काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सलले जित निकालेको छ । भखैरै सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो ।
लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा गोल निस्कन अन्तिमसम्म कुर्नुपर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दुई गोल पनि अन्तिमतिर भयो ।
बैकल्पिक खेलाडी मिकेल मेरिनोले आर्सनलको उद्दार गरे । टोलिका लागि उनले दुबै गोल गरेका हुन् । मेरिनोले खेलको ८१ औं मिनेटमा लिभवाइर न्वनेरीको क्रसमा हेडरमार्फत सुन्दर गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए ।
यस्तै, ८७ औं मिनेटमा व्यक्तिगत तथा टोलिका लागि उनले दोस्रो गोल गरे । लियान्ड्रो ट्रोसार्डको क्रसमा उनले देब्रे खुट्टाले ट्यापिङ गर्दै वान टचमा गोल गरे । लेस्टरका गोलकिपर म्याड्स हर्मान्सेनले उनको बललाई रोक्ने कुनै मौका पाएनन् ।
जितसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ । लिभरपुल २४ खेलबाट ५७ अंकका साथ शीर्षस्थानमा रहँदा एक खेल बढी खेलेको आर्सनल ५३ अंकका साथ दोस्रो स्थानमा छ । पराजित लेस्टर १७ अंकका साथ १८ औं स्थानमा छ ।










