काठमाडौँ । नेपाल चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।
मंगलबार सङ्घको केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
बुधबार बिहान १० बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने पनि संघले तयारी गरेको छ । त्यस्तै, उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने कार्यक्रम तय गरेको छ ।
सङ्घको आब्हानमा मंगलबार पनि देशभर ओपीडी सेवा बन्द गरेको थियो।











