काठमाडौँ। विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकाका लागि यस्तो समय थप गरेको हो ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) का अनुसार यसअघि गत साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका तथा संशोधित कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका कागजात असोज ७ गतेसम्म विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयमा बुझाउन भनिएको थियो ।
तर वर्गीकरणमा परेका केही पत्रपत्रिका अझै सूचीकरण तथा नवीकरण हुन बाँकी रहेको देखिएपछि कागजात बुझाउने समय थप गरिएको बोर्डले जनाएको छ ।
अब साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका सम्बन्धित पत्रपत्रिकाले असोज १५ गतेसम्म बिल–बीजकसहित आवश्यक कागजात बुझाउन सक्नेछन् ।
बोर्डले यसबारे सम्बन्धित पत्रपत्रिका तथा हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई समेत परिपत्र गरेको छ । रासस








