काठमाडौंः ओमानमा करार अवधि समाप्त र रोजगारविहीन भएका एक सय ६६ जना नेपाली आइतबार काठमाडौं आइपुगेका छन् । उनीहरू सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत दिउँसो २ बजे काठमाडौंमा आइपुगेका हुन् ।
मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदार ल्याउन सलामले पहिलो उडान गरेको हो । सरकारले चार्टर विमानका लागि तोकेको भन्दा झन्डै १० हजार रुपैयाँ कम भाडामा सलामले उद्धार उडान गरेकाे बताइएकाे छ । सलाममा यात्रा गरेका सबै नेपालीकाे पीसीआर परीक्षण गरिएकाे नेपाली दूतावासले जनाएकाे छ ।
रोजगारदाता र कामदार आफैंले टिकट खर्च व्यहोरेका छन् । दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै प्रबन्ध गरेको बताइएकाे छ ।
सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सका लागि ३ सय ६६ डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि झन्डै ४८ हजार भाडादर कायम गरेको छ ।
दूतावासले त्योभन्दा कम ३६ हजार रुपैयाँमा सलाम एयरबाट कामदार पठाएको हो । अर्को उडान असार ४ गते बिहीबार निर्धारण गरिएको छ । ओमानबाट ६ सय नेपाली घर फिर्न चाहेका छन् ।