९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित



अ+ अ-

एजेन्सी । विश्व च्याम्पियन अस्ट्रेलियाले २०२३ को एकदिवसीय विश्वकपपछि पहिलो हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाको टोली इङ्ल्यान्डसँग डिएलएस (डकवर्थ लुइस स्ट्याण्डर्ड) विधिबाट ४६ रनले पराजित भएको हो ।

यो जितसँगै ५ खेलको शृङ्खलामा २–० ले पछि परेको इंग्ल्याण्डले १–२ को पुनरागमन गरेको छ । सिरिजको चौथो खेल सेप्टेम्बर २७ मा लर्ड्समा हुनेछ ।

चेस्टर–ले–स्ट्रिटमा मंगलबार राति भएको वर्षाले प्रभावित खेलमा आयोजक टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । जवाफी इनिङ्समा इङ्लिस टोलीले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएपछि वर्षाले खेल रोकिन पुगेको थियो ।

अन्त्यमा डीएलएस विधि अन्तर्गत इंग्ल्याण्ड ४६ रनले विजयी घोषित भयो । इंग्ल्याण्डका ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच घोषित भए । ब्रुकले ९४ बलमा अविजित ११० रन बनाए ।

टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाको सुरुवात खासै राम्रो रहेन । टोलीले ५० रनमै ओपनरको विकेट गुमाएको थियो । कप्तान मिचेल मार्स ३८ बलमा २४ रन बनाएर आउट भए भने म्याथ्यु सर्ट १४ रन बनाएर आउट भए । जोफ्रा आर्चरले सर्टलाई आउट गर्दै कंगारु टोलीलाई पहिलो झट्का दिए । त्यसपछि ब्रायडन कार्सले क्याप्टेन मार्सलाई प्याभिलियन पठाए ।

प्रारम्भिक विकेट खसेपछि स्टिभ स्मिथ र क्यामरुन ग्रीनले इनिङ्सलाई सम्हालेका थिए । दुवैले ९६ बलमा ८४ रनको साझेदारी गरे । यी दुवै ब्याट्सम्यानले रक्षात्मक दृष्टिकोण अपनाए । स्मिथले टेस्ट जस्तो इनिङ खेले । उनले ८२ बलमा ६० रन बनाए । क्यामरुन ग्रीनले ४९ बलमा ४२ रनको योगदान दिए ।

शीर्ष ५ ब्याट्सम्यान २०० रन भित्रै आउट भएपछि टोलीका तल्लो ब्याट्सम्यानले ३०० भन्दा माथिको स्कोर पुर्याएका थिए । विकेटकिपर एलेक्स क्यारीले ६५ बलमा ७७ रनको अविजित इनिङ खेले । उनले आफ्नो एकदिवसीय करियरको १० औं अर्धशतक बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले ३० रन र आरोन हार्डलीले ४४ रनको योगदान दिए ।

इंग्ल्याण्डका जोफ्रा आर्चरले २ विकेट लिए । ब्रायडन कार्से, ज्याकब बेथन, विल ज्याक र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।

३०५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात खराब रह्यो । टोलीले ११ रनमा ओपनरको विकेट गुमाएको थियो । मिचेल स्टार्कले फिल साल्टलाई शून्य र बेन डकेटलाई ८ रनको व्यक्तिगत स्कोरमा प्याभिलियन पठाए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका विल ज्याक र विकेटकिपर ह्यारी ब्रुकले तेस्रो विकेटका लागि १४८ बलमा १५६ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । विल ज्याक ८४ रन बनाएर आउट भए भने ब्रुकले ११० रनको अविजित इनिङ खेले । लियाम लिभिङस्टोनले ३३ रनको योगदान दिए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र क्यामरुन ग्रीनले २–२ विकेट लिए । स्टार्कले दुवै ओपनरलाई प्याभिलियन पठाएपछि ग्रीनले विल ज्याकलाई आउट गरेर ब्रुकसँगको साझेदारी तोडेका थिए । उनले जेमी स्मिथलाई पनि आउट गरेका थिए ।