काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ‘जेन–जी’ विद्रोहपछि पनि जनतामा आशा जाग्ने अवस्था सिर्जना हुन नसकेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको दाबी गरे । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसक्दा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको उनको भनाइ छ ।
“जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन,” लिङदेनले भने, “बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।”
उनले पछिल्लो राजनीतिक परिस्थितिमा थप तरलता देखिएको र मुलुकको भविष्यबारे अनिश्चय गहिरिँदै गएको बताए । विद्रोहपछि अपेक्षित परिवर्तनको अनुभूति जनताले गर्न नसकेको भन्दै लिङदेनले जनताको आकांक्षा सम्बोधन गर्ने दिशामा देशलाई अघि बढाउनुपर्नेमा जोड दिए ।









