५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभात एकेडेमीका लेखापाल श्रेष्ठले विद्यार्थीको गालामा तातो पन्युले डामिन्



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षिकाले विद्यार्थीलाई तातो पन्यूले डामेकी छन् ।

विद्यालयमा कार्यरत एकेडेमीका सञ्चालककै छोरी लेखापाल सुष्मा श्रेष्ठले बच्चाहरुले हल्ला गरेको र त्यही बीचमा एकजना विद्यार्थीले ‘काली’ भनेको निहुँमा पन्यू तताएर डामेकी हुन् ।

पन्यूको डामबाट एक बालकको गालामा कालो दाग बसेको छ भने तीन बालकको गालामा सामान्य दाग रहेको छ ।

श्रेष्ठले आफ्नो गल्ती स्वीकारेकी छन् । शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

कक्षा ४ मा पढ्ने १० वर्षका प्रमिस परियार लगायत ४ जनालाई श्रेष्ठले पनियो तताएर डामेको घाइते बालककी आमा विष्णु परियार बताउँछिन् ।

अहिले विद्यार्थीलाई नदुख्ने औषधी खुवाइएको छ भने मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घटना भएको स्वीकार गर्दै अप्रत्यासित रुपमा घटना घटेको र गर्न नहुने काम छोरीबाट भएको भन्दै क्षमायाचना गरे । घाइते बालकहरुको उपचारको लागि पहलकदमी भइरहेको उनी बताउँछन् ।