काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपल्टदेखि शिर्ष डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गर्ने योजनाबाट केही समय पछाडि सरेको बताएको छ ।
शिर्ष डिभिजनका लिगका क्लबकै मागअनुरूप एन्फा तत्कालका लागि होम एण्ड अवेको आवधारणबाट पछि हटेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग छिटै गर्ने भए पनि होम एण्ड अवेको अवधारणा केही समयका लागि पछि सार्ने जनाएको छ । लिगका १४ मध्ये ९ वटा क्लबले गत शनिवार पत्रकार सम्मेलनमार्फत लामो योजना र तयारीबिना होम एण्ड अवेको आधारमा खेल्ने नसकिने उल्लेख गर्दै केही लिगको संरचना सम्बन्धित सुझाव पेश गरेको थियो । उनीहरूको मागअनुरूप नै एन्फा आफ्नो योजनाबाट पछि हटेको छ । एन्फाले आगामी पुस ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने गरी तयारी गरेको छ । क्लवकै सुझावअनुरूप एन्फाले आईतवार क्लवसँगको बैठक पनि स्थगित गरेको थियो ।
एन्फाका महासचिव किरण राईले होम एण्ड अवेको अवधारणामा लिग खेल्न क्लवहरूले कम्तीमा १० महिना माग गरेको उल्लेख गरे । क्लबलाई अफ्ठ्यारो नपर्ने गरी लिग गर्ने आफूहरूको चाहने रहेकाले सुझावहरूलाई मनन गरिएको एन्फाका महासचिव राईको भनाइ छ । त्यसैले पनि एन्फा लिगलाई विकेन्द्रीकरण गर्ने योजनाबाट पछि हटेको हो । तर, राईले पूर्वनिर्धारित मितिभन्दा केही दिन यताउता ‘ए’ डिभिजन लिग हुन सक्ने बताएका छन् । एन्फाका महासचिव राईले लिगलाई नयाँ उचाइ र संरचना लैजानुको विकल्प नरहेको प्रष्ट पारेका छन् । त्यसका लागि क्लवसँगको सहकार्य अपरिहार्य रहेको उनी बताउँछन् । क्लबको पनि राम्रो सुझाव आएकाले त्यसमा एन्फा तयार भएको उनको भनाइ छ । तर उनले ढिलो चाडो होम एण्ड अवे फरम्याटमा जानुपर्ने बताउँछन् ।
त्यसका लागि क्लव पनि तयार हुनुपर्ने उनको भनाइ छ । क्लवसँगै अगाडि बढ्नसके मात्र नयाँ संरचनाअनुरूप काम गर्न सकिने एन्फाका महासचिव राईको बुझाइ छ । उनले एन्फाको क्यालेन्डरअनुरूप ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग दुवै गर्ने बताएका छन् । होम एन्ड अवे केही समयका लागि पछि सारे पनि लिग छिटै गर्ने बताएका छन् । उनले कुनै पनि हालत शीर्ष डिभिजनको लिग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । क्लब पनि होम एन्ड अवे फरम्याट अहिले राजी नभए पनि लिग खेल्न तयार नै रहेको उनी बताउँछन् । साधारण सभाले पास गरेको कार्यक्रम कहिलेकाहिँ पछाडि सार्न सकिने एन्फाको भनाइ छ ।
छठपछि बस्ने बैठकमा क्लबहरू पनि लिग खेल्न तयार हुनेमा एन्फा आशावादी छ । सोमबार मात्र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङको राजीनामा माग नै गरेका थिए । महासचिव राईले अध्यक्षको राजीनामाबारे आफूसँग सम्बन्धित नरहेको उल्लेख गरे । तर, वरिष्ठ उपाध्यक्षजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले पदीय मर्यादा राख्नुपर्ने उनको भनाइ छ । आफूमाथि लागेको भ्रष्टाचारको आरोप पुष्टी गरेर कारबाही गर्न पनि महासचिव राईले आग्रह गरेका छन् । उनले केही वर्ष लिग गर्न नसक्दा आफूलाई पनि चिन्ता लागेको उल्लेख गरे । एन्फाभित्र राजनीति किचलोले गर्दा र अन्य विभिन्न कारणले लिग प्रभावित भएको एन्फा महासचिव राईको स्वीकारोक्ति छ ।
तर,क्लबका पदाधिकारी नै एन्फाका जिम्मेवार पदमा रहँदा लिग प्रभावित भैरहेको विषयमा कुनै पनि सत्यता नरहेको उनी बताउँछन् । उल्टै सबैलाई थप जिम्मेवार बनाएको उनको विश्वास छ । साथै एन्फाको आगामी निर्वाचनका कारण राजनीति गर्न क्लबहरू लिग खेल्न नचाहेको भन्ने बारे आफूहरूलाई विश्वास नलागेको महासचिव राईले बताएका छन् । एन्फा सिइओ ईन्द्रमान तुलाधरले तिहार अगाडि नै लिग गर्ने विषयमा टुङ्गो लगाउने बताए । संकटाका क्लबका अध्यक्षसमेत रहेका तुलाधरले क्लव शिर्ष डिभिजन लिग खेल्न तयार नै रहेको र तिहारअगाडि छलफल पनि अन्तिम चरणमा पुग्ने बताएका छन् ।










