
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताउनुभएको छ ।
बुधवार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको बताउनु भयो । उहाँले राजतन्त्र समस्याको समाधान नभएको उहाँको टिप्पणी छ । उहाँले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोटे राजाको संज्ञा दिँदै अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको बताउनु भयो । उहाँले आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरुले देखाउने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकथरी मान्छेहरुलाई फेरि राजा महाराजा ल्याउने की भन्ने परेको छ । त्यो सत्य होइन, ठिक होइन । धामी झाँक्रीको रुपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन । त्यो समाधान होइन । अहिले अर्कोथरी तीन वटा टाउकाका रुपमा आएका छन् । जो आफूलाई छोटे राजा भन्छन् । संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ । अनि तीन वटै टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बर्बाद भयो, सकियो भनेर कराउँछन् । र जनता रनभुल्लमा पर्छन् ।’
पूर्वप्रधानमन्त्री डा भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई वैद्यरुपी टाउको भन्दै उनीहरु जति पटक दोहोरिएपनि देशको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।