२८ भाद्र २०८३, आईतवार
,
Latest
लिङदेनको दाबी : ‘जेन–जी’ विद्रोहपछि आशा होइन, अनिश्चितता बढ्यो बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव



अ+ अ-

काठमाडौँ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको वैकल्पिक व्यवस्था गर्न महानगरपालिकालाई सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले चोभारको निकास साँघुरो रहेको भन्दै उनले त्यसको क्षमता बढाउनुपर्ने बताएका हुन् । चोभारको निकासमा कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तिन सक्ने भएकाले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्ने उपायबारे सोच्नुपर्ने उनको सुझाव छ ।

काठमाडौँ महानगर प्रहरी बलको आइतबार आयोजित ३४औँ वार्षिकोत्सव समारोहमा धारणा राख्दै श्रेष्ठले चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको बताए । उनले चोभारको निकासमा क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने भन्दै बाढीको जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई समेत वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने बताए ।

उनका अनुसार पानीलाई अर्को दिशातर्फ निकास दिन छुट्टै सुरुङ निर्माण गर्ने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिन आवश्यक छ ।

श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताए । विकास आवश्यक भए पनि वातावरणीय प्रभावलाई बेवास्ता गर्दै गरिने अव्यवस्थित विकासले समस्या थपिरहेको उनको भनाइ थियो ।

रसुवाको भोटेकोशी र सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै श्रेष्ठले बस्ती तथा होटलसहितका क्षेत्र बगाएका घटनाबाट भविष्यमा हिमताल फुट्ने जोखिमप्रति थप सतर्क हुनुपर्ने देखिएको बताए । हिमालमा रहेका हिमताल फुट्ने सम्भावना रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा रहेका शहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उनले बताए ।

विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको विश्वव्यापी तापक्रम वृद्धिको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको श्रेष्ठको भनाइ थियो । भारत, चीन र अमेरिकालगायत मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पुर्‍याएको र त्यसको असर नेपालले समेत भोगिरहेको उनले बताए ।

श्रेष्ठले कानुनी राज्यको आवश्यकतामा पनि जोड दिए । कानूनको पालना गराउने क्रममा महानगर प्रहरी बलले सही काम गरिरहेको भन्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्दा महानगर प्रहरीले पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताए ।