२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित



तस्बिर: एपी
अ+ अ-

लेग–क्याप फेरेट। तापक्रम बढेसँगै दक्षिण–पश्चिम युरोपमा डढेलोको जोखिम उच्च बनेपछि फ्रान्सको एट्लान्टिक तटीय क्षेत्रमा करिब चार हजार मानिसलाई मङ्गलबार सुरक्षित स्थानमा सारिएको छ ।

बोर्दोको पश्चिममा फैलिएको विशाल डढेलो नियन्त्रणमा अग्निनियन्त्रकले केही सफलता हासिल गरे पनि बढ्दो तापक्रम र घट्दो आद्र्रताले आगो पुनः फैलिन सक्ने जोखिम बढाएको अधिकारीले बताएका छन् ।

फ्रान्स र स्पेनमा फैलिएका डढेलोका कारण हालसम्म करिब तीन लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । स्पेनले यस वर्षको चौथो गर्मीको लहरको सामना गरिरहँदा त्यहाँका धेरै डढेलो अझै नियन्त्रणमा आउन सकेका छैनन् ।

फ्रान्समा अग्निनियन्त्रकले रातभरको प्रयासपछि गिरोन्ड क्षेत्रमा फैलिएको आगोलाई केही हदसम्म नियन्त्रणमा राखेका छन् । तटीय क्षेत्रका बालुवे ढिस्को नजिकको आगो नियन्त्रणमा आए पनि डढेलोले हालसम्म करिब ४२० वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।

अधिकारीले गिरोन्डको डढेलोको अवस्था स्थिर रहे पनि पूर्ण रूपमा नियन्त्रणमा नआएको बताएका छन् । तापक्रम बढ्दै र आद्र्रता घट्दै गएमा आगो पुनः फैलिन सक्ने चेतावनी दिइएको छ ।

गिरोन्ड क्षेत्रीय अधिकारीका अनुसार सावधानीस्वरूप लाकानाउ समुद्री तट र लाकानाउ ताल आसपासका शिविरस्थल, बिदा मनाउने गाउँ, पर्यटकीय आवास तथा मनोरञ्जन पार्कबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासङ्घका प्रवक्ता एरिक ब्रोकार्डीले तापक्रम बढ्ने पूर्वानुमानका बाबजुद डढेलो नियन्त्रणको प्रयास जारी राखिने बताउनुभयो ।

फ्रान्सको राष्ट्रिय मौसम सेवाले मङ्गलबार दिउँसोदेखि गिरोन्डमा तापसम्बन्धी पहेँलो चेतावनी जारी गरेको छ । त्यहाँको तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने तथा हावाको गति बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार यस वर्ष देशभर एक हजार १६० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ ।

युरोपेली सङ्घको कोपर्निकस जलवायु सेवा तथा विश्व मौसम विज्ञान सङ्गठनका अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश हो । अत्यधिक गर्मी र व्यापक सुख्खापनले फ्रान्स र स्पेनमा डढेलो फैलिन र तीव्र हुन सहयोग पु¥याएको कोपर्निकसले जनाएको छ ।

गिरोन्डको डढेलो गत सातादेखि तीव्र रूपमा फैलिएको हो । आगोले हालसम्म पेरिस सहरको क्षेत्रफलको करिब चार गुणा बराबर भू–भाग प्रभावित गरेको र करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले बताएका छन् ।

आगो फैलिन नदिन सैन्य इन्जिनियर तथा वन डढेलो नियन्त्रण टोलीले मङ्गलबार पनि फायरब्रेक निर्माणको काम जारी राखेका छन् । अधिकारीका अनुसार हालसम्म १०३ किलोमिटर फायरब्रेक निर्माण भइसकेको छ । डढेलो नियन्त्रणका क्रममा ९३ अग्निनियन्त्रक घाइते भएका छन् ।

बोर्दोतर्फ जाने ए–६३ राजमार्गको केही भाग बन्द गरिएको छ भने बोर्दोको दक्षिणी क्षेत्रबाट टुलुज जाने रेलमार्गबाहेक अन्य रेल सेवा स्थगित गरिएको छ ।

ल्यान्डेसमा हजारौँ घर फर्किए

छिमेकी ल्यान्डेस क्षेत्रमा फैलिएको अर्को डढेलोको अवस्था नियन्त्रणमा आएपछि हजारौँ विस्थापितलाई घर फर्कन अनुमति दिइएको छ । उक्त डढेलोका कारण ३० हजारभन्दा बढी बासिन्दा तथा पर्यटक विस्थापित भएका थिए ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार साँझ आगो नियन्त्रणमा आएको बताउनुभएको थियो । क्षेत्रीय अधिकारीले पनि आगोको फैलावट रोकिएको र नयाँ आगलागी नभएको जनाएका छन् ।

सोमबार राति साङ्गुइनेट, पेरेन्टिस–एन–बोर्न र बिस्कारोसका केही भागका करिब १५ हजार मानिसलाई घर फर्कन अनुमति दिइएको थियो । यद्यपि, केही क्षेत्र अझै पहुँचबाहिर रहेका छन् ।

अधिकारीले ल्यान्डेसको डढेलो पूर्ण रूपमा निभिनसकेको भन्दै बाँकी तातो स्थान, हावा र सुख्खापनका कारण आगो पुनः फैलिन सक्ने चेतावनी दिएका छन् । त्यस क्षेत्रमा निगरानी तथा आगो निभाउने काम केही दिन वा हप्तासम्म जारी रहन सक्ने जनाइएको छ ।

स्पेनमा थप चुनौतीको सामना

स्पेनमा पनि सयौँ अग्निनियन्त्रकले सैन्य आपतकालीन टोली तथा पानी खसाल्ने विमानको सहयोगमा विभिन्न क्षेत्रमा फैलिएका ठूला डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले रातभरको निरन्तर प्रयासले अवस्था केही सुधारिएको बताउनुभयो । तर, तापक्रम पुनः बढ्ने भएकाले आगामी दिनमा अवस्था बिग्रन सक्ने चेतावनी दिनुभयो ।

स्पेनको राष्ट्रिय मौसम सेवाका अनुसार देशले यस वर्षको चौथो गर्मीको लहरको सामना गर्दैछ । केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ ।

अधिकारीका अनुसार स्पेनमा करिब ७९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने थप ३० हजारलाई घरभित्रै बस्न आग्रह गरिएको छ । सरकारले डढेलोको प्रकोपका कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ ।

म्याड्रिडको पश्चिममा फैलिएका दुई ठूला डढेलो एकआपसमा मिसिन सक्ने सम्भावनाले अधिकारी चिन्तित छन् । पूर्वीप्रान्त कास्टेलोनमा लागेको अर्को डढेलोका कारण पनि ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

म्याड्रिडको पश्चिममा रहेको अभिला प्रान्तका पहाडी तथा ग्रामीण क्षेत्रमा फैलिएको डढेलो स्पेनको इतिहासमै सबैभन्दा ठूलो बनेको सरकारले जनाएको छ । उक्त डढेलोले ५०० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र प्रभावित गरेको छ । (रासस/एपी)




भर्खरै