काठमाडौँ । गृह मन्त्रालयले शनिबार पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा छानबिन समिति बनाएको छ ।
गृहले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको छ ।
समितिमा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थ सम्बन्धि विज्ञ सम्मिलित रहेका छन् । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सदस्य सचिवसमेत तोकिएको छ ।
घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री रमेश लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन् । उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ । प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य कार्यक्रमको उद्घाटन गर्नेक्रममा नजिकै रहेको प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा स्पार्किङ लाइटले छोएपछि विस्फोट हुँदा पौडेल र आचार्य घाइते भएका थिए । हाल दुबै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।









