काठमाडौँ । प्रहरीले खसीको भनेर बाख्राको मासु बेच्ने पुरूषलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज–१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन् । उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो ।
त्यहाँ बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको हो ।
प्रहरीले १५ किलोको बाख्राको मासु पनि बरामद गरेको छ । प्रहरीले उनीमाथि कालोबजारी सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिन म्याद थपेर अनुसन्धान अघि बढाएको जनाएको छ ।










