काठमाडौँ । पहिले पहिलेका बर्षहरुजस्तै यसपालि पनि तीज त आयो । क्यालेन्डरले पनि देखायो, तर मनले तीज ठम्याएन । न कतै खुसियाली, न नाचगान अनि नत झण्डै महिनादिन देखिको दरखाने तँछाडमछाड । केही देखिएन ।
हो, यसपालि तीजले पहिलेझैँ खुसी ल्याउन सकेन । किनभने खुसीजति भदौ १० को भोटेकोशीले बगाइदियो ।
यस्तो सन्नाटा छाउने महिना होइन भदौ । यही महिनामा पर्दछ तीज । हरेक वर्ष तीज आउनुअघि नै नेपाली समाजमा छुट्टै रौनक छाउँथ्यो । रातो सारी, हरियो पोते र चुरा–धागोमा सजिएका महिला दिदीबहिनीहरू, घरघरमा पाक्ने दरका परिकार, माइती जाने चहलपहल, तीजका गीतमा रमाउँदै नाच्ने समूह ।
यी सबैले उल्लासमय बन्थ्यो भदौ महिना । महिलाहरुको विशेष पर्व हो तीज । तर, केवल एउटा पर्व मात्र पनि होइन यो । धेरै महिलाका लागि आफ्ना पीडा बिर्सने, मनका कुरा पोख्ने र दिदीबहिनीबीच आत्मीयता साट्ने अवसर पनि थियो । यसैको मेसोमा मिठो मसिनो खाने त छँदैछ ।
तर यसपालि यो रमझम र उमंग कतै देखिएन, हराएजस्तै भयो ।
भोटेकोशीमा आएको बाढीले धेरै परिवारको जीवन अस्तव्यस्त बनाइदियो । कसैको घरबार उजाडियो, कसैको व्यवसाय र सम्पत्ति बग्यो, कसैको वर्षौंको मेहनत केही घण्टामै नदीको भेलसँगै हरायो । विपत्तिले छोडेको घाउ अझै ताजा छ । आज बाढीको १८ दिन पूरा भयो, तर हराएका आफन्त कतै भेटिन्छन् कि भन्ने आस आफन्तको मनमा अझै मरेको छैन ।
कस्तो त्रास ! कस्तो बिडम्बना !
एकातिर परिवार अब भेटिँदैनन् भन्ने निराशाकाबीच कुशको शव बनाएर अन्त्येििष्ट पनि परिवार गरिरहेको छ, अर्कातर्फ कहीँ कतैबाट शुभ समाचार आउला कि भनेर समाचार हेर्ने खोज्ने तथा बाटो हेर्ने आस पनि मरिसकेको छैन ।
त्यस्तो अवस्थामा कसरी उही उत्साहका साथ पर्व मनाउन सकिन्थ्यो र ?
लाग्छ, कतै कतै दर खाने थाल त सजिए होलान्, तर धेरै घरमा त्यसको स्वादमा खुसी मिसिएको भने छैन । तीजका गीत बजिए होलान्, तर ती गीतमा पहिलेको जस्तो उमंग सुनिएन, देखिएन । केही ठाउँमा दिदीबहिनीहरू भेला भए होलान्, नाचे होलान्, रमाए होलान् तर धेरैको मनमा बाढीपीडित परिवारको पीडा घुमिरहेकाले ती सामाजिक सञ्जालसम्म पनि आइपुगेको छैन ।
नत्र त यतिञ्जेल फेसबुक र टिकटक राताम्मे भइसकेका हुने थिए । यसपालि छैन त्यस्तो ।
यसपालिको तीजमा रौनकभन्दा बढी त मानवीय संवेदना र पीडा मिसिएको छ । त्यसैले यसपालि धेरै तस्वीरहरूमा उत्सवभन्दा बढी संयम देखिन्छ, अनि खानाको परिकारभन्दा बढी समवेदना भेटिन्छ ।
लाग्छ, खुसी मनाउने चाहना हुँदाहुँदै पनि कसरी रमाऊँ ? कसरी नाचौँ ? कसरी खुसी होउँ ? किनभने अधिकांश दिदीबहिनीहरुका मुखमा पीडा मात्र लुकेको छ ।
पर्वको सौन्दर्य नै यही हो—यसले मानिसलाई जोड्छ । तीजले हामीलाई केवल नाच्न र गाउन सिकाउँदैन, यसले एकअर्काको दुःख बुझ्न पनि सिकाउँछ । त्यसैले यसपालि कम नाचिनु, कम दर खानु वा कम रमाउनु तीजको कमी होइन ।
बरु विपत्तिमा परेकाहरूको पीडालाई आफ्नो पीडा ठान्नु नै यसपालिको तीजको सबैभन्दा सुन्दर पक्ष हो ।
खुसी त्यतिबेला मात्र पूर्ण हुन्छ, जब वरिपरिका मानिस पनि सुरक्षित र खुसी हुन्छन् ।
भोटेकोशीले धेरै कुरा बगायो । तर कता कता हाम्रो मानवीयता भने बगाएको रहेनछ भन्ने लाग्यो । किनभने यो तीज दिदीबहिनीहरुसँगै रुँदै छ, जसले अघिल्लो बर्षहरुमा जस्तो रौनक थपेको छैन, बरु सन्नाटा छाएको छ ।
आजैका दिनमा यो कल्पना गरौँ कि– भोलि फेरि तीज आउला । भोटेकोशीको भेलले पारेका दुःखका भ्वाङ् पनि केही पुरिएलान् । उजाडिएका बस्तीहरूमा फेरि घर ठडिएलान् । सुनसान भएका आँगनमा फेरि बालबालिकाको हाँसो गुञ्जिएला । दिदीबहिनीहरू फेरि रातो सारीमा सजिएर नाच्लान् । दरको सुगन्धले फेरि घरआँगन मगमग बासना आउला ।









