काठमाडौं । चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् ।
सरकारले शनिबार यसको जानकारी दिएको हो । सन् १९७३ देखि १९९० सम्म चलेको पिनोचेको शासनले चिलीमा गहिरो राजनीतिक र सामाजिक घाउ छोडेको थियो । शासनको अन्त्यपछि पहिलोपटक यस वर्ष उक्त अवधिको सम्झनामा सरकारले कुनै आधिकारिक कार्यक्रम आयोजना नगरेको बताइएको छ ।
राष्ट्रपति जोसे एन्टोनियो कास्टले इतिहासलाई मेट्न नसकिने बताउँदै देशले विगतबाट पाठ सिकेर भविष्यतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कास्टलाई मार्चमा पदभार सम्हालेका पिनोचेपछिका चिलीका पहिलो अति–दक्षिणपन्थी राष्ट्रपतिको रुपमा हेरिन्छ । पिनोचेको शासनकालमा तीन हजार २०० भन्दा बढी मानिस मारिएका वा बेपत्ता पारिएका थिए भने हजारौँलाई यातना दिइएको वा जेलमा राखिएको थियो ।
समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध पिनोचेको नेतृत्वमा ११ सेप्टेम्बर १९७३ मा भएको सैन्य ‘कू’को सम्झनामा चिलीमा हरेक वर्ष प्रदर्शन हुँदै आएको छ । यस वर्षका प्रदर्शनमा केही प्रदर्शनकारीले दङ्गा नियन्त्रण प्रहरीमाथि लाठी र ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
सार्वजनिक सुरक्षामन्त्री मार्टिन अराउले ‘एक्स’मार्फत बिहीबार र शुक्रबार गरी २८४ जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी हो । पक्राउ पर्नेमा १६ विदेशी नागरिक र ३१ नाबालिग पनि छन् ।
प्रदर्शनका क्रममा १९८ वटा हिंसात्मक घटना भए पनि सर्वसाधारण घाइते नभएको उहाँले बताउनुभयो । सान्टियागोको ‘जेनेरल सिमेट्री’मा भएको प्रदर्शन सबैभन्दा ठूलो थियो । त्यहाँ एलेन्डे परिवारको समाधिस्थल रहेको छ र ¥यालीमा वामपन्थी पूर्वराष्ट्रपति गाब्रियल बोरिक पनि सहभागी हुनुभयो ।
राष्ट्रपति भवन ‘ला मोनेडा प्यालेस’ तथा ‘नेशनल स्टेडियम’मा पनि स्मृति कार्यक्रम आयोजना गरिए । पिनोचेको शासनकालमा नेशनल स्टेडियमलाई बन्दी बनाउने र यातना दिने स्थलका रूपमा प्रयोग गरिएको थियो ।









