२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै गाउँघरको रैथाने तरकारी



अ+ अ-

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उहाँको अनुभव छ ।

उहाँले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ ।

“बोट उम्रिए पनि राम्रोसँग फलेन, फलेका बोटमै कुहिने र कीरा लाग्ने समस्या देखियो”, उहाँले भन्नुभयो, “पहिला बारीमा लटरम्म रैथाने टोंरै, भिण्डी, बोडी, काँक्रा फल्ने हुँदा त्यही तरकारी खान्थ्यौँ ।” “पहिले यतिबेला लोकल काँक्रा ठूलाठूला हुन्थे, एउटा काँक्रा एक्लै खान सकिँदैनथ्यो, अहिले ती काँक्रा पाउनै मुस्किल छ”, किसान थारुले भन्नुभयो ।

उहाँले यस वर्ष स्थानीय र उन्नत दुवै जातका काँक्राको बीउ लगाउनुभएको थियो । दुवै उम्रिए पनि रैथाने काँक्रा भने राम्रोसँग नफलेको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनको असरले हो कि उन्नत जातको काँक्राको असरले हो, रैथाने काँक्रा फलेन”, उहाँले भन्नुभयो ।

बारीमा लटरम्म फल्ने स्थानीय रैथाने तरकारी विस्तारै हराउँदै गएपछि अहिले बारीमा पहिलाजस्तो तरकारी देखिन छाडेको छ । मकैको बारीमा मकैको बोटलाई नै आधार बनाएर लहरा फैलिने भएकाले छुट्टै संरचना बनाउनुपर्ने झन्झट हुँदैनथ्यो । “त्यसैले मकैबारीमा प्रायः बोडी र काँक्रा रोपिन्थ्यो ।

गाउँका प्राय मकैबारीमा बोडी र काँक्रा नफल्ने घर कमै हुन्थे, उहाँले भन्नुभयो, “अहिले त्यस्तो देखिन छाडेको छ । बजारमा पाइने बीउ लगाउने चलन बढेपछि पुराना बीउ हराउँदै छन् ।”

सोही गाउँकी दुसानी थारुले भने पछिल्लो समय बजारमा सहजै पाइने उन्नत जातका बीउप्रति किसानको आकर्षण बढेको बताउनुभयो । छोटो समयमा धेरै उत्पादन हुने र बजारमा बिक्री गर्न सहज हुने भएकाले किसानले रैथाने भन्दा उन्नत जातका बीउ रोज्न थालेको उहाँले बताउनुभयो ।

बढैयाताल गाउँपालिकाका कृषि विकास शाखा प्रमुख दीपेन्द्र श्रीवस्तवले पनि उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले किसानको आकर्षण बढेको बताउनुभयो ।

पालिकाले रैथाने बीउविजनको संरक्षण तथा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्दै आए पनि किसानले उन्नत जातका बीउलाई बढी प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।

पालिकाभित्र कतिपय किसानले रैथाने बीउ अझै पनि वर्षौंदेखि घरमै संरक्षण गर्दै आएको पाइन्छ । पछिल्लो समय किसानले तरकारी उत्पादनलाई व्यावसायिक बनाउँदै लगेपछि उनीहरुको प्राथमिकता पनि परिवर्तन भएको छ ।

घरायसी उपभोगका लागि मात्र उत्पादन गर्ने भन्दा व्यावसायिक उद्देश्यले तरकारीखेती गर्न थालेपछि धेरै किसानले उन्नत जातका बीउलाई प्राथमिकता दिन थालेको कृषि विकास शाखा प्रमुख श्रीवस्तवको भनाइ छ ।