काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म (१३–१९ सेप्टेम्बर २०२६) चीनको औपचारिक भ्रमणमा रहनुहुने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम (Beijing Xiangshan Forum) मा समेत सहभागिता जनाउनुहुने कार्यक्रम छ ।
नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैन्य कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।
प्रधानसेनापति सिग्देल चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।

यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारद अर्पण गरेको थियो । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।









