२८ श्रावण २०८३, बिहीबार
,
Latest
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो



अ+ अ-

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।

कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिनुभयो । “चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।”

बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् ।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए । शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

“तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ”, उहाँले भन्नुभयो, “तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षति पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताउनुभयो ।

वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका–७ ताकमका शिक्षक जीवन पौडेलले बताउनुभयो ।




भर्खरै