• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

आयोगले आफ्नो काम रोक्न सक्दैन, प्रकृया नै रोक भन्नु गलत हो : पूर्व प्रमुख आयुक्त श्रेष्ठ (भिडियो सहित)



काठमाडौंः  पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठले निर्वाचन आयोगले निर्वाचन तयारीका काम रोक्न दबाब दिनु गलत भएको टिप्पणी गर्नु भएको छ ।

पूर्व प्रमुख आयुक्त श्रेष्ठले भन्नुभयो, आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने ? आयोगको धेरै काम प्रकृयागत हुन्छन् । प्रकृया नै रोक भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । उहाँले सडकमा के हुन्छ भनेर आयोगले नहेर्ने स्पष्ट पार्दै आयोगले ऐन नियम कानून हेर्छ । 

उहाँले सडकमा उत्रिएका राजनैतिक दललाइ संयमित हुन आग्रह गर्दै  कानून भित्र रहेर काम कारबाही गर्न सुझाव दिनुभयो ।  भोलि आफैं सरकार चलाउने ठाउँमा पुग्दा यस्तो समस्या आउँछ भनेर दलहरुले विचार गर्नुपर्ने उहाँको सुझाव छ । 

राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने अवस्था रहेपनि  त्यस्तो नभएकाे मूल्याङ्कन श्रेष्ठको रहेको छ । श्रेष्ठले  राजनैतिक दलको संचालन विधि नै खराब भएको टिप्पणी गर्दै संसद विघटन गर्ने परम्परा नै जस्तो भएको बताउनुभयो । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिँदैन भन्दै श्रेष्ठले दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक नभएको टिप्पणी गर्नुभयो । 

राजनैतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, यसले लोकतन्त्रको विकासमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकास हुन सकेन ।