९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो ।

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि विपद्बाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । बालबालिका तथा अन्य संवेदनशील अवस्थाका व्यक्तिको पहिचान खुल्ने तस्वीर, भिडियो वा व्यक्तिगत विवरण सहमतिबिना सार्वजनिक नगर्न र उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी समाचार संकलन तथा सम्प्रेषण गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

पत्रकारिताले विपद्को वास्तविकता समाजसामु ल्याउँदा पीडितको मानवीय मर्यादा र अधिकारलाई समाचारको विषयभन्दा माथि राख्न आवश्यक रहेको उहाँले बताउनुभयो । तथ्य र सत्यको खोजी गर्दा पीडितको गोपनीयता, सुरक्षा र संवेदनशीलताको मूल्यलाई बिर्सन नहुने उनको भनाइ छ।

भोटेकोशी बाढी तथा रसुवा, नुवाकोट र धादिङलगायतका विपद् प्रभावित क्षेत्रको अवस्थाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना, तस्वीर र भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

विपद्को समयमा गलत वा अपुष्ट सूचनाले सर्वसाधारणमा त्रास फैलाउनुका साथै उद्धार तथा राहत व्यवस्थामा समेत समस्या सिर्जना गर्न सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई प्राथमिकता दिन अनुरोध गरेको छ।

मन्त्रालयले अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जित भ्रामक सामग्री सार्वजनिक नगर्न पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

मन्त्रालयले विपद्का क्रममा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका हृदयविदारक तस्वीर, भिडियो वा विवरण सामाजिक सञ्जालमा पोस्ट तथा रिपोस्ट नगर्न विशेष आग्रह गरेको छ ।

विपद्मा आफन्त गुमाएका परिवारजनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत आफ्ना आफन्तको भयावह अवस्था वा शवसम्बन्धी तस्वीर तथा भिडियो देख्दा थप मानसिक पीडा भोग्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको भनाइ छ ।

त्यसैले विपद्को समयमा भयावह, विचलित बनाउने तथा समाजमा थप त्रास सिर्जना गर्ने सामग्रीभन्दा सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको उद्धार तथा राहत वितरणका क्रममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्वीर तथा भिडियो सार्वजनिक भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रेस काउन्सिलका अनुसार राहत तथा उद्धारका नाममा बालबालिकाको असहाय अवस्था प्रदर्शन गर्ने, उनीहरूको पहिचान खुल्ने तस्वीर तथा भिडियो सार्वजनिक गर्ने वा उनीहरूको मनोवैज्ञानिक अवस्थामाथि नकारात्मक असर पार्ने सामग्री सम्प्रेषण गर्नु बालमैत्री सञ्चार निर्देशिका, २०७३ को मर्मविपरीत हुन जान्छ ।

निर्देशिकाले प्राकृतिक विपद् वा दुर्घटनासम्बन्धी बीभत्स दृश्यले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले सञ्चारमाध्यमले विशेष सजगता अपनाउनुपर्ने व्यवस्था गरेको छ ।

पीडित बालबालिकाको अवस्था देखाउँदा उनीहरूको मनोविज्ञानमा पर्ने दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने, राहत तथा उद्धारका नाममा उनीहरूको असहाय अवस्था देखाएर आत्मसम्मानमा ठेस पुर्‍याउन नहुने र तत्कालीन वा दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्न नहुने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने गरी तस्वीर वा श्रव्यदृश्य सामग्री सम्प्रेषण गरेर उनीहरूलाई जोखिममा पार्न नहुनेमा पनि काउन्सिलले जोड दिएको छ ।
भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले त्यस्ता सामग्रीमाथि निगरानी बढाएको जनाएको छ ।

काउन्सिलले आचारसंहिता विपरीतका सामग्री हटाउन सम्बन्धित माध्यमलाई निर्देशन दिनुका साथै आवश्यकताअनुसार सचेत गराउने र कारबाही प्रक्रिया अघि बढाउने काम गरिरहेको जनाएको छ ।

काउन्सिलले विपद्बाट प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पार्ने, उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने तथा गोपनीयता र मर्यादामा प्रतिकूल असर पार्ने किसिमका तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

भोटेकोशी विपद्को रिपोर्टिङ गर्दा सञ्चारमाध्यमले एकातर्फ नागरिकलाई वास्तविक अवस्था, उद्धार तथा राहतसम्बन्धी आवश्यक सूचना दिनुपर्नेछ भने अर्कोतर्फ पीडितको अधिकार र मानवीय संवेदनशीलतालाई संरक्षण गर्नुपर्ने अवस्था छ ।
विशेषगरी बालबालिका, सुत्केरी महिला, परिवारका सदस्य गुमाएका व्यक्ति, घाइते तथा मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका नागरिकसँग समाचार संकलन गर्दा उनीहरूको सहमति, सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायहरूको जोड छ ।

विपद्को समयमा समाचारको प्रभाव बढाउने नाममा पीडितको दुःखलाई अतिरञ्जित गर्ने, सनसनीपूर्ण दृश्य प्रस्तुत गर्ने वा व्यक्तिगत पहिचान खुल्ने सामग्री सार्वजनिक गर्ने प्रवृत्तिले पीडितलाई थप क्षति पुर्‍याउन सक्ने भएकाले सञ्चारमाध्यमलाई जिम्मेवार र संवेदनशील बन्न सरकार तथा प्रेस काउन्सिलले आग्रह गरेका छन् ।