२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता संकलन बढ्दो

मकवानपुरमा नन फायलर करदाता घट्दो, बक्यौता संकलन बढ्दो
अ अ+ अ-

 हेटौँडा। वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता संकलन बढ्दै गएको छ ।

घरदैलो कार्यक्रम, एसएमएस, पत्राचार तथा संघ संस्थासँग नियमित अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी नन फायलर करदाता र बाँकी बक्यौता क्रमशः घट्दै गएको हो । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ६५ प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण र बक्यौता नबुझाएपछि कार्यालयले त्यस्ता करदाताहरूको अभिलेख तयार पारेर अघि बढेको छ ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो उपभोक्ता समितिहरू, धार्मिक समिति, क्लबहरू छन् । “आर्थिक वर्ष २०७९/८० र सो भन्दा अघिल्लो आवको आय विवरण नबुझाउने करदाता बढी छन्”, प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले भने, “त्यसैले आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर अभियान सुरु गरेका छौँ ।” पहिलो चरणमा घरदैलो कार्यक्रम, एसएमएस, पत्राचार तथा उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी संघलगायतका संघ संस्थासँग नियमित करदाता शिक्षा तथा अन्तरक्रियालाई अघि बढाइएको उनको भनाइ छ ।

प्रमुख कर अधिकृत सुवेदीका अनुसार चालु आव २०८१/८२ को असारसम्ममा ‘नन फायलर’को सङ्ख्या ३२ प्रतिशतमा झार्ने लक्ष्यका साथ सुरु गरिएको अभियानका कारण माघ महिनासम्ममा नन फायलनर करदाताको सङ्ख्या ५९ प्रतिशतमा झरेको छ । यस्तै केही महिनाअघिसम्म रू ६५ करोड बक्यौता संकलन गर्न बाँकी रहेकोमा अभियान सञ्चालन भएपछि बक्यौता पनि रू ४५ करोडमा झरेको प्रमुख कर अधिकृत सुवेदीले बताए ।

अभियानका क्रममा सो कार्यालयले अन्तःशुल्क ऐनअन्तर्गत इजाजत लिएका करदाताले साउन महिनाभित्र नवीकरण नगरेका दुई सय ३९ करदातालाई एसएमएस पठाएको छ । यस्तै आयकर विवरण पेस नगरी नन फायलर रहेका १० हजार दुई सय तीन करदाताको मोबाइलमा एसएमएस पठाइएको प्रमुख सुवेदीले बताए ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार विवरण पेस गरी एक लाखभन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदातालाई बक्यौता दाखिला गर्न एसएमएस पठाइएको उनको कथन छ । यसबाहेक मूल्य अभिवृद्धि करतर्फ नन फायलर रहेका करदातालाई मूल्य अभिवृद्धि कर विवरण पेस गर्न प्रत्येक महिनाको २६ गते फोन तथा पत्र पठाउने गरिएको उनले बताए।

यसका साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउन र बक्यौता असुलीका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताए । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उनको कथन छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिने तयारी गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताए । “पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाउँछौँ”, प्रमुख कर अधिकृत सुवेदीले भने, “फागुन महिनासम्म छुट सुविधा पनि दिइएको छ, त्यो बेलासम्म धेरै कर बुझाउँछ भन्ने हाम्रो विश्वास छ ।” फागुन महिनासम्म पनि बक्यौता नबुझाउने करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।”

लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आव २०८१/८२ को सात महिनाको अवधिमा रू तीन अर्ब ७० करोड ९१ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८१ दशमलव ४४ प्रतिशत संकलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को सात महिनाको अवधिमा रू चार अर्ब ५५ करोड ४२ लाख नौ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रू तीन अर्ब ७० करोड ९१ लाख ४२ हजार राजस्व संकलन गर्न सफल भएको छ ।

यही साउनदेखि माघ महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ रू दुई अर्ब १२ करोड १६ लाख २९ हजार, आयकरतर्फ रू ६५ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करतर्फ रू ५० करोड ४७ लाख ९३ हजार, स्वास्थ्य जोखिम करतर्फ रू ३५ करोड ६७ लाख ३१ हजार, ब्याजकरतर्फ रू पाँच करोड ९१ लाख तीन हजार र बहालकरतर्फ रू एक करोड १० लाख छ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा रू आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ९८, ‘विथहोल्ड’तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ । रासस