११ आश्विन २०८१, शुक्रबार
,
Latest
शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेसहाराको आश्रयस्थल बन्दै बालगृह



अ+ अ-

धरान ।  बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो ।

सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई वर्षको नहुँदै आमाले अर्को विवाह गरेपछि उहाँ आफन्तको सहारामा बस्दै आएका उनी २०७८ सालमा उहाँको आफन्तको सहयोगमा धरान आइपुगेका थिए । यहाँ आएपछि तामाङले बालगृहमा आश्रम मात्रै पाएका छैनन् उनको पढ्ने रहर पनि पूरा भएको छ ।

पाँच कक्षामा अध्ययनरत उनी पढाइमा अब्बल मानिन्छन् । “यहाँ मलाई सबैले माया गर्नुहुन्छ । पढाइमा पनि सहयोग गर्नुभएको छ”, उनले भने, “हामी सबै जना मिलेर बसेका छौँ ।” तामाङका लागि मात्रै होइन, यतिबेला यो बालगृह उहाँ जस्तै नौ जनाका लागि आश्रयस्थल बनेको छ ।

कुशल गुरुङ घलेले विसं २०७४ मा दर्ता गरी व्यक्तिगत रु एक करोड २० लाख लगानीमा तीन कठ्ठा जग्गामा बालगृहमा सुरु गर्नुभएको थियो । हाल यस बालगृहमा सरकारी, निजीलगायतका क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । सबैको साथ र सहयोगका कारण बालगृह सञ्चालनलाई अझ प्रभावकारीरुपमा सञ्चालनमा हौसला मिलेको घलेले सुनाउनुभयो ।

“बालगृहमा आश्रय खोज्दै आउने बालक बढ्दैछन्, हामीले एक पटकमा २० जनालाई राख्नसक्ने गरी क्षमताको बालगृह बनाएका छौँ”, उहाँले भन्नुभयो, “मुख्य उद्देश्य उनीहरुको पालपोषण र शिक्षादिक्षा राम्रो होस् भन्ने हो ।”

सात वर्षको उमेरमा धादिङबाट बालगृह आइपुगेका ११ वर्षे सउल तामाङ पनि आफूलाई यहाँ बस्न र पढाइमा कुनै समस्या नभएको सुनाउनुभयो । यहाँको वातावरण राम्रो हुनुका साथै घले अङ्कलको मायाले आफूहरु खुसी भएको उहाँले सुनाउनुभयो ।

“उहाँहरुले हामीलाई निकै मायाका साथ राख्नुभएको छ, कुनै कमी हुन दिनुभएको छैन”, उनले भने, “पढ्न, खान र बस्नका लागि कुनै समस्या छैन ।” उहाँ अहिले कक्षा ६ मा पढ्नुहुन्छ । पाँच कक्षाको नतिजामा उहाँ कक्षामा तेस्रो हुनुभएको थियो ।

बालगृहमा आश्रय लिएकामध्ये बाँकेका १६ वर्षे सन्देश सुनार उमेरका हिसाबले सबैभन्दा जेठो हुनुहुन्छ । उहाँ अहिले कक्षा ११ मा पढ्नुहुन्छ । “घरमा हुँदा खान पनि समस्या थियो, पढाइ पनि प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “यहाँ बस्न थालेपछि धेरै सहज भएको छ । खान र बस्नको चिन्ता छैन । पढाइ पनि सुध्रिएको छ ।”

भारतका कश्मिरमा जन्मिनुभएका घले बालगृह सञ्चालनमा आफ्नै विगत पनि जोडिएको बताउनुहुन्छ । दुई वर्षको छँदा आमा गुमाउनुभएका घलेले बुबाको माया पनि पाउनुभएन । दुर्घटनामा आमालाई गुमाएपछि बेसहारा बन्नुभएका उहाँको त्यसपछिको बाल्यकाल दिदीको सहयोगमा चितवन बितेको थियो ।

“मलाई पनि सानैमा आमा गुमाएको पीडा छ, त्यो बेला दिदी अभिभावक बन्नुभयो, अहिले म यी अबोध बालकहरुको अभिभावक बन्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कुनै पनि बालक बेसहारा बन्नु नपरोस् भन्ने मेरो चाहना छ ।”

उहाँका अनुसार अहिले बालगृहमा धादिङ, जाजरकोट र बाँकेलगायतका जिल्लाबाट आएका बालकले आश्रय लिइरहेका छन् । बालगृहमा बालकहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको छ । विद्यालयमा पनि उनीहरुले अब्बल बन्दै गएको देखिएको उहाँको भनाइ छ । बालगृहमा कक्षा १ देखि कक्षा ११ सम्मका विद्यार्थीहरु रहेको उहाँले बताउनुभयो ।

“बालबालिकालाई राम्रो खान र बस्न मात्रै दिएर पुग्दैन, उनीहरुलाई माया र स्याहारको ठूलो खाँचो हुन्छ, त्यसतर्फ हामी सचेत छौँ, उनीहरुलाई मायाको कमी नहोस् अभिभावकविहीन हुनुपर्दाको दु:ख नहोस् भन्नेमा ख्याल राखेका छौँ”, घलेले भन्नुभयो । उहाँ भविष्यका कर्णाधार भनिने बालबालिकालाई आवश्यक सहयोग गरिरहेको र उनीहरुको आवश्यकताअनुसार सबै सुविधा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, ललितपुर पुलचोकस्थित राष्ट्रिय बाल अधिकार परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेशमा सूचीकृत भई बालगृह सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बालगृहमा जनप्रतिनिधि, समाजसेवीलगायतले समय समयमा सहयोग गर्दै आउनुभएको उहाँको भनाइ छ ।

बालगृह निर्माणका क्रममा धरान उपमहानगरपालिकाका वडा नं ४ को कार्यालयले प्रवेशद्वारा निर्माण गरिदिएको थियो भने धरानका जनप्रतिधिहरुले श्रमदान गर्नुभएको थियो । साथै धरानस्थित सियोन स्कुलले रु ७० हजार सहयोग गरेको थियो । साथै धरान उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख हर्कराज साम्पाङ राईले तीन सय ३७ ट्याक्टर ढुङ्गा उपलब्ध गराउनुभएको थियो । घले सन् २०१८ मा नेपाल सरकार र ‘द लाइट हाउस फाउण्डेसन’ नेपाललगायत दर्जनौँ सङ्घसंस्थाबाट पुरस्कृत भइसक्नुभएको छ ।  रासस




भर्खरै