न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दैगर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रभाव र राष्ट्रसङ्घ कै भविष्यबारे प्रश्न उठिरहेको छ ।
ट्रम्पले इरानविरुद्ध सुरु गरेको युद्धले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा असर पारेको छ । यसैबीच एआईको सामाजिक प्रभावबारे चिन्ता बढिरहेको छ भने राष्ट्रसङ्घलाई दिइने अमेरिकी आर्थिक सहयोग कटौती गर्ने ट्रम्प प्रशासनको नीतिले संस्थाको भविष्यबारे बहस निम्त्याएको छ ।
महासभामा सम्बोधनपछि ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, जापानकी प्रधानमन्त्री सानाए ताकाइची र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रका नेतासँग पनि भेट गरी इरानसँगको युद्ध तथा साउदी अरबमाथि भएका इरान–समर्थित समूहका आक्रमणबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।
इरानसँगको युद्ध महासभामा ट्रम्पको सम्बोधनको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । गत वर्ष उहाँले इरानका आणविक केन्द्रमा अमेरिकी आक्रमणपछि तेहरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्नुभएको थियो । तर युद्ध लम्बिँदै जाँदा होर्मुज जलसन्धिमार्फत हुने तेल आपूर्ति अझै युद्धअघिको स्तरमा फर्किएको छैन र ऊर्जा बजारमा अस्थिरता कायम छ । ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु हुनुअघिको करिब ७० डलरबाट बढेर १०० डलर हाराहारीमा पुगेको छ ।
साउदी अरबले इरान–समर्थित लडाकुको आक्रमणपछि एउटा प्रमुख तेल पाइपलाइन बन्द गरेको छ भने यमनका हुथी विद्रोहीको गतिविधिका कारण लाल सागर र बाब अल–मान्दब जलसन्धिमा व्यावसायिक जहाजको आवागमन जोखिमपूर्ण बनेको छ ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अमेरिका र इरानबीचको ‘विश्वासको गहिरो खाडल’ कम गरी दुवै पक्षलाई पुनःवार्तामा ल्याउन मध्यस्थकर्ताले प्रयास गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार युद्धको अन्त्य अन्ततः वार्ताबाटै हुने भएकाले त्यसअघि हुने क्षति र मानवीय क्षति घटाउनु आवश्यक छ ।
यसैबीच, महासभाकै क्रममा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच आर्कटिक तथा उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा सहकार्य विस्तार गर्ने सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । सम्झौताले ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थितिको विस्तारको बाटो खोल्नेछ । डेनमार्क र ग्रिनल्यान्डले भने यसले डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने बताएका छन् ।
ट्रम्पले रुस–युक्रेन युद्धबारे पनि चर्चा गर्ने अपेक्षा गरिएको छ । उहाँले दुवै पक्षलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत गराउने प्रयास गरेको दाबी गरे पनि रुस र युक्रेनले ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेका छन् । ट्रम्पले सोमबार युद्ध अन्त्य गर्नुपर्ने भन्दै पुनः असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
बेलायती प्रधानमन्त्री बर्नहमसँगको भेटमा होर्मुज जलसन्धिको सुरक्षा र साउदी अरबमाथि हुथी आक्रमण रोक्न सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ । जापानी प्रधानमन्त्री ताकाइचीसँगको भेटमा चीन–जापान सम्बन्ध तथा ताइवानसँग सम्बन्धित क्षेत्रीय तनावबारे पनि कुराकानी हुन सक्नेछ ।
ट्रम्पको भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेजसँगको भेट भने दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ । यसरी यस वर्षको महासभामा ट्रम्पको उपस्थिति इरान युद्ध, ऊर्जा सुरक्षा, युक्रेन युद्ध, ग्रिनल्यान्ड सम्झौता र बदलिँदो अन्तरराष्ट्रिय सम्बन्धका विषयले घेरिएको छ ।(रासस/एपी)








