२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

शरीर कमजोर भए पनि बलियो छ सोच

शरीर कमजोर भए पनि बलियो छ सोच
अ अ+ अ-

इलाम । देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । 

सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबासमेत गुमाउनु प¥यो । यस्ता अनेकौँ समस्याबीच सुमला अहिले १६ वर्ष पुगिन् । उनी शारीरिकरूपमा अस्वस्थ भएपनि पढाइमा अब्बल छिन् अनि प्रतिभाशाली छिन् ।   
    
अध्ययनकै लागि सुमलालाई ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त सुमलाको सोख चित्रकला हो । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउँदै गरेकी सुमलाले चित्रकलामै भविष्य देखेकी छिन् । “मेरो चित्र हेर्नकै लागि धेरै जना आउनुहुन्छ, उहाँहरुले राम्रो छ पनि भन्नुहुन्छ”, उनले सुनाइन् । चित्र बनाउन धेरै मेहनत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । “धरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन”, खुशी हुँदै उनले सुनाइन् । 

माई नगरपालिका–९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपाङ्गता भएका बालक हुन् । एघार वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । “सानै छ तर पनि चित्र राम्रै बनाउँछ”, अरुणका बुबा लक्ष्मणले भन्नुभयो, “यही कला देखेर एक जनाले पढाउन काठमाडौँ लान्छु पनि भन्नुभयो तर अलि अशक्त भएकाले दिइन ।” लक्ष्मणलाई छोरा अशक्त भए पनि चित्र कोरेरै जीवन धान्छ भन्ने लागेको छ । अवसर मिले चित्रकलाको राम्रै विद्यालयमा पढाउने समेत योजना छ बुबा लक्ष्मणको । 
   
एक पट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई केही समस्या छ । तर दुःखले हिड्न भने समस्या छैन । “पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छ जस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु”, लक्ष्मण भन्नुहुन्छ, “चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।”
    
त्यस्तै इलाम नगरपालिका–७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिड्नका लागि साहारा नभइ हुँदैन । शारीरिक रूपमा अशक्त भएपनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरु दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । “हिड्न त कि मान्छेको कि ह्वील चियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन”, भुपाल भन्छन्, “पढाइमा त कहिल्यै फेल भइन, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।”    भुपाल मात्र होइन ओलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । “अरू केही गरिन्छ भन्ने त लाग्दैन, पढेर चाहिँ राम्रै मान्छे बन्ने सोच छ”, आलोक भन्छन्, “सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।” 

सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपाङ्गता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यसता प्रतिभाहरु जिल्लामा धेरै छन् । अपाङ्गता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न सक्दा अब्बल दर्जाको नागरिक बन्नसक्ने अपाङ्गता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउनुहुन्छ । “समाजमा अझै पनि अपाङ्गता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक छ, यो सोचमा परिवर्तन आवश्यक छ, किनभनने अवसर दिए गरेर देखाउन उनीहरु सबै मानिसजस्तै सफल हुनेछन् ”चापागाईंले बताउनुभयो ।

पुनःस्थापित हुँदै अपाङ्गता भएका व्यक्ति
   
पछिल्लो समय सरकार र सङ्घसंस्थाले अपाङ्गमैत्री काम गरेका कारण अपाङ्गता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपाङ्गतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउण्डेसनका छवि श्रेष्ठ बताउनुहुन्छ । 
    
करुणाले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनस्र्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपाङ्गता भएका ९हात–खुट्टा गुमाएका० लाई कृत्रिम अङ्ग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपाङ्गता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्तासमेत उपलब्ध गराउन थालेपछि अपाङ्गता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।

के गर्दै छन् सङ्घसंस्था ?

स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपाङ्गता मैत्री काम गर्दै आएको छ । यसैवर्ष मात्र करुणाले आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृत्रिम हातखुट्टा, श्रवण यन्त्रलगायतका सामग्री प्रदान गरिएको छ । 
    
करुणले अपाङ्गता भएकाहरुलाई कष्टकर हुने खालको आवासीय संरचना समेत सुधार गरिदिएको छ । करिब ८७ जना अपाङ्गता भएकाको आवासीय संरचना सुधार गरिएको छ । रु १० हजार सम्मको लगानीमा घर, सौचालय र बाटोको संरचना सुधार गरिएको करुणा फाउन्डेसनका छवि श्रेष्ठले बताउनुभयो । अपाङ्गताका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको व्यवस्था पनि गरिएको सो संस्थाले जनाएको छ । 

समाजकै डरले लुकाउँछन् पीडा
   
अपाङ्गता भएका व्यक्ति अझै पनि समाजमा खुल्न नसक्दा अपाङ्गतासम्बन्धी जानकारी लिन सकस पर्ने गरेको छ । समाजकै डरले अपाङ्गता भएका व्यक्तिले पीडा लुकाउनाले परिचय पत्र समेत नलिने गरेका छन् । 
    
समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ । 
   
“कतिपयले नागरिकता नै बनाएका हुदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफू समेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्” श्रेष्ठले भन्नुभयो, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचय पत्र दिलाउदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठिक भन्ने ठान्छन् ।” उहाँका अनुसार करुणा फाउन्डेसन र स्थानीय सरकारलेसमेत पहल गर्दासमेत कतिपयले परिचय पत्र नबनाउने गरेको पाइएको छ ।    
     यता अपाङ्गता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउनुहुन्छ । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागाई बताउनुहुन्छ । 

इलामको तथ्याङ्क
   
जिल्लामा हाल चार हजार तीन जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये दुई हजार चार सय ९९ जना पुरुष र एक हजार ८०१ जना महिला छन् । करुणा फाउण्डेसनका अनुसार अपाङ्गता भएका व्यक्तिले पाउने चार प्रकारका कार्डमध्ये पूर्ण अशक्तले पाउने रातो कार्ड लिने ५११ जना, अति अशक्तले पाउने निलो कार्ड लिने एक हजार ५४० जना, मध्य अशक्तले पाउने पहेलो कार्ड भएका एक हजार १४३ जना  र सामान्य अपाङ्गता भएकाले पाउने सेतो कार्ड लिने ८०५ जना रहेका छन् । बाँकी ३०१ जनाले भने कुनै पनि प्रकारको कार्ड नलिएको करुणा फाउण्डेसनले जनाएको छ ।