२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन थपिए १७० जना, संक्रमितको संख्या पुग्यो १२ सय १२



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार सार्वजनिक यो संख्यासँगै कुल संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह गरेको भर्चुअल पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भरतपुरमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उता झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र प्यारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।

उता धारानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।