काठमाडौँ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले जुलाई २० र २२ मा अष्ट्रेलिया विरुद्धको दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
यी दुवै खेल जमैकाको सबिना पार्कमा खेलिनेछन्, जुन रसेलको घरेलु मैदान हो ।
रसेलले वेस्ट इन्डिजका लागि १४१ खेल खेले र उनको सबैभन्दा यादगार इनिङ २०१६ को मुम्बईमा भएको टी–२० विश्वकपको सेमिफाइनलमा भारत विरुद्ध खेलिएको थियो । त्यो खेलमा भारतले १९३ रन बनाएको थियो ।
रसेल पाँचौं नम्बरमा ब्याटिङ गर्न आउँदा वेस्ट इन्डिजलाई ४१ बलमा ७७ रन चाहिएको थियो । रसेलले केवल २० बलमा अविजित ४३ रन बनाए र अन्तिम ओभरमा विराट कोहलीलाई छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई जित दिलाए ।
‘२०१६ को विश्वकप सेमिफाइनल मेरो जीवनको सबैभन्दा गर्वको क्षण थियो । त्यतिबेला भारतको सम्पूर्ण रंगशालाले आफ्नो टोलीलाई समर्थन गरिरहेको थियो, त्यसैले अलिकति दबाब थियो । तर पिच राम्रो थियो र ड्रेसिङ रुममा हाम्रो आत्मविश्वास थियो। यो आत्मविश्वासले मलाई स्वतन्त्र रूपमा खेल्ने स्वतन्त्रता दियो ।’ रसेलले भने ।
रसेलले भने कि उनले हरेक अवसरमा वेस्ट इन्डिजको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे र अब उनलाई लाग्छ कि यो सन्यास लिने सही समय हो । सबिना पार्कमा सन्यास लिनु आफ्नो लागि सपना जस्तै हो । ‘यहीँबाट मैले मेरो क्रिकेट करियर सुरु गरेको थिएँ र यसलाई यहीँ अन्त्य गर्नु मेरो लागि सम्मानको कुरा हो ।’ रसेल बताउँछन् ।










