सकारात्मक भएर सोच्नुपर्छ भन्ने लाग्छ। म सुरक्षित भएर माथि बसेँ। म पनि मानसिक रूपमा प्रभावित भएको छु होला। तर यदि मैले आफूलाई मात्रै पीडित सम्झेर घरमै सुतेर बसेको भए आज तपाईंसँग यो संवाद पनि हुँदैनथ्यो। पुनर्निर्माणका कुरा पनि हुँदैनथे। म एउटा सरकारी कर्मचारी हुँ, आफ्नो जागिर खाएर बसिरहन्थेँ होला।

तर उद्धार भएर सुरक्षित ठाउँमा पुगेपछि मैले सोचेँ—एक छाक खाना नखाएर म मर्दिनँ। जो मानिसहरू अझै फसिरहेका छन्, उनीहरूलाई पहिले उद्धार गर्नुपर्छ। त्यसपछि राहतका कुरा आउँछन्। त्यसपछि पुनर्निर्माणका प्याकेज सरकारले कसरी ल्याउँछ भन्ने कुरा आउँछ। सरकारलाई पनि अहिले ठूलो चुनौती छ।

मैले भूकम्प र अहिलेको विपत्तिलाई अलिअलि तुलना गर्ने गरेको छु। तर यो विपत्ति अझ फरक छ।

हिजो करोडपति, धेरै पैसा भएको उद्योगपति भनेर चिनिएका मानिसहरू आज राहतको थाल थापेर खाना खानुपर्ने अवस्थामा पुगेका छन्। हिजो हामी अरूलाई राहत दिइरहेका थियौँ। आज त्यही बजारका मानिसहरू, जसले हिजो अरूलाई सहयोग गरेका थिए, सहयोग गर्ने र सहयोग लिने दुवै जना एउटै लाइनमा बसेर एउटै थाल थापेर खाना खानुपर्ने अवस्था आएको छ। विपत्ति भनेको यही रहेछ, सर।

रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसंग गरिएको कुराकानीमा आधारित